इरान संकट र रणनीतिक खेल सिद्धान्तका आयाम

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

अहिलेको इरान संकटमा रणनीतिक खेल सिद्धान्तका केही प्रमुख ढाँचा विशेष महत्वपूर्ण छन् । पहिलो हो ‘गलपासो युद्ध’, जहाँ कुनै एक पक्षले पनि आफ्नो निर्णय एकतर्फी बदलेर फाइदा लिन सक्दैन । दोस्रो हो ‘भाले युद्ध’, जहाँ जसले पहिले हात झिक्छ उसले हार्छ, तर दुवै नहटे दुवैले ठुलो मूल्य चुकाउनुपर्छ । तेस्रो हो ‘थकान युद्ध’, जसमा कमजोर तर प्रतिबद्ध पक्षले शक्तिशाली पक्षको स्रोत सकाएर अन्ततः जित्छ । चौथो हो ‘बारम्बारको खेल’ वा ‘सतरञ्ज खेल’, जसमा एउटै खेल बारम्बार खेलिन्छ र पक्षहरूले अघिल्ला दौडको इतिहास हेरेर रणनीति बदल्छन् । इरान मुख्यतः यी पछिल्ला दुई ढाँचा, थकान युद्ध र बारम्बारको खेल (सतरञ्ज खेल) मार्फत एउटा निश्चित बिन्दुसम्म टिकिरहने कोसिस गरिरहेको देखिन्छ ।

इरानको आत्मरक्षा : इरानले वर्षौंदेखि एक परिष्कृत बहुस्तरीय रणनीति अपनाउँदै आएको छ । पहिलो तहमा इरानले आफ्नो परमाणु कार्यक्रमलाई जसले पहिले हात झिक्छ, उसले हार्छ भन्ने नीतिका रूपमा प्रयोग गर्दै आएको छ । परमाणु क्षमता बढाउँदै जाने तर प्रत्यक्ष टकरावको सीमा नाघ्न नदिने नीति हो । यो परम्परागत भाले युद्ध हो । यदि इरानले परमाणु हतियार बनायो भने इजरायल र अमेरिका चुप बस्दैनन्, तर यदि पश्चिमले आक्रमण गर्यो भने इरान पनि पछि हट्दैन । दुवैको विनाश निश्चित भएकाले कुनै पनि पक्ष पहिले ‘स्टेयरिङ’ घुमाउन तयार हुँदैन । यसको सन्तुलन कायम राख्न इरानले एकातिर कूटनीतिक च्यानल सधैँ खुला राख्यो, अर्कातिर हिज्बुल्लाह, हुथी र हमासजस्ता प्रोक्सी शक्तिमार्फत क्षेत्रीय प्रभाव विस्तार गर्यो ।

दोस्रो तहमा थकान युद्ध र सतरञ्ज खेलअन्तर्गत इरानले विभिन्न मोर्चाबाट विपक्षलाई आर्थिक र सामरिक रूपमा थकाउने उद्देश्य राखेको छ । यो तयारी कम्तीमा चार दशक (सन् १९८६ देखि) देखि भइरहेको देखिन्छ । एकल मोर्चामा हार्नु इरानको अन्तिम हार होइन । प्रत्येक दौडमा प्रतिद्वन्द्वीलाई उसको खर्च बढाउन बाध्य पार्नुचाहिँ महत्वपूर्ण हो । इरानको लक्ष्य अमेरिका–इजरायल गठबन्धनलाई वैश्विक ऊर्जा बजार, आन्तरिक राजनीतिक समर्थन र गठबन्धनको एकतामा यति धेरै खर्च गराइदिनु छ कि निरन्तर लडाइँको फाइदा वार्ताको फाइदाभन्दा कम होस् । इरानले मध्यपूर्वमा चलाएको प्रोक्सी युद्धदेखि हजारौँ संख्यामा निर्मित सस्तो तर उन्नत मिसाइल तथा ड्रोन यसैका अंश हुन् ।

