- नेपाल–भारतबिचको सभ्यतागत सम्बन्ध र क्षेत्रीय सार्वभौमसत्ता विरोधाभासी होइनन्, बरु एक–अर्काका परिपूरक हुन्
नेपालको सीमासम्बन्धी मुद्दामा प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालको संसद्मा दिएको अभिव्यक्तिले निकै ठुलो बहस सिर्जना गरेको छ । तैपनि, धेरैजसो छलफल भनिएका कुराको बृहत्तर महत्वमा भन्दा व्यक्तिगत रूपमा प्रयोग गरिएका शब्दमा केन्द्रित भएको छ । यसको चुरोमा, प्रधानमन्त्रीको सन्देशले एउटा महत्वपूर्ण यथार्थलाई प्रतिबिम्बित गरेको छ– क्षेत्रीय चासो र सभ्यतागत सम्बन्धहरू आपसमा प्रतिस्पर्धा गर्ने विचार होइनन् । एउटा परिपक्व राज्य दुवैको रक्षा गर्न सक्षम हुन्छ । नेपाल र भारतलाई बाँध्ने गहिरो सांस्कृतिक र पारिवारिक सम्बन्धलाई स्विकार्दै कालापानी क्षेत्रबारे नेपालको चासोलाई जोड दिएर उनले समकालीन बहसमा प्रायः हराउने गरेको एउटा सत्यलाई उजागर गरे– सार्वभौमसत्ता र सहअस्तित्व सँगैसँगै अघि बढ्न सक्छन् । सीमापार साझा जीवन र जीविकोपार्जनलाई मान्यता दिनु राष्ट्रिय हितको अस्वीकार्यता होइन, यो त यथार्थको स्वीकारोक्ति हो ।
भारत–नेपाल सम्बन्ध : भारत–नेपाल सम्बन्धलाई नक्सा र सिमानाको चस्माबाट मात्र हेर्न सकिँदैन । अन्य धेरै अन्तर्राष्ट्रिय सीमाजस्तो नभई, भारत–नेपाल सीमा साझा समुदायको परिदृश्यभित्र विकसित भएको छ । यो सन्धि र राजनीतिक सम्झौताबाट मात्र नभई नदी, वन, पहाड र बस्तीहरूद्वारा पनि आकारिएको छ, जसको जीवन पुस्तौँदेखि आपसमा जेलिएको छ । यो सम्बन्ध शताब्दियौँदेखिको साझा सभ्यतागत सम्बन्ध, रोटी–बेटीको सम्बन्ध, तीर्थयात्रा मार्ग र दार्शनिक परम्पराहरूमा जरा गाडेको छ, जसलाई पुस्तौँदेखि संरक्षण र संवर्द्धन गरिएको छ । सीमापार परिवारहरू छन् । तराईमा समुदायहरूले मैथिली, भोजपुरी र अवधी परम्परामार्फत भाषा, संस्कृति र नातासम्बन्ध बाँड्छन् । पूर्वी नेपालमा, लामो समयदेखिको सम्बन्धले समुदायलाई सिक्किम, आसाम र पश्चिम बंगालसँग जोड्छ । सुदूरपश्चिममा, यी सम्बन्ध उत्तराखण्डसँग जेलिएका छन् ।
साहित्य, लोककथा र दैनिक जीवन भूगोलले मात्र कहिल्यै सीमित नगरेको सम्बन्धको साक्षीका रूपमा रहेका छन् । सीमान्त क्षेत्रका धेरै भूभागमा, एउटा भारतीय बच्चा नेपाली विद्यालयमा जान सक्छ, किनभने यो भारततर्फको विद्यालयभन्दा नजिक छ । एक नेपाली युवा कामका लागि दैनिक सीमापार गर्न सक्छ र हरेक साँझ घर फर्कन सक्छ । समुदायहरू सँगै व्यापार गर्छन्, सँगै उत्सव मनाउँछन् र प्रायः पुस्तौँदेखिको सीमापार विवाहमार्फत पारिवारिक सम्बन्ध साझा गर्छन् । यी यथार्थले सार्वभौमसत्तालाई कमजोर बनाउँदैनन् । तिनले थप स्पष्ट पार्छन् कि नेपाल–भारत सम्बन्धलाई परम्परागत सीमा राजनीतिको दायराभन्दा बाहिरको संवेदनशीलता र बुझाइको आवश्यकता किन पर्छ ।
