हेटौँडामा पाँच वर्षमा २५० किमि सडक विस्तार

शिक्षा र स्वास्थ्यका पूर्वाधारमा पनि उल्लेख्य लगानी

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिकाले पछिल्लो पाँच वर्षमा दुई सय ५० किमिभन्दा बढी सडक विस्तार गरेको छ । सडक तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उपमहानगरमा गाभिएका साबिकका गाउँ विकास समितिलाई सहज यातायात पहुँचसँग जोड्ने उद्देश्यले पाँच वर्षमा दुई सय ५० किमिभन्दा बढी सडक निर्माण तथा स्तरोन्नति गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरको योजना कार्यान्वयन शाखाका अनुसार आर्थिक वर्ष ०७७/७८ देखि ०८१/८२ सम्मको अवधिमा २४८.५४ किमि सडकमा कंक्रिट (स्ल्याब) ढलान गरिएको छ भने ७.९७ किमि सडक कालोपत्रे गरिएको छ । यसबाहेक ५.८८ किमि नयाँ सडक ट्र्याक खोलिएको र ११.१० किमि सडक ग्राभेल गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका गठनका क्रममा साबिकका हटिया, हर्नामाडी, चुरियामाई, पदमपोखरी र बसामाडी गाविस समेटिएका थिए । ती क्षेत्रका अधिकांश सडक कच्ची र वर्षायाममा आवतजावत गर्न कठिन हुने अवस्था रहेकाले उपमहानगरले सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै स्तरोन्नतिको अभियान अघि बढाएको योजना कार्यान्वयन शाखाका प्रमुख किरण थापाले जानकारी दिए ।

उनका अनुसार आव ०७७/७८ मा ४१.७१ किमि, ०७८/७९ मा ५२.७१ किमि, ०७९/८० मा ७३.१९ किमि, ०८०/८१ मा ५६.२८ किमि र ०८१/८२ मा २५ किमि सडकमा कंक्रिट ढलान गरिएको छ । यस्तै, कालोपत्रे सडकतर्फ आव ०७७/७८ र ०७८/७९ मा समान १.५–१.५ किमि, ०७९/८० र ०८०/८१ मा २.२५–२.२५ किमि तथा चालू आर्थिक वर्षमा ४७ मिटर सडक कालोपत्रे गरिएको प्रमुख थापाले जानकारी दिए ।

उपमहानगरले सडक निर्माणसँगै शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी तथा धार्मिक संरचनाको विकासमा समेत लगानी गरेको छ । पाँच वर्षको अवधिमा एक सय ४१ वटा शैक्षिक पूर्वाधार, एक सय १५ वटा सामुदायिक पूर्वाधार, २५ वटा स्वास्थ्य पूर्वाधार, ४४ वटा खानेपानी आयोजना तथा ४८ वटा पर्यटनसम्बन्धी संरचना निर्माण गरिएको योजना कार्यान्वयन शाखा प्रमुख थापाले बताए ।

उनका अनुसार ७९ वटा गुम्बा, दुई सय ७२ वटा मन्दिर, ६१ वटा तटबन्धन, १९ वटा सिँचाइ आयोजना, ४५ वटा सार्वजनिक शौचालय तथा ६३ वटा सामुदायिक भवन निर्माण सम्पन्न गरिएको छ । पानीको निकास व्यवस्थापनलाई सुधार गर्न पाँच वर्षको अवधिमा ४५ वटा ढल तथा नाला निर्माण गरिएको उपमहानगरले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।

साथै, विभिन्न क्षेत्रमा १३ वटा कल्भर्ट निर्माण गरी यातायात तथा बर्सेनि हुने अवरोध न्यूनीकरण गर्ने प्रयास गरिएको पनि जनाइएको छ । उपमहानगर प्रमुख मीनाकुमारी लामाले नगरलाई व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउन समग्र पूर्वाधार विकासमा केन्द्रित भएर काम भइरहेको बताइन् । उनका अनुसार स्वास्थ्य र शिक्षाका क्षेत्रमा पूर्वाधार अभावका कारण सेवा प्रवाह प्रभावित भइरहेको गुनासो हटाउन उपमहानगरले विशेष प्राथमिकताका साथ लगानी गरिरहेको छ ।

See More On

सुझावित समाचार