तेस्रो तहमा हर्मुज जलमार्ग हो । यो साँघुरो समुद्री मार्गबाट ठुलो परिमाणको तेल आपूर्ति हुन्छ । इरानको यसलाई बन्द गर्ने धम्की मात्रले पनि वैश्विक ऊर्जा बजारमा कम्पन आउँछ । यो भालेयुद्धअन्तर्गत खाडलको किनारसम्म जाने तर आफू नखस्ने ‘सीमा रणनीति’को उत्कृष्ट उदाहरण हो । चौथो तहमा खाडी देशमाथि दबाब कूटनीतिको दोसाँधे गलपासो लगाउनु हो । इरानको ड्रोन र मिसाइल प्रहारले खाडी देशलाई यस्तो अवस्थामा राखेको छ, जहाँ न इजरायल तथा अमेरिकाको पूर्ण समर्थन सम्भव छ, न इरानको खुला प्रतिरोध । इरान चाहन्छ, खाडी देशहरू हालको पक्षधरता परिवर्तन गर्न बाध्य बनून् । यो दोसाँधे गलपासो नीतिको बहुपक्षीय सफल प्रयोग हो ।

अमेरिका र इजरायलको जवाफी रणनीति : अमेरिकाले इरानको सैन्य क्षमता कमजोर पार्दै खुला जमिनी आक्रमण र वैश्विक आर्थिक महाविनाश दुवैबाट जोगिने नियन्त्रित रणनीति अपनाएको छ । इरानका मिसाइल प्रक्षेपक, वायु रक्षा प्रणाली र कमान्ड केन्द्र लक्षित गरी सैन्य अभियान सञ्चालन भइरहेका छन् । यस युद्धमा अमेरिकाको उद्देश्य गलपासोको अवस्था तोड्नु हो, अर्थात् इरानलाई यति कमजोर पार्ने कि उसले आफ्नो वर्तमान रणनीति परिवर्तन गर्नु नै फाइदाजनक देखोस् । तर, यहाँ एउटा गम्भीर रणनीतिक असन्तुलन देखिएको छ । अमेरिकाले आफ्ना उपलब्ध ‘थाड’जस्ता इन्टरसेप्टरहरूको उल्लेख्य हिस्सा खर्च गरिसकेको छ, जबकि इरानको मिसाइल उत्पादन दर अमेरिकाको प्रतिस्थापन दरभन्दा तीव्र छ । यो ठ्याक्कै थकान युद्धको गणित हो, जहाँ कमजोर तर प्रतिबद्ध पक्षले शक्तिशाली पक्षको स्रोत सकाएर जित्छ । यस्तो स्थितिमा खेलको गणितीय हिसाब केही वर्षका लागि फेरि पनि इरानकै पक्षमा देखिन्छ ।

इजरायलका थप रणनीतिक हतियार : अब्राहम अकर्डको विस्तारअन्तर्गत युएई, बहराइन र सुडानसँग सामान्यीकरण सम्झौतापछि इजरायलले साउदी अरेबियालाई पनि यही ढाँचामा तान्ने प्रयास गरिरहेको छ । यसको उद्देश्य इरानलाई कूटनीतिक घेरामा पार्नु हो, जुन गलपासो खेलको अंश हो । साइबर हमलामार्फत इजरायलले इरानको नतान्ज परमाणु संयन्त्रका सेन्ट्रिफ्युजहरू नष्ट गरिदियो । अमेरिकासँग मिलेर इरानमाथिको प्रतिबन्धलाई थप कडा गर्ने र तेल निर्यात शून्यमा झार्ने रणनीति थकान युद्धको आर्थिक मोर्चा हो ।

साउदी अरेबिया र युएईसँग अनौपचारिक सैन्य समन्वय बढाएर इजरायल इरानविरुद्ध बहुपक्षीय घेरा तयार गर्न चाहन्छ, जसमा इरानको कुनै पनि एकतर्फी आक्रामक कदमले सामूहिक प्रतिक्रियाको जोखिम निम्त्याउँछ । यी चार रणनीतिलाई हेर्दा तीन सिद्धान्तको समन्वय देखिन्छ, गलपासो युद्ध, घाटा फल खेल र थकान युद्ध । तर, यो संयुक्त रणनीतिमा इजरायलको एउटा गम्भीर कमजोरी छ, रणनीतिहरू समन्वितभन्दा समानान्तर छन् र इरानले यही असमन्वयको फाइदा उठाइरहेको छ ।

इरानमा नेतृत्व उन्मूलनको प्रभाव : नेतृत्व उन्मूलनको सैन्य तर्क आकर्षक देखिन्छ, किनभने यसले विजय छिटो हुने आभास दिन्छ, तर बारम्बारको खेलको रणनीतिक तर्क प्रायः उल्टो हुन्छ । जब विरोधीको कमान्ड संरचना नष्ट गरिन्छ, उसको जिम्मेवारी वहन गर्ने, शत्रु पक्षसँग संवाद गर्ने र विषयप्रति प्रतिबद्ध हुने क्षमता हटेर जान्छ, अर्थात् खेल अन्त्य गर्ने संयन्त्र नै हराउँछ । रणनीतिकार थोमस स्केलिङको तर्कअनुसार शक्तिशाली विरोधीलाई पनि बाहिर निस्कने बाटो छोड्नुपर्छ, अन्यथा प्रतिरोध झन् बढ्छ र एउटा संरचना नष्ट गर्दा त्यसको ठाउँमा अझ विखण्डित तर उत्तिकै खतरनाक संरचना उम्रन्छन् ।

