असल व्यक्ति, असफल प्रधानमन्त्री स्टारमर

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण
  • बेलायती प्रधानमन्त्रीले चुनौतीपूर्ण समयमा पदभार ग्रहण गरेको सही हो । तर, उनले बहुमतको सरकार हुँदा पनि आवश्यक साहसी निर्णय लिन नसकेको र एकपछि अर्को गलत कदम चालेको आलोचक आरोप लगाउँछन् ।

कियर स्टारमरलाई उनका विपक्षीले पनि असल बानी–व्यहोरा भएको, मिहिनेती र विनम्र व्यक्ति भएको स्विकार्छन् । तथापि, उनै स्टारमर आधुनिक कालका सबैभन्दा अलोकप्रिय ब्रिटिस प्रधानमन्त्री बनेर बाहिरिएका छन् । स्टारमरले जुलाई २०२४ मा बेलायतमा सम्पन्न आम निर्वाचनमा लेबर पार्टीलाई भारी जित हासिल गराए । उनी नेतृत्वको लेबर पार्टीले तल्लो सदन (हाउस अफ कमन्स)मा ४११ सिट जितेको थियो, जुन बहुमतका लागि १७४ सिट पर्याप्त हो । उक्त मतपरिणाम सन् १९९७ र २००१ का दुई चुनावमा टोनी ब्लेयर नेतृत्वमा लेबरले हासिल गरेपछिकै ठुलो थियो ।

जितपछि हर्षित समर्थकहरूलाई सम्बोधन गर्ने क्रममा उनले भनेका थिए, ‘बेलायतले फेरि सपना देख्ने अवसर पाउनेछ ।’ तथापि, चुनावी परिणामका केही चेतावनीपूर्ण संकेत थिए । पार्टीले सिट संख्या उल्लेख्य जितेको पनि लोकप्रिय मत भने केवल ३४ प्रतिशत पाएको थियो । 

पद सम्हालेको दुई वर्ष पुग्न केही दिन बाँकी हुँदा सोमबार (जुन २२)मा स्टारमरले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । ‘मैले हरेक निर्णय लिँदा आफूले माया गर्ने देशलाई पहिलो स्थानमा राखेँ । अहिले त्यसै आधारमा म लेबरको नेतृत्वबाट राजीनामा दिँदै छु,’ उनले भने । पूर्ववरिष्ठ वकिल स्टारमरले वर्षौंसम्म बेलायतको ‘क्राउन प्रोसिक्युसन सर्भिस’को नेतृत्व गरे । त्यस पदमा रहँदा उनले विधि र प्रक्रियामा अधिक जोड दिने व्यक्तिको पहिचान बनाएका थिए । राजनीतिमा तुलनात्मक रूपमा पछि प्रवेश गरेका स्टारमरले ‘हाउस अफ कमन्स’मा पहिलो कार्यकाल पूरा गरेपछि (पाँच वर्षको अवधि) नै सन् २०२० मा जेरेमी कोर्बिनलाई विस्थापित गर्दै लेबर पार्टीको नेतृत्व सम्हाल्न पुगे । सन् २०२४ को आमनिर्वाचनको जितपछि स्टारमरको लोकप्रियता द्रुत गतिमा घट्न थाल्यो ।

‘खासमा स्टारमरले न आफूले कुन विचार बोक्ने हो भनेर खुलाए, न उनी नेतृत्वको लेबर पार्टी कहाँ उभिएको छ भनेर कहिल्यै परिभाषित गरेनन्,’ युनिभर्सिटी अफ स्ट्राथक्लाइडका राजनीतिशास्त्रका प्राध्यापक र बेलायतका सबैभन्दा सम्मानित पोलस्टर जोन कर्टिसले भने, ‘स्टारमर धेरै चलाख वकिल हुन् । तर, उनमा राजनीतिक नेतामा हुनुपर्ने गुण भने त्यति देखिएन ।’ 

लन्डनको क्विन म्यारी विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक टिम बेल पनि स्टारमरलाई ‘कमजोर सञ्चारकला भएको राजनीतिज्ञ’ मान्छन् । उनको ठम्याइमा प्रधानमन्त्री पद सम्हालेपछिका सुरुवाती केही महिना उनले गलत कदम चालेका थिए । ‘खासमा उनमा आफ्ना सांसद वा जनतालाई प्रेरित गर्ने दृष्टिकोण नै थिएन,’ बेलले भने । 

