बाजुरा र हुम्ला जिल्लाको सीमाक्षेत्रमा पर्ने रानीसैन–लाम्पाटामा उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन सरकारले संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको छ । बाजुराको हिमाली गाउँपालिका– ३, लाम्पाटामा शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सुरक्षा बेस स्थापना गरी काम थालेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण सुरु गरेपछि दुई जिल्लाका स्थानीयबिच सीमा, जडीबुटी संकलन र चरण क्षेत्रको स्वामित्वलाई लिएर विवाद चर्किएको थियो । विवादले उग्र रूप लिएपछि केन्द्रीय सुरक्षा समितिको बैठकले विवादित क्षेत्रमा केन्द्रमातहत रहने गरी संयुक्त सुरक्षा फौज परिचालन गर्ने निर्णय गरेको थियो ।
बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार बाजुरा सदरमुकाम मार्तडीबाट तीन दिनको पैदल दूरीमा रहेको लाम्पाटामा २८ सदस्यीय टोली खटाइएको छ । टोलीमा सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको कमान्डमा २१ जना र नेपाल प्रहरीका सहायक निरीक्षक (असइ) मिट्ठुबहादुर बोहराको कमान्डमा सातजना छन् । संयुक्त टोलीले आगामी तीन महिनासम्म लाम्पाटा र रानीसैन क्षेत्रमा बसेर नियमित गस्ती तथा सुरक्षा निगरानी गर्नेछ । टोलीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाटै सिधा निर्देशन र आवश्यक समन्वय भइरहेको प्रशासनले जनाएको छ ।
सुरक्षा फौज तैनाथ भएसँगै लाम्पाटा र रानीसैन क्षेत्रको शान्तिसुरक्षाको अवस्था सामान्य बन्दै गएको सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलले बताए । आक्रमण र आगजनीपछि त्रसित बनेर थातथलो छोडेका भोटे समुदायका स्थानीयहरू पुनः गाउँ फर्कन थालेका छन् ।
के थियो घटनाको पृष्ठभूमि ?
यसअघि ३ जेठमा हुम्लाका स्थानीयले लाम्पाटा पुगेर हिमाली गाउँपालिका– ३ का वडासदस्य पेमागारा गुरुङसहित स्थानीयलाई कुटपिट गरी बन्धक बनाएपछि विवाद सुरु भएको थियो । सोही क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पुगेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोलीलाई ५ जेठमा लखेट्नुका साथै सोही दिन हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लसहितको टोलीमाथि आक्रमण भएको थियो ।
झडपमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडासदस्य गुरुङसहित केही स्थानीय र सुरक्षाकर्मी घाइते भएका थिए । विवादकै निरन्तरता स्वरूप २३ जेठमा हुम्लाका बासिन्दाले रानीसैन क्षेत्रमा बसोबास गर्ने बाजुराका भोटे समुदायमाथि दुव्र्यवहार गर्दै उनीहरूका गोठमा आगजनी गरेका थिए । घटनापछि पीडितले दोषीलाई कारबाहीको माग गर्दै सदरमुकाम मार्तडी र कर्णाली करिडोरसमेत बन्द गराई आन्दोलन गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख शैलेश्वरी बोहराका अनुसार लाम्पाटा घटनामा संलग्न हुम्लाका २३ जना आरोपीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । बाजुरा र हुम्ला दुवै जिल्लाका प्रहरी टोलीले फरार आरोपीको तीव्रताका साथ खोजी गरिरहेको उनले बताइन् ।