यो विरोधाभास अहिले इरानमा व्यापक देखिँदै छ । इस्लामिक रेभोलुसनरी गार्ड कोर्प्सका कमान्डरहरू आआफ्नै स्रोत र स्वविवेकमा स्वतन्त्र रूपले युद्ध मैदानमा सक्रिय छन् । यो विकेन्द्रित संरचना इरानले पूर्वनियोजित रूपमा इराक, लिबिया र अफगानिस्तानका घटना हेरेर निर्माण गरेको थियो, ताकि शत्रुले केन्द्रीय नेतृत्व नष्ट गरे पनि लडाइँ जारी रहोस् । इरानले यो ‘मोजाइक डक्ट्रिन’ सन् १९९७ देखि सोच्न थाल्यो, २००३ इराक युद्ध तथा लिबिया घटनापछि यसलाई व्यावहारिक रूप दियो ।

बहुपक्षीय खेलको जटिलतामा रुस र चीनको रणनीति : यो संघर्ष कहिल्यै द्विपक्षीय थिएन । कम्तीमा चौध सहभागी भएको जटिल बहुपक्षीय खेल हो, रुस, चीन, जिसिसी देश, हुथी, हिज्बुल्लाह, हमासदेखि तुर्कियेसम्म सबैले आआफ्नै हिसाबमा यो खेल खेलिरहेका छन् । रुसले इरानलाई अमेरिकी युक्रेन नीतिको बदलामा गुप्त सहयोग दिइरहेको छ, ‘जस्तालाई त्यस्तै’ भन्ने नीतिको प्रयोग हो यो । साथै, हर्मुज जलमार्ग बन्द हुँदा उच्च तेल मूल्यबाट रुसले युद्धका लागि अतिरिक्त नाफा कमाइरहेको छ । बेइजिङले इरानको ऊर्जामा भविष्यको अधिकार सुरक्षित गरेको छ, इरान जिते सस्तो तेल, इरान हारे अमेरिकासँग व्यापारिक सम्बन्ध जोगाउने दाउ ।

हर्मुजमार्फत अमेरिकी रणनीतिको सम्भावित ढोका : हर्मुज जलमार्ग लामो समय बन्द हुँदा एसियामा ऊर्जा संकट उत्पन्न भएको देखिए पनि यसका गहिरा भूराजनीतिक आयाम छन् । जापान, कोरिया र भारतजस्ता देशको तेल आयात ठप्प हुँदा उत्पादन र यातायात प्रभावित हुन्छ । सबैभन्दा ठुलो धक्का चीनलाई लाग्छ । दैनिक दसौँ लाख ब्यारेल तेल अभावमा चिनियाँ कारखाना बन्द हुन्छन् र चिनियाँ पैसा (युआन) स्वतः कमजोर हुन्छ ।

यहाँ दुई फरक खेल सिद्धान्त एकसाथ सक्रिय हुन्छन् । पहिलो, हर्मुज बन्द हुँदा इरान, अमेरिका, इजरायल र चीन सबैलाई एकसाथ हानि पुग्छ । दोस्रो, तर यही संकटभित्र अमेरिकाका लागि एउटा नयाँ अवसर लुकेको छ, त्यो हो चीनको आर्थिक क्षति ठ्याक्कै अमेरिकाको सापेक्षिक भूराजनीतिक लाभमा रूपान्तरित हुन्छ, जुन डोनाल्ड ट्रम्पको मागा नीतिको एउटा हिस्साका रूपमा समाहित हुन आउँछ ।

ऐतिहासिक मानव चेतनाको प्रयोग र सामूहिक सचेत त्याग : इजरायलका लागि यस संघर्षको सबैभन्दा सुविचारित परिदृश्य निर्णायक विजयमा होइन, बरु एउटा थकित र अस्थिर आंशिक युद्धविरामका रूपमा समाप्त हुन सक्छ, जहाँ इरान कमजोर, सायद आन्तरिक रूपमा विखण्डित, तर परमाणु हतियार अप्रसार नीतिप्रति कम प्रतिबद्ध हुने अवस्था आउन सक्छ ।