एक अलोकप्रिय नेता
मतसर्वेक्षण कम्पनी इप्सोसका अनुसार प्रधानमन्त्री बनेको एक वर्षपछि नै स्टारमरप्रति सन्तुष्टिको स्तर माइनस ६६ मा झरेको थियो । यो सन् १९७७ यता कुनै प्रधानमन्त्रीले पाएको सबैभन्दा कम सन्तुष्टि मूल्यांकन भएको इप्सोसले प्रस्ट्याएको छ । त्यसपछि पनि यसमा खासै सुधार भएको देखिएको छैन । अहिले यो माइनस ६० को आसपास कायम छ । ब्रिटेनका ७६ प्रतिशत मानिस स्टारमरसँग असन्तुष्ट छन्, केवल १६ प्रतिशत मात्र उनीप्रति सकारात्मक देखिन्छन् । जबकि, पूर्वकन्जर्भेटिभ प्रधानमन्त्री लिज ट्रसको सन्टुष्टिस्तर माइनस ५१ मात्र झरेको थियो, उनलाई ४९ दिनको छोटो कार्यकाल भएको भनेर खिल्ली उडाइन्छ । 

स्टारमर एक दशकभन्दा लामो कन्जर्भेटिभ शासनपछि प्रधानमन्त्री बनेका थिए । बढ्दो महँगी र सरकारी खर्चको विस्तार प्रमुख चुनौतीका रूपमा देखिएको थियो । सुरुदेखि नै स्टारमरलाई चुनौती थियो । ‘त्यस्तो अवस्थामा स्टारमरको शैली भने लेबर शासनलाई नयाँ कन्जर्भेटिभ शासनमा परिणत गर्नुजस्तो देखियो,’ द स्टारमर प्रोजेक्ट ः अ जर्नी टु द राइटका लेखक ओलिभर इगलटनले भने । दशकौँसम्म लेबर पार्टीमाथि अर्थतन्त्रलाई लिएर लापर्वाह रहेको र बढी कर लिएर बढी खर्च गर्ने गरेको आरोप लाग्थ्यो । जबकि, कन्जर्भेटिभमाथि थोरै कर र वित्तीय अनुशासनका लागि जस दिइन्थ्यो । यसबाट आकर्षित भएर स्टारमरले विपक्षी पार्टीकै नक्कल गर्न खोजे । 

पहिचान संकट, विभिन्न काण्ड र चुनावी हार
धेरैले स्टारमरद्वारा बदलिएको लेबर पार्टीले राजनीतिक पहिचान अभाव रहेको महसुस गरे । अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका स्टारमरमाथि बलियो संसदीय बहुमत हुँदाहुँदै अत्यधिक सतर्क र अनिर्णयकारी भएको आरोप लाग्न थाल्यो । केही महत्वपूर्ण मतदानमा लेबरकै सांसदले उनलाई अवज्ञा गरेको देखियो । उनको सरकारले ल्याएका विभिन्न कल्याणकारी तथा पुर्ख्यौली सम्पत्तिसम्बन्धी कानुनमा पछि युटर्न लिन बाध्य पारियो । र, पार्टीका विभिन्न निर्णयप्रति असन्तुष्टि जनाउँदै राजीनामाको लहर पनि देखियो । यो दृश्यले एक दशक लामो कन्जर्भेटिभ शासनकालमा देखिएको अराजकताको अन्त्य गर्ने उनको चुनावी वाचासँग मेल खाँदैनथ्यो ।

स्टारमरको राजनीतिक करियरमा अर्को धक्काका रूपमा आयो अमेरिकी राजदूत पदमा पिटर म्यान्डेलसनको छनोट । विगतका लेबर सरकारले दुईपटक नैतिक आधारमा बर्खास्त गरिएका म्यान्डेलसनलाई स्टारमरले यौन अपराधी जेफ्री एपस्टाइनसँग मित्रता रहेको थाहा हुँदाहुँदै पनि राजदूतमा सिफारिस गरेको खुलासा भयो । प्रधानमन्त्रीले पछि प्रतिरक्षामा आफूलाई म्यान्डेलसन र एपस्टिनको सम्बन्धको गहिराइ थाहा नभएको बताए । साथमा एपस्टिनबाट पीडितसँग माफी मागे । तर, अप्रिलमा विदेश मन्त्रालयका सुरक्षा अधिकारीको सल्लाहविपरीत म्यान्डेलसनको नियुक्तिलाई अनुमोदन गरेको खुलासा भएपछि स्टारमर थप लज्जित हुनुपर्यो ।

