कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गर्ने समय उपलब्ध नगराई पारित गराएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपाका सांसदले कोशी प्रदेश सभामा अवरोध गरेका छन्।
मंगलबार सभामुख अम्मरबहादुर विष्टले नीति तथा कार्यक्रममाथिको संशोधनमा प्रतिपक्षलाई बोल्न समय नै नदिई पारित गरेको भन्दै नेकपाका सांसदले बुधबारको बैठकमा उठेर विरोध गरेका हुन्।
प्रतिपक्षीले विरोध गरे पनि सभामुख विष्टले ‘हिजोका कुरातिर नजाऔँ, अब म आजको कार्यसूचीअनुसार छलफल अगाडि बढाउँछु। तपाईंहरू बस्नोस्’ भनेर संसद् बैठक अगाडि बढाउन खोजेपछि पूर्वमुख्यमन्त्री तथा नेकपाका सांसद राजेन्द्र राई दौडेर रोस्टममा पुगेर बोल्न खोजेका थिए। एक्कासि सांसद राई रोस्टममा पुगेपछि मर्यादापालकहरूले उनलाई तानेर तल झारेका थिए। तानातानका क्रममा सांसदहरूले बोल्ने पोडियमको माइकसमेत भाँचिएको छ।
प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर आङ्बोले संशोधनको समय नपाएसम्म सदनको प्रक्रिया अगाडि बढ्न नदिने बताएका छन्। प्रतिपक्षी सांसदहरूले नीति तथा कार्यक्रमबारे विरोध गर्दै संसदमा हंगामा गरेपछि कोशी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ।
हिजो मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि प्रतिपक्ष दलका १५ जना सांसदले आलोचनात्मक धारणा राखेका थिए। तर, छलफल समाप्त भएपछि सरकारका तर्फबाट मुख्यमन्त्री वा मन्त्रीले निर्णयार्थ प्रस्तुत गर्न अनुरोध गर्ने संसदीय परम्परा र विधेयकको शैलीविपरीत सभामुख विष्टले सिधै निर्णयार्थ पेस गरेर बहुमतले नीति तथा कार्यक्रम पारित गराएको प्रतिपक्षको आरोप छ।
प्रतिपक्षले विरोध गरे पनि आज बुधबारको बैठकमा पनि नीति तथा कार्यक्रमबारे कुनै कार्यसूची नराखी सोझै आर्थिक मामिलामन्त्री विदुर लिङथेपलाई विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तबारे छलफल गराउने प्रस्ताव राखेपछि प्रतिपक्षी सांसदहरू आक्रोशित बनेका थिए।