राष्ट्रिय स्वतन्त्र पार्टी अछामको जिल्ला सभापतिमा ओमप्रकाश रावल दोहोरीएका छन्। सर्वसम्मत रूपमा रावल पुन: सभापति बनेका हुन्। सभापति पदका अर्का दाबेदार निर्वाचन क्षेत्र नम्बर–२ का सभापति जीवनकुमार तिमिल्सिनाले रावललाई समर्थन गरेपछि उनले फेरि मौका पाएका हुन्।
पार्टीको उपसभापतिमा टंक धामी चयन भएका छन्। धामी नेपाली कांग्रेस पार्टी छाडेर तीन दिनअघि मात्रै रास्वपा प्रवेश गरेका थिए। क्षेत्रीय सभापति तिमिल्सैनाका अनुसार सचिव पदका लागि सेतीराम भण्डारी र बमबहादुर रावलबिच सहमतिको प्रयास भइरहेको छ।
भण्डारी सुरुदेखि नै रास्वपामा सक्रिय छन् भने रावल ६ दिनअघि नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी रास्वपा प्रवेश गरेका हुन्। अन्य पदाधिकारीबारे पनि बन्द सत्रमा छलफल भइरहेको तिमिल्सेनाले बताए। उनका अनुसार राति नै सबै पदमा सहमति भइसक्ने सम्भावना छ।