अछामको मेल्लेख– ७, नन्देगडास्थित दुर्गादेवी माविमा दिवाखाजाले विद्यार्थीको हाजिरी दर बढेको छ। बाल कक्षादेखि पाँच कक्षासम्म हाजिरी दर बढेको देखिएको हो।
विगतमा प्राथमिक तहमा निकै कम विद्यार्थी हाजिर हुने गरेको भए पनि अहिले दिवाखाजा कार्यक्रम सञ्चालनपछि बालबालिकाहरू कक्षामा उपस्थित हुने र पूरा समयसम्म बस्ने गरेको शिक्षक सुरतबहादुर साउदले बताए। उनका अनुसार दिवाखाजाकै कारण गरिब परिवारका बालबालिकाको शैक्षिक अवस्था सुधारोन्मुख देखिन्छ।
दैनिक १८० भन्दा बढी बालबालिकाले दिवाखाजा खाने गरेको दुर्गादेवी माविमा कोदो, आलु, चना, जाउलो, भटमासलगायत स्थानीय खाद्यान्नबाट बन्ने परिकारहरू खुवाउने गरिएको बालकक्षाकी शिक्षिका सरिता साउदले जानकारी दिइन्। सबैभन्दा कम विद्यार्थी हुने बालकक्षामा अहिले दिवाखाजाकै आकर्षणले दैनिक ३५ भन्दा बढी बालबालिका नियमित कक्षामा उपस्थित हुने गरेको साउदको भनाइ छ।
उनका उनुसार अहिले बिचमै कक्षा छोडेर घर जाने साना बालबालिकाको संख्य शून्य छ। उनीहरू सबै विद्यालय समय पूरा नभएसम्म नियमित कक्षामा बस्ने गरेका छन्। यो विद्यालयमा लामो समयदेखि खाजा व्यवस्थापन गरिरहेका स्थानीय अमरबहादुर बुढाका अनुसार, २०६४ सालमा विश्व खाद्य कार्यक्रममार्फत कक्षा ६ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरिएको थियो। त्यसको केही वर्षपछि त्यो कार्यक्रम सकिँदा कक्षा पाँचसम्मका बालबालिकालाई मात्र खाजा उपलब्ध गराउन थालिएको हो।
दुर्गादेवी माविमा अहिले मेल्लेख गाउँपालिकाको सहयोगमा विद्यालय आफैँले दिवाखाजा व्यवस्थापन गरिरहेको छ। जसका कारण बालबालिका नियमित हाजिर हुने, पूरै समय कक्षामा बस्ने र मन लगाएर पढ्ने गरेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर विकले बताए। उनका अनुसार स्कुलमा खाजा कार्यक्रम हेर्दा र सुन्दा सामान्य लागे पनि यसले विद्यार्थीको जीवनमा दूरगामी सकारात्मक प्रभाव पारेको छ।