शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ

शनिबार, १ कार्तिक, २०८३
प्रिन्ट संस्करण

विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्रति लक्षित यस उद्गार पढेर, सुनेर धेरै मान्छे शाकाहारी बनेका छन् ।

लियो टल्सटाय, बर्नाड सा, आइन्सटाइन, गान्धी, रवीन्द्रनाथ टैगोरजस्ता शाकाहारीहरूको दाबी छ– जबसम्म हिंसाद्वारा भोजन जुटाइन्छ तबसम्म संसारमा कुनै न कुनै प्रकारले युद्ध चलि नै रहनेछ । कारण जे भए पनि भरसक शाकाहारी बन्ने नभए पनि खपतदर कम गरी योगदान पुर्याउने संख्यामा केही दशकदेखि बढोत्तरी भइरहेको छ ।

सन् १९९० को दशकमा ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तन वैज्ञानिक एवं अनुसन्धानकर्ताको अध्ययनको विषय मात्र थियो, तर अहिले पृथ्वी, मानव समुदाय र समस्त वनस्पती, प्राणीजगत्को अस्तित्वमाथि गम्भीर संकटको रूपमा तेर्सिसकेको छ । जैविक तेल, पेट्रोलियम पदार्थबाट ७५ प्रतिशत कार्बन उत्सर्जन हुने हुँदा प्रयोग गर्ने वाहनहरू नै प्रमुख कारकका रूपमा सम्झिने गरिन्छ ।

सन् २१०० सम्ममा समुद्रको सतहमा १८ देखि ५९ सेमीले पानी बढ्ने अनुमान छ । जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न युवापुस्ताहरू लागेको पनि देखिन्छ, तर बढ्दो आधुनिकता र विलासी जीवनले गर्दा विकृति, विसंगति र प्रदुषण बढाएको देखिन्छ । जरुरतविना नै महँगा र चिल्ला मोटरसाइकल गुडाउने, बडी स्प्रेको प्रयोग, विरोध जनाउन टायर बाल्नेजस्ता कार्यले वायुमण्डलमा कार्बन थप्ने कार्य गरिरहेको छ । 

जनस्वास्थ्य
वर्षातको समय छोटिँदै जानु, हिउँदका महिनामा गर्मी बढ्नु, कृषि उत्पादन घट्नु, फल लाग्ने र बाली पाक्ने समय अनियमित हुनु, काठमाडौंमा स्याऊ फल्न छोड्नु, तराईतिर पाइने जीवजन्तु र कीटपतंग पहाड हिमालतिर पाइनथाल्नु, फागुनमै काफल पाक्नुजस्ता लक्षण नेपालमा जलवायु परिवर्तनका असरहरूका रूपमा देखापरेको मानिन्छ । जलवायु परिवर्तन कै कारण भएको तापक्रम वृध्दिले साङला यतात्यता प्रशस्तै पाइनथालेका छन् । साङलाले खासै हानी नगरे पनि रोग सार्ने माध्यम बन्न सक्छ, एन्थ्य्राक्स ब्याक्टेरिया फैलाउन सक्दछ । 

जनस्वास्थ्यमा असर पारी गर्मीमा हुने मृत्यृदरमा वृध्दि, उच्च ठाउँमा पनि लामखुट्टे तथा त्यसका कारण औलोको प्रभाव, पानीबाट उत्पन्न हुने र सरुवा रोग बढ्ने, शीत प्रदेशमा ठन्डीबाट हुने मृत्यृदरमा कमी, पानीको मात्रामा कमी भई अकासेपानीमा भर पर्ने वेला आएको छ । खाद्यवाली, बनस्पती, बोटबिरुवा र जडिबुटी उन्मुलन हुदै जानेछन् । कतिपय पशुंपंक्षीहरू लोप हुनेछन् । खाद्यसंकट र पानीको अभावले हाहाकार मच्चीने छ । तापक्रम बढ्नाले औलो, डेगुं, पखालाले ग्रस्त बनाउनेछन् । पानीको स्रोतमा धेरै कमी हुनेछ । धेरै मानिस भोकमरीमा पर्नेछन् । 

