संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो तनाव र निरन्तर आक्रमणले क्षेत्रीय शान्ति तथा युद्धविराम प्रयासलाई गम्भीर चुनौती दिएको भन्दै सम्बन्धित सबै पक्षलाई कूटनीतिक माध्यमबाट समाधान खोज्न आह्वान गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुटेरेसले मध्यपूर्व लामो समयदेखि द्वन्द्वको चपेटामा परेको उल्लेख गरेका छन्। उनले हालका सैन्य गतिविधिले स्थिति झन् जटिल बन्दै गएको र यसको असर क्षेत्रभन्दा बाहिरसम्म फैलिन सक्ने चेतावनी दिएका छन्।
महासचिव गुटेरेसले कुनै पनि पक्षले थप आक्रामक गतिविधि नगरी संयमता अपनाउनुपर्नेमा जोड दिएका छन्। उनले तनाव न्यूनीकरणका लागि सबै पक्षले संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्ने भन्दै अब कुनै पनि बहानामा सैन्य आक्रमण स्वीकार्य नहुने बताएका छन्।
यसैबिच, मध्यपूर्व र खाडी क्षेत्रमा बढ्दो तनावका कारण कुवेत, जोर्डन र बहराइनले आफ्नो हवाई सुरक्षा प्रणाली उच्च सतर्कतामा राखेका छन्। विभिन्न हवाई लक्ष्यहरू रोक्न सकिने चेतावनीसमेत जारी गरिएको जनाइएको छ।
इरानी अधिकारीहरूले अमेरिकी आक्रमणको प्रतिक्रियास्वरूप स्ट्रेट अफ होर्मुज बन्द गर्ने घोषणा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)लाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डासहित विभिन्न अमेरिकी सैन्य संरचनालाई सम्भावित लक्ष्य बनाइएको उल्लेख गरेका छन्।
तनाव बढिरहेका वेला आइआरजिसीका कमान्डर जनरल सैयद माजिद मौसवीले स्ट्रेट अफ होर्मुजको सुरक्षामा कुनै खतरा उत्पन्न भए त्यसले सम्पूर्ण क्षेत्रलाई द्वन्द्वको मैदानमा परिणत गर्न सक्ने चेतावनी दिएका छन्।