अछामको ढकारी गाउँपालिकाले आर्थिक वर्ष ०८३/८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार र सुशासनलाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको १७औँ अधिवेशनमा ‘उत्पादन, रोजगारी र सुशासनलाई मुख्य आधार बनाई शिक्षा र स्वास्थ्यमा व्यापक सुधार गर्ने दाबीसहित नीति तथा कार्यक्रम ल्याइएको हो।
गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विभिन्न पाँचवटा क्षेत्रलाई मुख्य आधार मानेर गाउँपालिकालाई समृद्ध बनाउने योजना समावेश गरिएको छ। जसमा संस्थागत विकास तथा सुशासन, सामाजिक विकास, स्थानीय आर्थिक विकास, कृषि तथा पशु विकास र वन, वातावरण तथा विपत् व्यवस्थापन रहेका छन्। यसले पारदर्शिता र जवाफदेहितामार्फत सुशासन कायम गर्दै विधिको शासन कायम गर्न सूचना प्रविधिको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई सरल बनाउने अपेक्षा गरिएको छ।
ढकारीले आर्थिक वर्ष ०८३/८४ देखि सामुदायिक विद्यालयका सबै छात्रछात्रका लागि निःशुल्क रूपमा पोसाक वितरण गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशबहादुर बोहराले बताए। उनका अनुसार सामुदायिक विद्यालयमा पहुँच अभिवृद्धि गर्न यो कार्यक्रमलाई तत्काल कार्यान्वयन गर्ने गरी समावेश गरिएको हो। त्यसैगरी सर्वसुलभ स्वास्थ्य सेवा र नागरिकको सामाजिक न्यायको प्रत्याभूति गराउने लक्ष्यका साथ त्यसको कार्यान्वयन गर्ने योजना रहेको बोहराले बताए।
सभामा अध्यक्ष साउदले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सिपयुक्त रोजगारी सिर्जना, श्रमदाता र बजारको खोजी एवं उद्यमशीलताको प्रवर्द्धनलाई पनि महत्त्वका साथ समेटिएको छ। ‘एक वडा एक कृषि पकेट क्षेत्र’ र पशुहरूको बिमा गर्ने व्यवस्था गरी कृषिमा आत्मनिर्भर गराउने गरी दिगो पूर्वाधार र वन विकासलाई पनि नीति तथा कार्यक्रममा राखिएको छ।
‘रैथाने बाली, फलफूल तथा जैविक विविधताको संरक्षणका लागि पहल गर्ने, माटो परीक्षण, विषादी परीक्षण तथा कृषि परामर्श सेवासहित आधुनिक कृषि ल्याब व्यवस्थापन, विद्यालयमा ‘पढ्दै–रमाउँदै कार्यक्रम सञ्चालन गरी कृषि सिप र आत्मनिर्भरता विकास, कृषकलाई तालिम तथा घरदैलोमै प्राविधिक सेवा उपलब्ध, रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक तथा वैकल्पिक खेती प्रणालीलाई प्रोत्साहन गरिने’ नीति तथा कार्यक्रममा भनिएको छ। सुशासनतर्फ सार्वजनिक सुनुवाइ, डिजिटल सेवा प्रणाली, योजना बैंक, इ–गभर्नेन्स, अनलाइन कर प्रणालीको पहल तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख गरिएको छ।
गाउँपालिका उपाध्यक्ष नेत्रकलादेवी शाहीलगायत सभाका सदस्यहरूले विभिन्न माग तथा सुझाव प्रस्तुत गरेका थिए। वडा नम्बर ४ की वडासदस्य मनीषादेवी साउदको निधनप्रति दुःख व्यक्त गर्दै सुरुमै आधा घण्टाका लागि सभा स्थगित गरेर पुनः सञ्चालन हुँदै समापन भएको थियो। ढकारीले यही असार १० गते गाउँसभामार्फत नयाँ बजेट ल्याउने तयारी गरिरहेको प्रशासकीय अधिकृत नवीन रिमालले जानकारी दिए।