भुक्तानीसम्बन्धी कामका लागि लाइसेन्स प्राप्त कम्पनीहरूमा पाँच प्रतिशतभन्दा बढीको सेयर खरिद गर्दा खरिदकर्ताको आपराधिक पृष्ठभूमि खुलाउनुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकअन्तर्गतको भुक्तानी प्रणाली विभागले भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरेको हो ।
निर्देशनमा संस्थाको सञ्चालन, व्यवस्थापन वा काम–कारबाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व हुने, नियन्त्रण गर्ने वा सहभागी हुने वा सोको वास्तविक धनी वा हिताधिकारीका वित्तीय गैरकानुनी आर्जन वा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आपराधिक संलग्नता सम्बन्धमा खुलाउनुपर्ने भनिएको छ ।
चुक्ता पुँजीको पाँच प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढीको सेयर वा पुँजी लगानी वा खरिद गर्दा, संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पद वा तहमा नियुक्ति वा मनोनयन गर्दा र पाँच प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढीको सेयर वा पुँजीमा वास्तविक धनी वा हिताधिकारी रहँदा विवरण खुलाउनुपर्ने भएको हो ।