राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत सुरु भएको निर्वाचन प्रक्रिया विवादमा तानिएपछि अधिवेशन नै स्थगित गरिएको छ । मतदाता नामावली, उम्मेदवार सूची र मतपत्रमा देखिएका त्रुटिका विषयमा विवाद चर्किएपछि मतदान सुरु भएको करिब आधा घण्टामै निर्वाचन रोकिएको हो ।
हेटौँडा– १ स्थित हिमालयन दरबारमा मंगलबार राति करिब १:३० बजे मतदान सुरु गरिएको थियो। निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरी सभापति र प्रदेश सदस्य पदका लागि मतदान प्रक्रिया अघि बढाएको थियो । तर, मतदान सुरु भएको केही समयमै प्रतिनिधिहरूले विभिन्न विषयमा आपत्ति जनाएपछि निर्वाचन प्रक्रिया अवरुद्ध बनेको हो।
निर्वाचन समितिका अनुसार मतदान सुरु भएपछि करिब पाँचजनाले मात्र मत खसालेका थिए । त्यसपछि मतदाता नामावली र उम्मेदवारहरूको विवरणसम्बन्धी विषयमा विवाद उठेपछि मतदान रोकिएको थियो। अधिवेशनमा सहभागी प्रतिनिधिहरूका अनुसार भक्तपुर जिल्लासम्बन्धी मतदाता नामावली तथा उम्मेदवारहरूको विवरण स्पष्ट रूपमा सार्वजनिक नगरिएको विषयलाई लिएर विवाद सुरु भएको थियो। निर्वाचन क्षेत्र र क्लस्टरअनुसार उम्मेदवारहरूको नामावलीमा त्रुटि रहेको दाबी गर्दै प्रतिनिधिहरूले निर्वाचन समितिको ध्यानाकर्षण गराएका थिए।
विवाद चर्किएसँगै अधिवेशनस्थलमा नाराबाजी र होहल्ला भएको थियो। केही प्रतिनिधिहरूले निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका थिए भने केही मतपत्र च्यातिएको आरोपसमेत लागेको छ।स्थिति तनावपूर्ण बनेपछि निर्वाचन समितिले सुरुमा बुधबार बिहान ८ बजेसम्म मतदान कार्यक्रम स्थगित गरेको घोषणा गरेको थियो। तर, त्यसपछि पनि विवाद समाधान हुन नसकेपछि निर्वाचन समितिले सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
अधिवेशनमा सहभागी एक नेताका अनुसार निर्वाचन समितिले कार्यक्रमस्थल खाली गर्न निर्देशन दिएको थियो। समितिको निर्देशनपछि नेपाल प्रहरीले हिमालयन दरबारपरिसर खाली गराएको थियो। बुधबार दिउँसोसम्म अधिकांश प्रतिनिधिहरूले कार्यक्रमस्थल छाडिसकेका थिए।
यसैबिच, रास्वपाको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको जनाएको छ। आयोगका अनुसार मतपत्रमा देखिएका त्रुटि सच्याउन, मतदाता नामावलीको अन्तिम प्रमाणीकरण गर्न, समायोजन सूचीसँग सम्बन्धित उजुरीहरूको टुंगो लगाउन तथा निर्वाचन व्यवस्थापनलाई थप व्यवस्थित बनाउन समय आवश्यक परेकाले कार्यक्रम स्थगित गरिएको हो।
निर्वाचन आयोगले अधिवेशन रद्द नभएको स्पष्ट पारेको छ। आयोगका प्रमुख भुवन केसीले नयाँ निर्वाचन कार्यक्रम मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै सार्वजनिक गरिने जानकारी दिएका छन्। यद्यपि, अधिवेशन पुनः कहिले सञ्चालन हुने भन्ने मिति भने तोकिएको छैन।
रास्वपा बागमती प्रदेशको सभापति पदका लागि चारजना उम्मेदवार प्रतिस्पर्धामा छन्। नुवाकोटका डा. अच्युतम लामिछाने, मकवानपुरका उत्सव अर्याल, धादिङका कृष्णमान श्रेष्ठ र रामेछापका हरिबहादुर (एचबी) खत्री अन्तिम प्रतिस्पर्धामा रहेका छन्। प्रारम्भिक रूपमा पाँचजनाले उम्मेदवारी दिएका भए पनि काभ्रे २ का प्रतिनिधिसभा सदस्य बदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चारजना मैदानमा उत्रिएका हुन्।
त्यस्तै, प्रदेश सदस्य पदका लागि ८८ जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिले खुला, महिला, दलित, अल्पसंख्यक तथा अन्य समावेशी समूहका आधारमा उम्मेदवारहरूको वर्गीकरण गरेको छ। रास्वपाको विधानअनुसार बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश कार्यसमिति चयन गरिनेछ।
समितिमा एक सभापति, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता तथा सदस्यहरू रहने व्यवस्था छ। सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य हुनुपर्ने प्रावधान छ। रास्वपाले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको हो। प्रदेशका १३ जिल्लाबाट करिब एक हजार दुई सय प्रतिनिधि अधिवेशनमा सहभागी भएका छन्।