- उत्पादन बेचेर ऋण तिर्ने, घरखर्च चलाउने र अर्को खेतीको तयारी गर्ने योजनामा रहेका किसान अहिले अन्योलमा
- किसान भन्छन्– अहिलेको मूल्यमा मकै बेच्दा लागत उठाउन पनि मुस्किल
उत्पादन गरेको मकै बिक्री गर्ने समय आए पनि रौतहटका किसान निराश बनेका छन् । केही दिनअघि प्रतिक्विन्टल दुई हजार आठ सय रुपैयाँमा मकै किन्ने सहमति गरेका व्यापारीले अहिले मूल्य घटाएर २६ सय रुपैयाँ मात्र प्रस्ताव गर्न थालेपछि किसान निराश बनेका हुन् । त्यसमाथि तयारी अवस्थामा रहेको मकै उठाउनसमेत व्यापारीले आनाकानी गर्न थालेपछि किसानको चिन्ता झन् बढेको छ ।
चन्द्रपुर नगरपालिका– २ का किसान दिल्लीबहादुर कार्कीले एक साताअघि व्यापारीले मकै खरिदका लागि बोरा छाडेर गएको स्मरण गर्दै अहिले भने मूल्य घटाएर मात्रै किन्ने सर्त राखेको बताए । ‘पहिला २८ सय रुपैयाँमा किन्छु भनेर बोरा छाडेर गएका थिए, अहिले २६ सय रुपैयाँमा दिने भए मात्र लैजान्छु भन्छन्,’ उनले भने, ‘हामीले मकै सुकाएर तयारी अवस्थामा राखेका छौँ, तर व्यापारीकै कारण बेच्न सकिरहेका छैनौँ ।’
रौतहटका विभिन्न गाउँमा यतिवेला किसानले मकै भिœयाएर सुकाउने, छानेर बोरामा प्याक गर्ने काम सकिसकेका छन् । तर, बिक्रीको समयमा बजारमा देखिएको सुस्तताले किसानलाई अप्ठ्यारोमा पारेको छ । उत्पादन बेचेर ऋण तिर्ने, घरखर्च चलाउने र अर्को खेतीको तयारी गर्ने योजनामा रहेका किसान अहिले अन्योलमा छन् । चन्द्रपुर– २, जुडीवेलाका किसान शम्भु खड्काले मकै बिक्री नहुँदा ठुलो समस्या भएको बताए । उनका अनुसार घरमा थुपारेर राखिएको मकै लामो समयसम्म सुरक्षित राख्न पनि कठिन छ । ‘मकै सुकाएर तयारी अवस्थामा राखेको धेरै दिन भइसक्यो,’ उनले भने, ‘व्यापारीले समयमा नउठाउँदा पानी परे भिज्ने डर छ । फेरि गुणस्तर घट्यो भने झन् घाटा हुन्छ ।’
किसानका अनुसार खेतीको लागत बर्सेनि बढ्दै गएको छ । मल, बिउ, विषादी, सिँचाइ, मजदुरीदेखि ढुवानीसम्म सबै खर्च बढेको छ । तर, उत्पादनको मूल्य अपेक्षाअनुसार बढ्न सकेको छैन । सन्दपुरका किसान राजन तिमल्सिनाले अहिलेको मूल्यमा मकै बेच्दा लागत उठाउनै मुस्किल हुने बताए । ‘सबै चिजको भाउ बढेको छ, तर मकैको मूल्य भने उही छ,’ उनले भने, ‘दुई–चार सय रुपैयाँ घटेर बिक्री गर्नुपर्दा हाम्रो नाफा त परको कुरा, लागत नै उठाउन गाह्रो भएको छ ।’
किसानका अनुसार केही व्यापारीले सुरुमै उच्च मूल्यको आश्वासन दिएर मकै खरिदको तयारी गरेका थिए । त्यसैअनुसार किसानले अन्य विकल्प नहेरी मकै रोकेर राखे । तर, अहिले बजारमा मूल्य घटेको भन्दै व्यापारी पछि हट्न थालेका छन् । यसले किसानलाई थप समस्यामा पारेको छ । यता स्थानीय मकै व्यवसायी राधेश शाहले समस्या किसान र व्यापारीबिचको मात्रै नभई उद्योगसम्म जोडिएको बताए । उनका अनुसार दाना उद्योगहरूले मकै बोकेर पुगेका ट्रक खाली गर्न नै पाँच दिनसम्म लगाउने गरेका छन् । उद्योगको सुस्त खरिद प्रक्रियाका कारण व्यापारीले पनि नयाँ मकै उठाउन कठिनाइ भोगिरहेका छन् । ‘पहिलाजस्तो उद्योगहरूले तुरुन्तै मकै लिँदैनन्,’ शाहले भने, ‘लोड भएर गएका गाडी नै धेरै दिनसम्म रोकिन्छन् । त्यसैले नयाँ मकै उठाउन समस्या भइरहेको छ ।’
कृषि प्रधान जिल्ला मानिने रौतहटमा मकै नगदे बालीका रूपमा स्थापित हुँदै गएको छ । धान र गहुँपछि किसानको आम्दानीको महत्वपूर्ण स्रोत बनेको मकैले यस वर्ष भने राहतभन्दा बढी चिन्ता दिएको छ । बजारमा मूल्य घट्नु, व्यापारीको ढिलासुस्ती र वर्षायाम नजिकिँदै जानुले किसानमाथि थप दबाब सिर्जना गरेको छ ।
किसान अब स्थानीय सरकार र सम्बन्धित निकायले बजार व्यवस्थापनमा चासो दिनुपर्ने बताउँछन् । उत्पादन भइसकेपछि उचित मूल्य नपाउने र बिक्रीका लागि समेत संघर्ष गर्नुपर्ने अवस्था रहेसम्म कृषि पेसाप्रति आकर्षण घट्ने उनीहरूको भनाइ छ । यतिवेला रौतहटका गाउँ–गाउँमा बोरामा भरिएका मकै बिक्रीको प्रतीक्षामा छन् । तर, मूल्य घट्ने र वर्षाको पानीले उत्पादन बिग्रिने डरले किसान निराश छन् ।