विपत् प्रतिरोधी समाज निर्माण गर्न प्रदेश सरकार कटिबद्ध : मुख्यमन्त्री यादव

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकार विपत् व्यवस्थापनका क्षेत्रमा सबै निकायसँग सहकार्य गर्दै विपत् प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध रहेको बताएका छन्।

शुक्रबार सर्लाहीको बागमती नगरपालिका– ११, कर्मैयास्थित बागमती नदीकिनारमा आयोजित ‘अभ्यास हातेमालो’ आठौँ संस्करण २०८३ मा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्राकृतिक विपत्तिबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि प्रदेश सरकार सक्रिय रहेको बताए। उनले विपत् व्यवस्थापन तथा उद्धार कार्यमा सुरक्षा निकायसँग समन्वय गरी प्रभावकारी कार्ययोजना कार्यान्वयन गरिने उल्लेख गरे।

मुख्यमन्त्री यादवले मधेश प्रदेशले विगतमा भोगेका प्राकृतिक विपत्ति तथा त्यसबाट भएको जनधनको क्षतिको समीक्षा गर्दै भविष्यका लागि आवश्यक योजना तयार गरिने बताए। उनले प्राकृतिक विपत्तिका वेला आमनागरिकको जीवन र सम्पत्तिको संरक्षणमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसासमेत गरे। सरकारले नीतिगत निर्णय गर्ने भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ थियो।

कार्यक्रममा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नागरिकको जनधनको सुरक्षाका लागि सरकार सदैव सचेत रहेको बताए। यस्ता अभ्यास तथा तालिमलाई व्यापक बनाउन सके सुरक्षा निकायको दक्षता अभिवृद्धि हुने र विपतका समयमा त्यसको प्रभावकारी उपयोग गर्न सकिने उनको भनाइ थियो।

मधेश प्रदेश प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको र हरेक वर्ष ठुलो संख्यामा नागरिक प्रभावित हुने गरेको मन्त्री महतोले उल्लेख गरे। प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले मध्यपूर्वी पृतना र मधेश प्रदेश सरकारको संयुक्त आयोजनामा ‘अभ्यास हातेमालो’ कार्यक्रम सञ्चालन गरिएको पृतनापति भुवन खत्रीले जानकारी दिए। उनका अनुसार यो कार्यक्रमको आठौँ संस्करण हो।

कार्यक्रममा अर्थमन्त्री युवराज भट्टराई, ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, बागमती नगरपालिका– ११ का वडाध्यक्ष प्रदीप आचार्य, चन्द्रपुर नगरपालिका– १ का वडाध्यक्ष बलराम राउत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुख, मधेश प्रदेशका विभिन्न गणका सेना प्रमुखहरू र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

‘अभ्यास हातेमालो’अन्तर्गत नेपाली सेनाले आगलागी, बाढी, डुबानलगायत प्राकृतिक विपत्तिका समयमा गरिने उद्धार तथा राहत कार्यको प्रदर्शन गरेको थियो। कार्यक्रममा उपस्थित मुख्यमन्त्री यादवसहित अन्य अतिथिहरूले उक्त अभ्यासको अवलोकन गरेका थिए। कार्यक्रमले विपत् व्यवस्थापनमा सुरक्षा निकायको तयारी, समन्वय र दक्षता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।

सुझावित समाचार