सन् १८६३ : गेटिसबर्गमा लडिएको अमेरिकी गृहयुद्धको सबैभन्दा रक्तपातपूर्ण तथा निर्णायक भिडन्त तीन दिनपछि यसै दिन अन्त्य भयो । ५० हजारको ज्यान गएको यस भिडन्तमा अब्राहम लिंकन नेतृत्वको युनियन सेनाले जित हासिल गरेको थियो भने अलग राष्ट्र घोषणा गरेको दक्षिण भेग हार्ने पक्काजस्तै भयो ।
सन् १७७५ : जर्ज वासिंटनले अमेरिकी स्वतन्त्र पक्षधरले निर्माण गरेको सैन्य बल ‘कन्टिनेन्टल सेना’को नेतृत्व सम्हाले ।
सन् १९२८ : जोन लोगी बेयर्डले लन्डनमा विश्वमै पहिलोपटक रंगीन टेलिभिजन प्रसारण प्रदर्शन गरेर देखाए ।
सन् १९६२ : अल्जेरियामा फ्रान्सको शासनविरुद्ध आठ वर्षदेखि जारी सशस्त्र विद्रोह स्वरुप यस दिन स्वतन्त्र हुने पक्का भयो । यद्यपि औपचारिक घोषणा भने दुई दिनपछि जुलाई ५ मा भयो ।
सन् १९९० : छिमेकी आइभेरी कोस्टबाट लाइबेरिया पसेका विद्रोही राजधानी प्रवेश गर्न लागेपछि तत्कालीन लाइबेरियाली राष्ट्रपति स्यामुयल कान्योन डोईले राजीनामा दिने घोषणा गरे । तरन विद्रोहीले उनलाई नियन्त्रणमा लिएर हत्या गरे ।
सन् १९९२ : रंगभेदी नीतिका कारण सन् १९६१ मा फिफाबाट निष्कासित दक्षिण अफ्रिका राजनीतिक परिवर्तनपछि पुनः सो संगठनको सदस्य बन्यो ।
सन् १९९६ : ब्रिटिस संसद्ले देशका राजारानीले राज्याभिषेकका क्रममा प्रयोग गर्दै आएको ‘स्टोन अफ डेस्टिनी’ लुटिएको सात सय वर्षपछि स्कटल्यान्ड नै फिर्ता गर्ने निर्णय गर्यो ।
सन् २०१३ : इजिप्टका सेना प्रमुख अब्देल फतेह अल–सिसीले निर्वाचत राष्ट्रपति मोहम्मद मोसीलाई अपदस्त गरे ।
सन् २०१४ : जर्मनीले देशको इतिहासमा पहिलोपटक न्यूनतम ज्याला कानुन लागू गर्यो । कानुनले श्रमिकलाई प्रतिघण्टा ८.५ युरोभन्दा घटी ज्याला दिन नपाउने व्यवस्था गरेको थियो ।