आगामी साता कोशीदेखि गण्डकीसम्मको क्षेत्रमा वर्षाको सम्भावना छ। तर, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रको तातो हावाको लहर भने आगामी साता पनि कायमै रहने देखिन्छ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार कोशीमा बिहीबारसम्म पानी पर्ने देखिन्छ । त्यहाँ आइतबारभित्र केही ठाउँमा ठुलो पानी पर्ने आकलन पनि छ। त्यस्तै, मधेश, बागमती र गण्डकीका तराई क्षेत्रमा आइतबारसम्म मध्यम तथा बुधबार र बिहीबार थोरै ठाउँमा पानी पर्ने देखिन्छ।
पहाडी क्षेत्रको अवस्था हेर्दा कोशी, बागमती, गण्डकीका केही ठाउँ र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा आगामी सातासम्म पानी पर्ने देखिन्छ । तर, आगामी आइतबार भने कोशीका तराई भूभागका केही स्थान तथा मधेश, बागमती र गण्डकीका तराई भूभागमा एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशीका पहाडी क्षेत्रसँगै तराईका एक–दुई स्थानमा ठुलो वर्षाको समेत आकलन छ ।