बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले सरकार र लेबर पार्टी नेतृत्वबाट राजीनामा घोषणा गरेका छन् । स्टार्मरले पार्टीले नयाँ लेबर नेता छनोट नगरिन्जेल कामचलाउ प्रधानमन्त्री रहने बताएका छन् । स्टार्मरलाई राजीनामा दिन आफ्नै पार्टीका सांसद तथा मन्त्रिपरिषद्का सदस्यले निरन्तर दबाब दिएका थिए ।
स्टार्मर विगत एक दशकमा प्रधानमन्त्रीको सरकारी निवास १० डाउनिङ स्ट्रिटबाट आफ्नो कार्यकाल पूरा नगरी बाहिरिने पाँचौँ प्रधानमन्त्री हुन् । बेलायतले युरोपेली संघ छोड्न मतदान गरेको (ब्रेजिक्ट) १०औँ वार्षिकोत्सव मनाउनुभन्दा एक दिनअघि स्टार्मरको घोषणा आएको हो । ब्रेजिक्टको निर्णयले अझै पनि देशको अर्थतन्त्र र राजनीतिमा कम्पन ल्याएको छ । सन् २०२४ मा सम्पन्न निर्वाचनमा पार्टीको एतिहासिक विजयपछि लेबरको नेतामा निर्वाचित भएका स्टार्मरको लोकप्रियता सरकार र पार्टी दुवैमा बिस्तारै घटेको थियो ।
आगामी आमनिर्वाचनअघि निगेल फराजको पार्टी रिफर्म युकेबाट चुनौती बढ्न सक्ने त्रासले लेबरका धेरै सांसदहरू चिन्तित बनेका थिए । स्टार्मरले एकपछि अर्को अलोकप्रिय निर्णय गरेको उनीहरूले आरोप लगाएका थिए । विशेषगरी केही साताअघि सम्पन्न स्थानीय निर्वाचनमा पार्टीले धेरै स्थानमा पराजय व्यहोरेको थियो । निर्वाचन परिणामपछि पार्टीभित्र उनले राजीनामा दिनुपर्ने धारणा बलियो बनेको थियो । शुक्रबारसम्म स्टार्मरले सम्भावित पार्टीको नेतृत्व प्रतिस्पर्धामा आफू लड्ने बताएका थिए । तर, सोमबार उनले एकाएक राजीनामा दिने निर्णय गरे ।
गत हप्ता भएको विशेष संसदीय चुनावमा विजय हासिल गरेका ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी बर्नह्याम दलको नेता र प्रधानमन्त्री हुने अपेक्षा गरिएको छ । तर, नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको उत्तरार्धसम्म कुर्नुपर्नेछ । ‘म सरकार गठनको प्रक्रियाको एक अंशका रूपमा आफूलाई अगाडि बढाउनेछु,’ बर्नह्यामले सामाजिक सञ्जालमा लेखेका छन् । शीर्ष पदका लागि उनका मुख्य प्रतिद्वन्द्वी मानिने पूर्वस्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले बर्नह्यामलाई समर्थन गर्ने बताएका छन् । यसले बर्नह्यामलाई नेतृत्व प्रतिस्पर्धाविना नै छनोट हुने सम्भावना बढाएको छ । उनी म्यानचेस्टर मेयरका रूपमा लगभग एक दशक सेवा गरेपछि संसद्मा फर्किएका हुन् । संसद्का सदस्यहरू मात्र पार्टी नेतृत्वका लागि उभिन सक्छन् ।
स्टार्मरले आफ्नो आधिकारिक घोषणा १० डाउनिङ स्ट्रिट निवासबाहिर गरे जहाँ उनले दुई वर्षअघि प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो भाषण दिएका थिए । छोटो वक्तव्यको अन्त्यतिर उनको आवाज भावुकताले भरिएको थियो । ‘मेरो पार्टीले अहिले सोधिरहेको प्रश्न यो हो कि म अर्को आमचुनावमा हामीलाई नेतृत्व गर्न सबैभन्दा राम्रो स्थानमा छु कि छैन,’ स्टार्मरले भने । उनले राजा चार्ल्स तृतीयलाई राजीनामाको निर्णयबारे जानकारी गराएको बताए ।
राजीनामा घोषणा गर्नुअघि स्टार्मरले आफू नेतृत्वमा आउँदा लेबर पार्टी ‘राजनीतिक, आर्थिक र नैतिक रूपमा टाट पल्टिएको’ अवस्थामा भएको बताए । उनले अर्थतन्त्र, रक्षा र राष्ट्रिय सुरक्षामा विश्वास पुनर्स्थापित गर्दै यहुदीविरोधी भावनाको विषलाई जरैदेखि उखेलेर पार्टीलाई परिवर्तन गरेको दाबी गरे ।