इरान समयको खेल खेलिरहेको छ भने अमेरिका र इजरायल परिणामको खेल । दुवैले आआफ्नो स्वार्थमा खेल्दाखेल्दै अन्ततः बारम्बारको खेलको (सतरञ्ज) अवस्थामा फर्कनेछन् । यसरी परस्पर अविश्वासले दुवैलाई हानिकारक विकल्पतर्फ धकेलिरहेको छ । दीर्घकालीन शान्ति केवल सैन्य विजयबाट होइन, साझा नैतिक चेतना र संस्थागत सहकार्यबाट आउने गर्छ । 

रणनीतिक खेल सिद्धान्तको सबैभन्दा महत्वपूर्ण पाठ यो हो कि युद्धमा जित्नु मात्र पर्याप्त छैन । खेल कसरी र कहिले अन्त्य गर्ने भन्ने जान्नु पनि उत्तिकै महत्वपूर्ण छ । जब सबै चाल समाप्त हुन्छन् र विनाश मात्र बाँकी रहन्छ, त्यहीँबाट मानव चेतनाको नयाँ यात्रा सुरु हुन्छ । दुवै पक्षले यस्तो खेल अनन्त मान्छन् भने सहकार्य पनि अनिवार्य रूपमा सम्भव बनाइनुपर्छ । अमेरिकालाई थाहा छ, इरान अर्को शताब्दी पनि रहन्छ । इरानलाई पनि थाहा छ, इजरायल पनि रहन्छ । यही भविष्यको छाया नै कूटनीतिक समाधानको दीर्घकालीन आधार हो ।

यस आधारमा मध्यपूर्वको यथार्थवादी विकल्प भनेको ‘चेतनशील त्याग सन्तुलित शान्ति मोडल’ हो । यो मोडल कुनै बाह्य दबाबले होइन, उनीहरूको आन्तरिक मानव चेतनाको जागरणले मात्र सम्भव हुन्छ । पहिलो चरणमा इरानले आफ्नो आणविक हतियारको महत्वाकांक्षा र क्षेत्रीय प्रोक्सी रणनीति औपचारिक रूपमा त्याग्नुपर्छ भने अमेरिका र इजरायलले इरानको अस्तित्वलाई स्विकार्दै आर्थिक नाकाबन्दी तत्काल हटाउनुपर्छ । दोस्रो चरणमा इजरायलले आफ्ना छिमेकी देशसँग बाध्यकारी शान्तिकामी सीमा सम्झौता गर्नुपर्छ । यो इजरायलका लागि कमजोरी होइन, साझा ऐतिहासिक चेतनाबाट निर्मित नयाँ युगको सुरुवात हो ।

तेस्रो चरणमा मध्यपूर्वमा इजरायल, इरानसहित दर्जनौँ देशको शान्ति गठबन्धन निर्माण गर्नुपर्छ, जसलाई संयुक्त राष्ट्र संघले स्वामित्व ग्रहण र अन्तर्राष्ट्रिय समुदायले स्वागत गरोस् । 

निष्कर्ष : इतिहासले बारम्बार सिकाएको छ कि युद्धको अन्तिम विजेता कहिल्यै हतियार होइन, चेतना हो । इरान संकटमा रणनीतिक खेल सिद्धान्तका सबै ढाँचा, गलपासो युद्ध, भाले युद्ध र थकान युद्धले एउटै सत्य उजागर गर्छन्, परस्पर विनाशको गणितमा कोही विजेता हुँदैन ।

त्यसैले, अब आवश्यकता छ, ऐतिहासिक चेतनशील त्याग र सन्तुलित शान्ति मोडलको । यो मोडल कुनै आदर्शवादी कल्पना होइन, यो खेल सिद्धान्तकै अनिवार्य सर्तमा आधारित मध्यपूर्वको यथार्थवादी विकल्प हो । जब सबै चाल समाप्त हुन्छन् र विनाश मात्र बाँकी रहन्छ, त्यहीँबाट मानव चेतनाको नयाँ यात्रा सुरु हुन्छ । मध्यपूर्वले त्यो यात्रा कहिले सुरु गर्ला ? यद्यपि, अहिले दुवै पक्षबिच युद्धविरामको सहमति भएका समाचार आइरहेका छन्, तर हस्ताक्षर भने भइसकेको अवस्था छैन ।

(डा. पोखरेल राजनीति, भूराजनीति र अनुसन्धानका क्षेत्रमा कलम चलाउँछन्)
 

सुझावित समाचार