सही नेतृत्व, सुदृढ संगठन र साझा जिम्मेवारीको त्रिवेणी

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण
  • रास्वपाको महाधिवेशनले व्यक्तिगत आकांक्षाभन्दा माथि उठेर सामूहिक नेतृत्व, संगठनात्मक अनुशासन र साझा जिम्मेवारीको संस्कार विकास गर्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको चार वर्षभन्दा कम अवधिमै नेपालको सबैभन्दा ठुलो राजनीतिक शक्तिका रूपमा स्थापित भएको छ । रास्वपा केवल एक राजनीतिक संगठन मात्र नभई परिवर्तनको आशा र भरोसाको प्रतीक बनेको छ । यसर्थ, रास्वपाको महाधिवेशनलाई पार्टीभित्रका नेता–कार्यकर्ताले मात्र होइन, आमनागरिक, राजनीतिक विश्लेषक, विपक्षी दल तथा अन्तर्राष्ट्रिय समुदायले समेत चासोसाथ हेरिरहेका छन् ।

जब सभापति रवि लामिछानेले नयाँ राजनीतिक दल दर्ता गर्ने निर्णय गरे, त्यतिवेला धेरैले यसलाई एउटा क्षणिक राजनीतिक प्रयोगका रूपमा बुझेका थिए । स्वयं लामिछानेले पनि पार्टी दर्ताका क्रममा नागरिकता भएका साथीहरू जुटाउन कठिनाइ भएको अनुभव सुनाउने गरेका छन् । तर, देशमा व्याप्त भ्रष्टाचार, राजनीतिक विकृति, सुशासनको अभाव र पुराना दलप्रतिको जनताको वितृष्णाले नयाँ विकल्पको खोजी गरिरहेको थियो । रास्वपाले त्यही शून्यतालाई भर्ने प्रयास गर्यो र जनताले पनि त्यसलाई खुलेर स्वीकार गरे । परिणामस्वरूप, छोटो अवधिमै रास्वपा देशको सबैभन्दा ठुलो दल बन्न सफल भयो । यो उपलब्धि कुनै सामान्य घटना होइन । दशकौँदेखि राजनीति गरिरहेका दललाई पछि पार्दै नयाँ दलले जनताको विश्वास जित्नु आफैँमा ऐतिहासिक उपलब्धि हो । यही उपलब्धिको जगमा उभिएर अहिले रास्वपा आफ्नो पहिलो महाधिवेशनको संघारमा पुगेको छ ।

महाधिवेशनको अर्को विशेषता यसको व्यापक सहभागिता हो । यसमा केवल प्रतिनिधिहरूको औपचारिक जमघट मात्र हुनेछैन, वडा तहदेखि केन्द्रीय तहसम्मका नेता–कार्यकर्ता, शुभेच्छुक तथा गत निर्वाचनमा घण्टी चिह्नमा मतदान गर्ने लाखौँ नागरिकको भावनात्मक सहभागिता यसमा जोडिनेछ । यही कारणले यो महाधिवेशन रास्वपाको आन्तरिक कार्यक्रम मात्र नभई जनताको आकांक्षा र अपेक्षासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय महत्वको राजनीतिक घटना बन्न पुगेको छ ।

यतिवेला रास्वपाको लोकप्रियता निरन्तर बढिरहेको छ । पार्टीप्रति आकर्षण यति तीव्र छ कि संगठनभित्र विभिन्न जिम्मेवारी र पदका लागि प्रतिस्पर्धासमेत देखिन थालेको छ । कुनै पनि राजनीतिक दल विस्तार हुँदै जाँदा यस्तो अवस्था स्वाभाविक मानिन्छ । सानो हुँदा संगठन निर्माणको चुनौती हुन्छ भने ठुलो भएपछि त्यसलाई व्यवस्थापन गर्ने चुनौती थपिन्छ । अहिले रास्वपा यही दोसाँधमा उभिएको छ ।

एकातिर जनताको अभूतपूर्व समर्थन छ भने अर्कातिर त्यसलाई दीर्घकालीन राजनीतिक शक्तिमा रूपान्तरण गर्ने जिम्मेवारी छ । जनताको आशा जति ठुलो हुन्छ, त्यसलाई पूरा गर्नुपर्ने दबाब पनि त्यति नै बढी हुन्छ । त्यसैले, यो महाधिवेशनले केवल नेतृत्व चयन गर्ने काम मात्र गरेर पुग्दैन, संगठनलाई कसरी व्यवस्थित बनाउने, कार्यकर्तालाई कसरी परिचालन गर्ने र जनअपेक्षालाई कसरी सम्बोधन गर्ने भन्ने महत्वपूर्ण प्रश्नको उत्तर पनि खोज्नुपर्नेछ ।