आजको चुनौती यो हो कि धैर्यतापूर्ण संवाद, प्राविधिक विशेषज्ञता र निरन्तर जमिनी कार्य आवश्यक पर्ने मुद्दाहरू प्रायः अस्थायी राजनीतिक लाभका लागि बनाइएका कथ्यहरू (न्यारेटिभ्स)को छायामा पर्छन् । दक्षिण एसियाभरि, वार्ताको कठिन काम गर्नुभन्दा आक्रोश पैदा गर्नु सजिलो छ । अन्तरनिर्भरतालाई स्वीकार गर्नुभन्दा भिन्नतालाई बढावा दिनु सजिलो छ । छिमेकीहरूबिचको भिन्नता स्वाभाविक हो, विशेष गरी जहाँ भूगोल, इतिहास र मानवबस्ती शताब्दियौँदेखि सँगै विकसित भएका छन् ।
हामीलाई चिन्तित तुल्याउनुपर्ने कुरा भिन्नताको अस्तित्व होइन, तर हरेक असहमतिलाई अविश्वासको चस्माबाट व्याख्या गर्ने प्रवृत्ति बढ्दो छ । छिमेकीहरूबिचको कुनै पनि सीमा विवाद सामाजिक सञ्जाल अभियान, भावनात्मक नारा वा प्रतिस्पर्धी राष्ट्रवादी कथ्यमार्फत कहिल्यै समाधान भएको छैन । दिगो समाधानहरू संवाद, विश्वास, राजनीतिक साहस र संस्थागत संयन्त्रबाट मात्र निस्कन्छन् । प्रधानमन्त्री शाहको भनाइ ठ्याक्कै यसै कारणले महत्वपूर्ण छ किनभने यसले राष्ट्रिय हित र रचनात्मक संलग्नतासँगै रहन सक्छन् भन्ने संकेत गर्छ । एक नेताले द्विपक्षीय सम्बन्धलाई आकार दिने मानवीय यथार्थलाई सँगसँगै मान्यता दिँदै देशको अडानलाई दृढतापूर्वक प्रस्तुत गर्न सक्छ ।
व्यक्तिगत विचारहरू सिंहदरबारमा काम गर्दाका बखत, म प्रायः बिहान पशुपतिनाथ मन्दिरमा नेपाल र भारतलाई बाँध्ने सभ्यतागत सम्बन्धहरूका बारेमा सोच्दै बिताउँथे । पशुपतिनाथ, केदारनाथ र कैलाश मानसरोवरका विद्वान्हरूसँगको कुराकानीले एउटा सरल अनुभूतिलाई बलियो बनायो : हिमालयले लामो समयदेखि वर्तमान राजनीतिक सिमानाहरू पार गरेर मानिस, परम्परा र तीर्थयात्रालाई जोडेको छ । यही अनुभूति मिथिला परिक्रमा र रामायण सर्किटको यात्रा गर्दा पनि भयो, मिथिला परिक्रमामा आधुनिक सीमाभन्दा पुरानो एउटा जीवन्त सांस्कृतिक परिदृश्य भेटिन्छ ।
सीतामाता वा राजकुमार सिद्धार्थको यात्रालाई क्षेत्रीय दाबीमा मात्र संकुचित गर्न सकिँदैन । यी एक सभ्यताका साझा सम्पदा हुन् । जनकपुर साहित्य महोत्सवमा जनकपुरधामसम्बन्धी पर्यटन निर्देशिका विमोचन गर्ने क्रममा मलाई यसको सम्झना गराइयो । मैले परम्परागत संकल्प मन्त्रवाचन गरेर सुरु गरेकी थिएँ : ‘जम्बुद्वीपे, भरतखण्डे, आर्यावर्तान्तर्गते, हिमवत्क्षेत्रे...’ र टिप्पणी गरेकी थिएँ कि हाम्रो सभ्यताको ‘ब्रह्माण्डीय जिपिएस’ (कस्मिक जिपिएस)ले पनि नेपाल र भारतलाई एउटा साझा सांस्कृतिक र आध्यात्मिक परिदृश्यभित्र राख्छ । आधुनिक सीमाभन्दा धेरै पहिले, हाम्रा पूर्वजले अन्तरसम्बन्धलाई बुझेका थिए । यो सभ्यतागत सन्दर्भले सीमांकन वा राष्ट्रिय हितको रक्षा गर्ने आवश्यकतालाई समाप्त गर्दैन । यसले टकरावको सट्टा संवादमार्फत कठिन प्रश्नहरूलाई सम्बोधन गर्न आवश्यक पर्ने विश्वास प्रदान गर्छ ।
पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको हालैको भारत भ्रमणले दुवै देशले उच्च तहमा संलग्नतालाई दिने निरन्तर महत्वलाई प्रतिबिम्बित गरेको छ । प्रधानमन्त्री श्री नरेन्द्र मोदी, राष्ट्रिय सुरक्षा सल्लाहकार श्री अजित डोभाल, विदेशमन्त्री डा. एस जयशंकर, गृहमन्त्री श्री अमित शाह, वरिष्ठ अधिकारीहरू र राजनीतिक नेतृत्वसँगको बैठकले एउटा सरल सत्यलाई जोड दियो : समग्र सहयोगलाई अगाडि बढाउनका लागि निरन्तर संवाद नै सबैभन्दा विश्वसनीय मार्ग हो । यस्तो संलग्नताको महत्व केवल औपचारिक शिष्टाचार (प्रोटोकल)मा मात्र होइन, बरु यसको उद्देश्यमा निहित छ । नेतृत्वको वास्तविक परीक्षा भिन्नताहरू अवस्थित छन् कि छैनन् भन्ने होइन, बरु नेताहरूमा ती भिन्नताले सम्बन्धलाई परिभाषित नगरून् भन्ने कुरा सुनिश्चित गर्ने आत्मविश्वास र राज्यकौशल (स्टेट्सम्यान्सिप) छ कि छैन भन्ने हो ।
निष्कर्ष : भारत–नेपाल सीमा इतिहास र भूगोल दुवैद्वारा आकारिएको छ । नदीहरूले आफ्नो मार्ग परिवर्तन गर्छन्, बस्तीहरू विकसित हुन्छन् र खेतीपातीको ढाँचा परिवर्तन हुन्छ । त्यसैले सीमा व्यवस्थापनका लागि निरन्तर सहयोग, राजनीतिक प्रतिबद्धता र आपसी विश्वास आवश्यक पर्छ । सीमाहरू प्रायः बाह्य ऐतिहासिक शक्तिको विरासतलाई प्रतिबिम्बित गरेको क्षेत्रमा, भारत र नेपालसँग दिगो छिमेकी सम्बन्ध सार्वभौम संवाद, साझा हित र एक–अर्काको स्थिरता, समृद्धि र मर्यादाप्रतिको अटल प्रतिबद्धताका माध्यमबाट निर्माण हुन्छन् भनेर देखाउने अवसर छ ।
आज, सामाजिक सञ्जाल प्रधानमन्त्री शाहको वक्तव्यको सार वा श्री रवि लामिछानेसँग भारतको संलग्नतालाई बुझ्नभन्दा तर्कहरू जित्नमा बढी इच्छुक देखिन्छ । दुवैतर्फका मानिस शब्द र दृश्यहरू (अप्टिक्स)को विश्लेषण गरिरहेका छन् जबकि उनीहरू सबैले एउटा ठुलो सत्यलाई बेवास्ता गरिरहेका छन् : शताब्दियौँदेखिको सभ्यतागत, सांस्कृतिक र पारिवारिक सम्बन्ध साझा गर्ने दुई देशसँग विश्वासको एउटा अद्वितीय भण्डार छ । साझा सभ्यताले सीमा व्यवस्थापनको आवश्यकतालाई हटाउँदैन, यसले संवाद र दिगो समाधानका लागि जग प्रदान गर्छ । नेपालभर बसेको, काम गरेको, यात्रा गरेको, प्रार्थना गरेको र सिकेको व्यक्तिका रूपमा, हिमालय, दर्शनशास्त्र र अनगिन्ती मानवीय सम्बन्धद्वारा आकारिएको सम्बन्धलाई प्रतिस्पर्धी कथ्यहरूमा मात्र संकुचित गरिनुपर्छ भन्ने कुरा म स्वीकार गर्न सक्दिनँ । जतिसुकै उत्तेजक अभिव्यक्तिहरू आए पनि वा तथ्यहरूलाई जतिसुकै अनुमानमा तोडमरोड गरिए पनि, सम्बन्धको यो जहाज अगाडि बढ्नैपर्छ । साझा सभ्यतागत चेतनाले नेताहरूलाई त्यो चिज दिन्छ जुन सन्धिहरूले मात्र दिन सक्दैनन्– विश्वास, जुन कूटनीतिको सबैभन्दा मूल्यवान मुद्रा हो । हिमालयले हाम्रो भूगोललाई परिभाषित गर्न सक्छ, तर विश्वासले हाम्रो भविष्यलाई परिभाषित गर्नेछ ।
(श्रीकान्त वित्तीय, भूराजनीतिक, सुरक्षा विश्लेषक र भारत–नेपाल सम्बन्धकी पर्यवेक्षक हुन्)