राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले रास्वपालाई प्रदेश र स्थानीय सत्तामा पुर्याउने गरी प्रचारमा लाग्न आग्रह गरेका छन्। मंगलसेनमा आयोजित पार्टीको प्रथम अछाम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शाहले यस्तो आग्रह गरेका हुन्।
अब हुने प्रदेश र स्थानीय तहको चुनावमा रास्वपा प्रदेश र स्थानीय तहको चुनाव लड्दै छ भन्ने प्रचार गर्न गाउँ जान उनले नेता-कार्यकर्तालाई आग्रह गरे। धेरै नबोल्ने, तर काम गरेर देखाउने पार्टीको नीति रहेको भन्दै शाहले रास्वपाको काम हेरेर यो पार्टीमा आबद्ध हुन आग्रह गरे। महामन्त्री शाहले काम धेरै र कुरा थोरै गर्नुपर्ने भन्दै करिब दुई मिनेटमै आफ्नो मन्तव्य सकेका थिए।
रास्वपाका जिल्ला सभापति ओमप्रकाश रावलको अध्यक्षतामा भएको प्रथम जिल्ला अधिवेशनमा कांग्रेस जिल्ला कार्यसमिति सदस्य तथा मंगलसेन–६ का निवर्तमान वडाध्यक्ष जनकराज भण्डारी, व्यवसायी शिवबहादुर बिसीलगायत दर्जन बढी व्यक्तिहरु रास्वपा प्रवेश गरेका छन्। नयाँ नेतृत्वका लागि रास्वपा अछामले अहिले बन्दसत्रमा छलफल गरिरहेको छ।