उन्मुक्तिका उपाय
समस्याबाट उन्मुक्ती पाउन स्वच्छ उर्जा, विजुली, गोबरग्यास, सौर्य प्रविधीको प्रयोग, बन संरक्षण र विस्तार, वस्तुको पुनः प्रयोग तथा कार्बन शून्य घर, कार्यालय, व्यवसायमा बढोत्तरी गर्नुपरेको छ । त्यसको न्यूनीकरणका लागि ग्रिनहाउसको वृद्धि गर्ने, वनजंगल बढाउने, कार्बन डाइअक्साइडको मात्रा कम गर्ने सवारीसाधनको प्रयोग गर्नुपर्दछ । घरवारी तथा करेसाको फोहोर नजलाउने, फोहोर छुट्याएर राख्ने बानीको विकास, बजार जाँदा कपडाको झोला लिएर जाने, प्लास्टिकको सामानको प्रयोग नगर्ने गर्दा पनि कार्बन उत्सर्जनमा कमी आउँछ ।

खेतबारीमा रासायनिक मल तथा किटनाशक औÈधिको प्रयोग नगर्ने, गाईभैँसीको गोबर तथा जैविक वस्तुबाट गोबरग्यास बनाई त्यसबाट निस्कने जैविक मलको प्रयोग गर्नुपर्दछ । एउटा गोबरग्यास प्लान्टले करिब दुई टन कार्बनडाइअक्साइड प्रतिवर्र्ष हावामा मिसिनबाट जोगाउँछ ।

बनौँ शाकाहारी
भोजन आवश्यकताभन्दा पनि बानी हो बदल्न समय लाग्छ, अप्ठ्यारो हुन्छ, तर असम्भव छैन । मांसाहारी भोजनले प्राकृतिक स्रोतको व्यापक दुरुपयोग गरेको, पर्यावरणको क्षति र ग्रिनहाउस असरलाई पनि तीव्र पारेको छ । जलवायु परिवर्तनका थुप्रै कारक तथा न्यूनीकरणका उपाय भए पनि माछामासुको चर्चामा व्यक्तिगत रूपमा हामी सबैले आफ्नो खाद्य रोजाइमा परिवर्तन गरी जलवायु परिवर्तन तथा बढ्दो तापक्रममा नियन्त्रणमा सहयोग गर्न सकिने र स्वस्थ रहने तथ्य यहाँ उजागर गर्न चाहन्छु ।

अमेरिकाले उत्पादन गर्ने मकैको ९१ प्रतिशत, सोयाको ७७ प्रतिशत र जौको ६४ प्रतिशत मासु खाने उद्देश्यले मात्रै पालिएका जनावरलाई खुवाइन्छ । यो खाद्यान्न सोझै मनुष्यलाई दिए संसारको भोकमरी तुरुन्तै समाप्त हुन सक्छ होला । एफएओको अध्ययनमा १४ देखि २१ प्रतिशत ग्रिनहाउस असरका ग्यास मासु उत्पादन प्रक्रियाबाट पैदा हुन्छन् । आलु १ पाउन्ड उत्पादन गर्न २ सय ८ लिटर पानी आवश्यक हुन्छ भने १ पाउन्ड बिफ वा गाइको मासुका लागि ४० हजार लिटर पानी खर्चिनुपर्छ । अमेरिकीहरूले आफ्नो भोजनबाट मांसाहार १० प्रतिशतले मात्र घटाए भने १० करोड भोका व्यक्तिलाई पर्याप्त शाकाहारी भोजन दिन सकिन्छ । मांसाहारबाट भइरहेका अन्य पर्यावरणीय क्षतिका आँकडा झनै डरलाग्दा छन् ।
 
शाकाहारी भोजनमा रहने भोजन तत्वहरू, फाइबर, सेलुलोजको प्रचुरताका कारण भोजन नलीभित्र व्यवस्थित रूपमा हलचल हुँदा भोजन नलीले ठिक प्रकारले काम गर्छ र क्यान्सरको सम्भावना कम हुन्छ । त्यसैगरी कब्जियत, कोलाइटिस, हर्नियाजस्ता रोग लाग्न पाउँदैन । हृदयसम्बन्धी रोगसमेत रोकथाम हुन जान्छ किनभने मासुमा हुने चिल्लो पदार्थ खाँदा रक्तप्रवाह बन्द भएर हृदयघात वा हृदयसम्बन्धी रोग लाग्ने गर्दछ । मुटुजन्य रोग र क्यान्सरबाट जोगिन तथा सम्भावना घटाउन कदम चालियो भने रातो मासुको उपभोग घट्छ। जसले जलवायु परिवर्तनको खतरा घटाउँछ । किनभने पृथ्वीमा कुल हरितगृह ग्यास उत्सर्जनमा गाईबस्तुको भूमिका १८ प्रतिशत छ । त्यसैले कम खानु, समयअनुसार खानु र बारम्बार नखानु राम्रो हुन्छ । शाकाहारी भोजनले दीर्घायु दिन्छ र पर्यावरण पनि राम्रो हुन्छ ।
 
