- आगामी मौद्रिक नीतिमा यही सस्तो ब्याजदरको उपयोग गरेर बजार चलायमान बनाउने र महँगी नियन्त्रण गर्ने दोहोरो चुनौती राष्ट्र बैंकले सामना गर्नुपर्नेछ
राष्ट्र बैंक आगामी मौद्रिक नीतिको तयारीमा जुटिरहेका वेला चालू आर्थिक वर्ष ०८२/८३ को १० महिना (वैशाख मसान्तसम्म)को देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक भएको छ । तथ्यांकअनुसार बाह्य क्षेत्रको अधिक सुविधा कायमै छ । तर, सुस्त बजार मागले पनि निरन्तरता पाएको छ ।
राष्ट्र बैंकको तथ्यांकले बैंकमा पैसा थुप्रिएर ब्याजदर निकै सस्तो हुँदा पनि बजारमा ऋणको माग बढ्न नसकेको प्रस्टसँग देखाएको छ । भान्साको महँगी गत वर्षको तुलनामा केही बढेको देखिन्छ । आगामी मौद्रिक नीतिमा यही सस्तो ब्याजदरको उपयोग गरेर बजार चलायमान बनाउने र महँगी नियन्त्रण गर्ने दोहोरो चुनौती राष्ट्र बैंकले सामना गर्नुपर्नेछ ।
चालू आवको १० महिनामा महँगी केही नियन्त्रणमा देखिए पनि गत वर्षको तुलनामा वैशाखमा बजार मूल्य बढेको छ । ०८३ वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता महँगी ५.०४ प्रतिशत पुगेको छ । गत वर्षको वैशाखमा यो दर २.७७ प्रतिशत मात्रै थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी ४.६३ प्रतिशत (गत वर्ष १.५२ प्रतिशत थियो) र गैरखाद्य तथा सेवा समूहको महँगी ५.२६ प्रतिशत (गत वर्ष ३.४५ प्रतिशत थियो) छ । फलफूलको मूल्य सबैभन्दा बढी १८.६० प्रतिशतले बढेको छ । यस्तै, घिउ तथा तेल १३.९९ प्रतिशत, तरकारी ५.४० प्रतिशत र माछा–मासुको मूल्य ४.१६ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडीको मूल्य १.६७ प्रतिशत र मरमसलाको मूल्य ०.६५ प्रतिशतले घटेको छ ।
अर्थतन्त्र सुरक्षित देखाउने सूचक
अर्थतन्त्रको मुख्य आधार रेमिट्यान्स बलियो बन्दै
रेमिट्यान्स आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । चालू आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा रेमिट्यान्स जम्मा १३.३ प्रतिशतले मात्र बढेको थियो । डलरमा रेमिट्यान्स प्रवाह ३३ प्रतिशतले बढेर २४ अर्ब १९ करोड डलर पुगेको छ । वैशाख महिनामा मात्रै दुई खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स देश भित्रिएको छ । गत वर्षको वैशाखमा एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ मात्रै आएको थियो ।
विदेशी विनिमय सञ्चिति इतिहासकै बलियो अवस्थामा
विदेशी सामान आयात गर्न र अन्तर्राष्ट्रिय भुक्तानीका लागि चाहिने विदेशी मुद्राको सञ्चिति (डलरको ढुकुटी) अहिले अत्यन्तै बलियो स्थितिमा छ । देशसँग कुल ३७ खर्ब चार अर्ब ५५ करोड रुपैयाँबराबरको विदेशी विनिमय सञ्चिति छ । अमेरिकी डलरमा यो २४ अर्ब १९ करोड डलर हुन्छ । अहिले भएको विदेशी मुद्राले १९.२ महिना (करिब साढे १९ महिना)को वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।
शोधनान्तर बचत साढे आठ खर्ब, चालू खाता पनि बचतमा
देश भित्रिने र बाहिरिने रकमको अन्तर अर्थात् शोधनान्तर स्थिति आठ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ बचतमा छ । त्यस्तै, चालू खाता पनि सात खर्ब २९ अर्ब २८ करोड रुपैयाँ बचतमा रहेको छ । जसले देशको बाह्य अर्थतन्त्र सुरक्षित रहेको देखाउँछ ।
कर्जा प्रवाहमा क्रमशः सुधार, बैंकमा निक्षेप भने ९० खर्ब
बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जामा पनि क्रमशः सुधार भइरहेको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वार्षिक विन्दुगत आधारमा ६.७ प्रतिशतले मात्र बढेको छ । १० महिनामा ५.७ प्रतिशतको वृद्धि भएको छ । तर, निक्षेपमा भएको वृद्धिको तुलनामा भने कर्जाको वृद्धिदर सन्तोषजनक होइन । वाणिज्य बैंकहरुमा कुल ७९ खर्ब ४९ अर्ब २८ करोड रुपैयाँ निक्षेप थुप्रिएर बसेको छ । त्यस्तै यो अवधिमा ५८ खर्ब नौ अर्ब ७१ करोड कर्जा प्रवाह भएको छ ।
आयात १४.८ प्रतिशत र निर्यात १४.२ प्रतिशत वृद्धि
आयात १४.८ प्रतिशतले र निर्यात १४.२ प्रतिशतले बढेको छ । आयात १४ खर्ब ९२ अर्ब रुपैयाँबराबरको भएको छ भने निर्यात दुई खर्ब ४८ अर्ब रुपैयाँबराबरको भएको छ ।