माध्यमिक शिक्षा परीक्षा (एसइई) ८१ र ८२ मा उत्कृष्ट जिपिए ल्याउने चारजना विद्यार्थीलाई खानीखाेला गाउँपालकिाले नगद एक लाख पुरस्कारसहित सम्मान गरेको छ। दुई शैक्षिक सत्रमा साधारण र प्राविधिक धारतर्फ उत्कृष्ट एक–एकजना विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।
बुधबार खानीखोला गाउँपालिकाले एसइई परीक्षा ०८२ मा साधारणतर्फ ३.३१ जिपिए ल्याएर गाउँपालिकाको उत्कृट इमसाङ योञ्जन र प्राविधिक धारतर्फ ३.६५ जिपिए ल्याउने नेहा खुलाललाई नगद एक–एक लाख पुरस्कारसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका हुन् । योञ्जन खानीखोला– ४ मा अवस्थित कुमारी माध्यमिक विद्यालय र खुलाल जनविकास माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सामेल भएका थिए ।
त्यसरी नै माध्यमिक शिक्षा परीक्षा ०८१ मा साधारणतर्फ ३.४३ जिपिए ल्याउने निश्चल थापामगर र प्राविधिक धारतर्फ ३.६५ जिपिए ल्याउने प्रयास बञ्जरालाई पनि नगद एक–एक लाख पुरस्कारसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका छन् । थापामगर जनहित माध्यमिक विद्यालयबाट र बञ्जरा जनविकास माध्यमिक विद्यालयबाट एसइई परीक्षा ०८१ मा सामेल भएका थिए ।
उच्च शिक्षा अध्यायनका लागि प्रोत्साहनस्वरूप उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । आजको विद्यार्थी नै भोलिको कर्णधार भएकाले गाउँपालिकाले शिक्षामा जोड दिँदै आएको उनको भनाइ छ ।