मानिसमा लाग्ने रोग र संसारभर बढ्दो तापक्रमबिच कैयौँ कोणबाट सम्बन्ध छ । मुटुजन्य रोग, क्यान्सर, सरुवा रोगहरू इन्फ्लुएन्जा, साल्मोनेलाको संक्रमणजस्ता थुप्रै रोगहरू जलवायुपरिवर्तनबाट प्रत्यक्ष प्रभावित छन् भने अप्रत्यक्ष रूपमा दुर्घटना, तनाव, आत्महत्या, भोकमरी, कुपोषणा आदि पर्दछन् । यसै अन्तरसम्बन्धलाई गहिराइसम्म बुझेर विश्व स्वास्थ्य संगठनलगायत विभिन्न देशले आफ्नो नीति र संरचनामा परिवर्तन ल्याएका छन् ।

विश्व क्यान्सर अनुसन्धान कोषको सुझावमा पनि हप्तामा बढीमा आधा किलो रातो मासु खाई खपतदर घटाएर क्यान्सरलगायतका रोगबाट बच्न सकिन्छ तथा बढ्दो तापक्रम नियन्त्रणमा योगदान पुर्याउन सकिन्छ । मासु खाँदा मात्र नभई गाईबस्तु जन्मेदेखि मरेपछिसम्म तिनीहरूको आहारा, पालनपोषण, मलमूत्र, मासु तथा अन्य अवशेषको विसर्जनबाट धेरै मात्रामा हरितगृह ग्यास निस्कन्छ ।

जिउँदा गाईबस्तुको ढुवानी र मासुको वितरण प्रणालीबाट समेत वायुमण्डलमा कार्बनडाइअक्साइड ग्यास वृद्धि हुन्छ । खाद्य तथा कृषि उद्योगको हरित ग्यास उत्सर्जनमा एकतिहाइ योगदान छ । आधुनिकताले बढी उत्पादन, सुविधा र मुनाफामुखी बनाए पनि भावी पुस्ताको भविष्य खतरामा परेको छ । उपभोग प्रणालीले उत्पादन प्रणालीमा ठुलो असर परेको छ ।

व्यावसायिक रेस्टुराँहरूले मात्र हरेक वर्ष कम्तीमा ५४ अर्ब पाउन्ड खाद्यवस्तु मिल्काउँछन् जसमा घरबाट फ्याँकिने खाद्यपदार्थको हरहिसाबै छैन । संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख भएअनुसार विश्वमा उत्पादित आधा खाद्यवस्तु खेर जान्छ जसलाई सजिलैसँग रोक्न सकिन्छ । यसोगर्दा एकातिर जलवायु परिवर्तन भई हुने तापक्रम वृद्धिलाई नियन्त्रण गर्न सकिन्छ भने अर्कोतिर भोकमरी तथा कुपोषित क्षेत्रमा पठाएर थुप्रैको ज्यान बचाउन सकिन्छ भन्दै शाकाहारी भोजनलाई महत्वलाई दिएको छ ।

अन्तमा, मासु तथा दुग्धजन्य वस्तुको खपत घटाएर, अर्गानिक वस्तुको खरिद, बजारमा बोटलको पानी किन्नुभन्दा घरबाटै पानी लिएर जाने, घरवरपरमै हरिया सागपात, खुर्सानी, टमाटर, धनिया आदि उब्जाउने, चिया, कफी र हल्का पेयपदार्थको सट्टामा पानी पिउने तथा स्थानीयस्तरमा उत्पादित फलफुल, खाद्यपदार्थ खरिद र प्रयोग गर्ने गरी स्वास्थ्य र वातावरण संरक्षणमा केही योगदान पुर्याऔँ । 

(न्याम्स वीर अस्पताल काठमाडौंका प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन डा. बुढाथोकी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय काठमाडौंका निवर्तमान प्रवक्ता हुन् ।)

सुझावित समाचार