स्टारमरको राजनीतिमा पछिल्लो अन्तिम धक्काको रूपमा आयो मे महिनामा सम्पन्न स्थानीय चुनाव । चुनावमा लेबर पार्टीले अप्रत्यासित ठुलो हार व्यहोरेपछि उनको नेतृत्वविरुद्ध प्रश्न उठ्न थाल्यो । एकपछि अर्को मन्त्रीहरूको राजीनामा आउन थाल्यो । ‘स्टारमरका लागि लेबर पार्टीले स्थिरता प्रदान गर्न सक्यो भने सबै कुरा आफैँ ठिक हुँदै जानेछ भन्ने सोचमा रहेजस्तो देखियो,’ किंग्स कलेज लन्डनमा युरोपेली राजनीति र विदेश मामिलाका प्राध्यापक आनन्द मेननले भने, ‘बढ्दो पपुलिजमसँग लड्न, तपाईंले मूलधारको राजनीतिले पनि जनतालाई डेलिभर गर्न सक्छ भनेर विश्वास दिलाउन सक्नुपर्छ, जुन उनले गर्न सकेनन् । खासमा स्टारमर नेतृत्वको लेबरले ‘देशको समस्या अर्थात् साहसी आर्थिक सुधारको आवश्यकतालाई नै गलत बुझेको मेननको ठम्याइ छ । 

गलत आर्थिक कदम
आफ्ना खर्च योजनालाई वित्तपोषण गर्न लेबरले अन्य विषयमा खर्च कटौती गर्न खोज्यो । यस सन्दर्भमा स्टारमरले एकपछि अर्को गल्ती गरे । उनको पहिलो प्रमुख गल्ती पेन्सनधारीले जाडो समयमा पाउने इन्धन भत्तामाथिको पहुँच रोक्नु रह्यो । व्यापक विरोधपछि उनको सरकारले यस निर्णयमा युटर्न त गर्यो, तर क्षति भइसकेको थियो । पछि अक्टोबर २०२४ मा अर्थमन्त्री रचेल रिभ्सले ल्याएको बजेटमा करका दर वृद्धि गरिएकोमा व्यापक आलोचना भयो । (चुनावका क्रममा स्टारमरले कुनै पनि कर नबढाउने वाचा गरेका थिए ।) फेरि सन् २०२५ को गर्मीमा उनको सरकार आफ्नो निर्णयमा अर्को युटर्न लिन बाध्य भयो । त्यति वेला स्टारमरले अपांगता भत्तामा योजनाबद्ध कटौती गर्ने विधेयक संसद्मा पेस गर्दै थिए । विधेयकविरुद्ध आफ्नै पार्टीका सांसदले मत दिने बताएपछि उनी पछि फर्किन बाध्य भएका थिए ।

स्थानीय निर्वाचनको खराब परिणामपछि दबाब बढ्दै जाँदा गृहमन्त्री सबाना महमुद र विदेशमन्त्री यभेट कुपरसहित धेरै क्याबिनेट मन्त्रीहरूले स्टारमरलाई प्रस्थानको समयतालिका बनाउन निजी रूपमा दबाब दिएको बताइन्छ । स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले त मे १४ मा मन्त्रिपरिषद्बाट राजीनामा दिए । तथापि, आफ्नो राजनीतिक महत्वाकांक्ष खुला राखेका स्ट्रिटिङले अपेक्षाअनुरूप नेतृत्व चुनौती पेस गरेनन् । तर, उपयुक्त समय पर्खिरहेका म्यानचेस्टर सहरका मेयर एन्डी बर्नह्याम त्यसपछि जुर्मुराए । तर, एउटा समस्या थियो । ‘किङ अफ नर्थ (उत्तर भेगका राजा)’ उपनाम दिएका बर्नह्याम प्रधानमन्त्री पदका लागि चुनौती दिन पहिले त ‘हाउस अफ कमन्स’मा सांसद बन्नुपर्ने थियो, जुन उनी थिएनन् ।

सुरुमा स्टारमरले बर्नह्यामको उपचुनावमा भाग लिने प्रयासलाई रोक्न सफल भए । तर, पार्टीभित्र आफूमाथि बढ्दो दबाबबिच स्टारमरले लामो समयसम्म बर्नह्यामलाई रोक्न सकेनन् । बर्नह्यामले गत बिहीबार मेकरफिल्डको निर्वाचन क्षेत्रमा सानदार जित हासिल गरे । आगामी चुनावमा रिफर्म पार्टीसँग बहुमत गुम्न सक्ने डरले लेबर सांसदहरू स्टारमरलाई त्याग्नुपर्ने निचोडमा पुगेका हुन् । र, बर्नह्याम स्पष्ट रूपमा स्टारमरका उत्तराधिकारी मानिएका छन् । ‘बर्नह्याम जनतासँग जोडिन सक्छन् । देशको आगामी बाटोबारे उनमा स्पष्ट बुझाइ देखिन्छ,’ बेलले भने । 

लेखकद्वय पत्रकार हुन्
अलजजिराबाट

 

सुझावित समाचार