मनसुनमा छालाको हेरचाह

शनिबार, १३ असार, २०८३
डिजिटल संस्करण

बर्खाको समयमा छालामा विभिन्न खाले समस्या देखापर्छन् । टिनिया कर्पोरिस (दाद)जस्ता फंगल संक्रमण मनसुनमा धेरै देखिन्छन् । शरीरका चाउरी पर्ने भाग, काखी, भित्री भागहरूमा फंगल आउने समस्या देखिन्छ । गर्मी र मनसुनमा पसिना, चिल्लोपन र ओसिलो हुने भएकाले छालाका रोग र कस्मेटिक समस्या दुवै बढ्छन् । छालामा फंगल इन्फेक्सन (ढुसीजन्य संक्रमण) सबैभन्दा धेरै देखिन्छ । मनसुनको समय छिनमै पानी पर्ने र घाम लाग्ने हुन्छ । यस्तो वेला छाला चिलाउने, एलर्जी आउने, खटिरा देखिने हुन सक्छ । धेरै गर्मी हुने र पानीले भिज्ने भएकाले पनि शरीर गुम्सिने सम्भावना हुन्छ ।

गर्मीमा रातो डाबर आउने, चिलाउने, पोल्ने, फोका उठ्ने वा सानो बिमिरा आउने समस्या देखिन सक्छ । घामको एलर्जीबाट पनि सावधान रहनुपर्छ । किराको टोकाइबाट हुने एलर्जी पनि मनसुनमा बढ्छ । किराको टोकाइपछि अर्टिकेरिया हुन सक्छ । छाला आफैँमा संवेदशील भएकाले एउटा ठाउँमा टोके पनि शरीरका अन्य भागमा समेत रातो डाबर, बिमिरा र अत्यधिक चिलाउने समस्या देखिन सक्छ । गर्मीमा छालामा चिल्लो बढी उत्पादन हुन्छ । यही चिल्लो पदार्थमा ब्याक्टेरिया सजिलै बढ्छन्, जसले डन्डिफोर निम्त्याउँछ । 

गर्मीमा अनुहारको तेलग्रन्थी बढी सक्रिय हुन्छन् । त्यसले ब्याक्टेरिया बढ्छन् र डन्डिफोर आउन सक्छ । साथै, अनुहारमा पोतोहरू पनि देखिने हुन्छ । मनसुनमा अत्यधिक पसिना आउने भएकाले साना बालबालिकामा घमौरा आउने गर्छ । 

दिनमा दुईपटक नुहाउनुपर्छ । राम्रो साबुन वा सावर जेलले छालालाई सफा राख्छ । फंगल संक्रमण दोहोरिने व्यक्तिले चिकित्सकको सल्लाहमा एन्टिफंगल सावर जेल प्रयोग गर्न सक्छन् । डोप साबुन पनि प्रयोग गर्नुपर्छ । खुला कपडा लगाउनुपर्छ । टाइट कपडा लगाउँदा ओसिलोपन बढ्छ । त्यसैले पसिना सोस्ने, हावा खेल्ने सुतीका खुकुला कपडा लगाउनु राम्रो हुन्छ ।

भिजेको कपडा तुरुन्तै फेर्नुपर्छ । वर्षामा भिजेको कपडा आफैँ सुक्यो भन्दै लामो समय लगाउनु राम्रो होइन । घर पुगेपछि नुहाएर सफा र सुक्खा कपडा लगाउनुपर्छ । जसले गर्दा छालाको समस्याबाट केही हदसम्म रोक्न मद्दत गर्छ । प्रयोग गरेको टाबेल घाममा मज्जाले सुकाउने बानी गर्नुपर्छ । कतिपयको ट्वाइलेटमा सुकाउने बानी हुन्छ । फंगस मार्न घाममै सुकाउनुपर्छ ।

तौलिया, साबुन, भित्री लुगा र अन्य व्यक्तिगत सामग्री साटासाट गर्नुहुँदैन । कपडा र तौलिया घाममा राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नुपर्छ । यसो गर्दा पनि धेरै हदसम्म जोखिमबाट बच्न सकिन्छ । सरसफाइमा विशेष ध्यान दिन जरुरी हुन्छ । टाबेल, बेडसिट तथा कपडा सफा तथा सुक्खा हुनुपर्छ  । 

फंगल संक्रमण हुँदा आफैँ फार्मेसीबाट क्रिम किनेर लगाउनु हुँदैन । यसले सुरुमा निको भएजस्तो देखिए पनि पछि झन् गम्भीर बनाउन सक्छ । समस्या देखिएपछि छालारोग विशेषज्ञसँग परामर्श लिनु उत्तम हुन्छ । प्रशस्त पानी, झोलिलो खानेकुरा, सुप र फलफूलको रस सेवन गर्नुपर्छ । शरीरमा पानीको कमी हुन दिनुहुँदैन । प्रशस्तै पानी पिउनुपर्छ । पानीले छालालाई नरम बनाउन र संक्रमणबाट बचाउन महत्वपूर्ण भूमिका खेल्छ । 

स्किनको नियमित हेरचाह गर्न स्किन केयर रुटिन बनाएर त्यसलाई फलो गर्न आवश्यक हुन्छ  । अनुहारमा दैनिक दुईपटक फेसवास गर्न जरुरी हुन्छ  । फेसवास गरेपछि मोस्चराइजर लगाउनुपर्छ । धेरै आयलबेस मोस्चराइजर लगाउनुहुँदैन । वाटरबेस वा लोसन फर्मका मोस्चराइजर प्रयोग गर्दा राम्रो हुन्छ ।

बाहिर निस्कनुअघि आफ्नो छालाअनुसार जेल–आधारित मोस्चराइजर र सनस्क्रिन प्रयोग गर्नुहोस् । चिल्लो छालाका लागि जेलआधारित मोस्चराइजर बढी उपयुक्त हुन्छ । छालाको प्रकारअनुसार सनस्क्रिन प्रयोग गरेर घामबाट सुरक्षा लिन आवश्यक हुन्छ ।

सुझावित समाचार