इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राज्य अमेरिका र इरानबिच युद्धविराम सम्झौताको घोषणा भए पनि लेबनान र सिरियामा आफ्नो सेनाले कब्जामा लिएको भूमि नछाड्ने वाचा गरेका छन् । नेतन्याहुले सोमबार एक पत्रकार सम्मेलनका क्रममा बोल्दै इजरायली सेना लेबनानमा रहिरहने बताएका हुन् । लेबनानको झन्डै ५७० वर्गकिलोमिटर भूमि इजरायलले ओगटेको छ । त्यस्तै, इराननजिक मानिने लेबनानी सशस्त्र समूह हिज्बुल्लाहसँग लडेको बताउने इजरायलले सन् २०२३ यता लेबनानमा झन्डै तीन हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ ।
‘हामी आवश्यक परेसम्म लेबनानको बफर क्षेत्रमा रहनेछौँ,’ नेतन्याहुले पत्रकारलाई भने । इजरायलले अक्टोबर २०२३ देखि हिज्बुल्लाहसँग युद्धमा संलग्न छ, जुन पछि लेबनानमा पूर्णस्तरीय आक्रमणमा परिणत भयो । इजरायलले अहिले दक्षिणी लेबनानको लिटानी नदीभन्दा पारिको क्षेत्रलाई कब्जामा लिएको छ ।
समाचारका अनुसार लेबनानको विषयलाई लिएर पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेतन्याहुबिच खटपट भएको बताएका छन् । इरानले अमेरिकासँग हुने सम्झौतामा लेबनानमाथिको आक्रमण रोकिनुपर्ने विषय समेटिएको बताएकाले अमेरिका कतै इजरायली कदमले सम्झौतामा कुनै अवरोध आउने हो कि भनेर चिन्तित छ ।
उता इजरायलका दक्षिणपन्थी अमेरिका–इरान सम्झौताप्रति खुसी नभएको बताइन्छ । उनीहरूले यस्तो सम्झौता हुन रोक्न असफल भएकोमा सरकारको आलोचना गरिरहेका छन् । कट्टरपन्थी इजरायली इरानसँग अमेरिकी युद्ध अन्त्य भएसँगै लेबनान, सिरिया र गाजामा देशमाथिको आफूहरूको प्रभुत्व अन्त्य हुन सक्ने भनेर चिन्तित छन् । इजरायलले अहिले लेबनान, सिरिया र गाजामा गरेर कुल हजार वर्गकिमि जमिन कब्जामा लिएको छ ।