कांग्रेसमा ६ लाख ८८ हजारले गरे क्रियाशील सदस्यता अद्यावधिक

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल कांग्रेसका ६ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यले सदस्यता अद्यावधिक गरेका छन् । जसमध्ये पाँच लाख ३८ हजार ६२२ क्रियाशील सदस्यहरूले एनसी आइडी कार्ड प्राप्त गरिसकेको र एक लाख ४९ हजार ३०९ जना क्रियाशील सदस्यहरूले पेस गरेको स्वयं अद्यावधिक फाराम डिजिटल प्रणालीमा प्रविष्ट भई वडा तहमार्फत अद्यावधिकको प्रक्रियामा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जनाएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनमा आठ लाख ८२ हजार ८१६ क्रियाशील सदस्य थिए । तीमध्ये १५ महाधिवेशनका लागि गत पुससम्म नवीकरण, नयाँ सदस्य बनेका र अद्यावधिक गर्न योग्य संख्या सात लाख ८२ हजार २०९ रहेको कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेहीका अनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समितिको शनिबार बसेको बैठकले अनलाइनमार्फत प्रविष्ट भएका फाराम वडा तहबाट ५ असारभित्र अनुमोदन गरिसक्न निर्देशन दिएको छ ।

महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको संयोजकत्वमा बसेको बैठकको निर्णयमा भनिएको छ, ‘अनलाइनमार्फत प्रविष्ट भएका फाराम वडा तहबाट असार ५ गतेभित्र अनुमोदन गरिसक्न सदस्यता व्यवस्थापन केन्द्रीय समिति निर्देश गर्दछ । तोकिएको समयसीमाभित्र वडा तहबाट अनुमोदन नभएमा विधानबमोजिम क्रियाशील सदस्यता प्राप्त गर्न/नवीकरण गर्न योग्य सदस्यहरूलाई केन्द्रले स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाइनेछ ।’ इन्टरनेटको पहुँच अति कम भएका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी जिल्लाका केही पालिकाहरू तथा क्रियाशील सदस्यता अद्यावधिक ढिलाइ भएका बारा र खोटाङ जिल्लाका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय ७ असारसम्म कायम गरिएको छ ।

विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्न १० असारसम्मको समय दिइएको छ । क्रियाशील फाराम तथा अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरण २० असारसम्म कायम गरिएको छ ।

क्रियाशील सदस्यता नवीकरण गरी अद्यावधिक गरिएका र नयाँ क्रियाशील सदस्यता वितरण गर्दा बुझाउनुपर्ने विधानबमोजिम तोकिएको शुल्क नबुझाई अद्यावधिक भएको वा नयाँ क्रियाशील सदस्यता प्रविष्टी गर्दा शुल्क नबुझाएको भए त्यस्ता क्रियाशील सदस्यहरूलाई यथाशीघ्र शुल्क बुझाउन लगाउन सम्बन्धित तहका सभापतिहरूलाई समितिले निर्देशन दिएको छ । तोकिएको शुल्क नबुझाउने क्रियाशील सदस्यले १५औँ महाधिवेशन प्रक्रियामा भाग लिन नपाउने पनि समितिले स्पष्ट पारेको छ । क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र विविध कारणले वडाबाट नवीकरण र अद्यावधिक गर्न छुट हुन गएको भए सोको निरन्तरतासहित अद्यावधिक गर्न चाहने क्रियाशील सदस्यहरूले २० असारभित्र आफू क्रियाशील सदस्य रहेको प्रमाणसहित केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय पनि बैठकले गरेको छ । 

सुझावित समाचार