रास्वपाको आगामी सफलताको आधार सही नेतृत्व चयनमा निर्भर रहनेछ । नेतृत्व केवल लोकप्रियताले मात्र चल्दैन, त्यसका लागि दूरदृष्टि, संगठन सञ्चालन क्षमता, संकट व्यवस्थापनको कौशल र कार्यकर्तालाई एकताबद्ध राख्ने क्षमता आवश्यक पर्छ । अहिले पार्टीले प्राप्त गरेको जनमतलाई जोगाइराख्न र अझ विस्तार गर्न सक्षम नेतृत्वको आवश्यकता छ ।

सभापति रवि लामिछानेमाथि पनि विशेष जिम्मेवारी आएको छ । पार्टी स्थापनादेखि आजको अवस्थासम्म ल्याउन उनले महत्वपूर्ण भूमिका खेलेका छन् । तर, अब चुनौती पार्टी निर्माणभन्दा पनि व्यवस्थापनको छ । ठुलो संगठनभित्र विभिन्न विचार, आकांक्षा र महत्वाकांक्षा स्वाभाविक रूपमा जन्मिन्छन् । तिनलाई समन्वय गर्दै साझा लक्ष्यतर्फ अघि बढाउनु नै नेतृत्वको वास्तविक परीक्षा हो ।

राजनीतिक इतिहासले देखाएको छ कि धेरै नयाँ दल लोकप्रियताको शिखरमा पुगेर पनि आन्तरिक विवाद, गुटबन्दी र नेतृत्व संघर्षका कारण कमजोर बनेका छन् । रास्वपाका विपक्षीहरू पनि यस्तै सम्भावनाको प्रतीक्षामा छन् । पार्टीभित्र विग्रह, फुट वा असन्तुष्टि बढे त्यसको प्रत्यक्ष लाभ विपक्षीले उठाउनेछन् । त्यसैले, महाधिवेशनले व्यक्तिगत आकांक्षाभन्दा माथि उठेर सामूहिक नेतृत्व, संगठनात्मक अनुशासन र साझा जिम्मेवारीको संस्कार विकास गर्नुपर्ने आवश्यकता छ । चितवन महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पार्टीको परिपक्वताको परीक्षण पनि हो । रास्वपाले लोकतान्त्रिक विधि, पारदर्शिता र संगठनात्मक एकताको उदाहरण प्रस्तुत गर्न सक्यो भने यसले पार्टीप्रति जनविश्वास अझ बलियो बनाउनेछ । साथै, नयाँ राजनीतिक संस्कार स्थापित गर्ने अवसर पनि प्राप्त हुनेछ ।

महाधिवेशनले संगठनलाई वडा तहदेखि केन्द्रसम्म थप सुदृढ र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । राजनीतिक दलको बल केवल शीर्ष नेतृत्वमा सीमित हुँदैन, त्यसको वास्तविक शक्ति आधारभूत तहका कार्यकर्तामा निहित हुन्छ । त्यसैले, संगठन विस्तारसँगै कार्यकर्ताको क्षमता अभिवृद्धि, जिम्मेवारी बाँडफाँट र प्रभावकारी संरचना निर्माणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । आज देशले सुशासन, पारदर्शिता, विकास र राजनीतिक स्थायित्वको खोजी गरिरहेको छ । जनताले रास्वपालाई दिएको समर्थन पनि यिनै अपेक्षासँग जोडिएको छ । त्यसैले, महाधिवेशनले पार्टीलाई केवल चुनाव जित्ने संगठनका रूपमा होइन, मुलुक निर्माणको दीर्घकालीन दृष्टिकोण बोकेको राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्नेछ ।

चितवनको यो ऐतिहासिक जमघटलाई सही नेतृत्व, कुशल संगठन र साझा जिम्मेवारीको त्रिवेणीका रूपमा रूपान्तरण गर्न सकियो भने रास्वपाको भविष्य अझ उज्ज्वल बन्नेछ । यसले पार्टीभित्र एकताको सन्देश दिने मात्र होइन, देशभर परिवर्तन सम्भव छ भन्ने आशालाई पनि थप मजबुत बनाउनेछ । यसकारण रास्वपाको प्रथम महाधिवेशनलाई एउटा नियमित संगठनात्मक कार्यक्रमका रूपमा मात्र हेर्न मिल्दैन । यो पार्टीको भावी दिशा तय गर्ने, जनविश्वासलाई संस्थागत गर्ने र नेपालको राजनीतिमा नयाँ अध्याय लेख्ने अवसर हो । महाधिवेशनबाट सही नेतृत्व, सुदृढ संगठन र साझा जिम्मेवारीको भावनासहित नयाँ ऊर्जा प्राप्त भएमा रास्वपाप्रति जनआकर्षण अझ बढ्नेछ । 

(केसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरका नेता हुन्)

सुझावित समाचार