नेपाली कांग्रेसका सभापति गगन थापाले गत २४ भदौमा भएको विध्वंशको घटना छानबिन गर्न तत्काल न्यायिक समिति गठन गर्न माग गरेका छन्। शनिबार बिहान विराटनगरस्थित कोइरालानिवासमा पत्रकारहरूसँगकाे भेटमा सभापति थापाले थापाले २३ भदौको घटनामा भइरहेको कानुनी कारबाहीमा कांग्रेसको समर्थन रहे पनि २४ गतेको ध्वंसात्मक घटनामा भएको धनजनको क्षतिको विषयलाई सरकारले ओझेलमा पार्न खोजेको आरोप लगाए।
उनले भने, ‘२३ भदौको घटनामा सरकारले गरिरहेको छानबिन र कारबाहीमा हामीले समर्थन गरेको, तर २४ को घटना छानबिनका लागि न्यायिक आयोग बन्नुपर्छ भन्ने हाम्रो माग छ।’ सभापति थापाले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सरकारले जानीजानी लुकाएको आरोप लगाउँदै संवैधानिक र कानुनी व्यवस्थाअनुसार उक्त प्रतिवेदन तत्काल सार्वजनिक गरेर कार्यान्वयन गर्न माग पनि गरे।
शुक्रबार सुनसरीको लौकहीमा भएको कांग्रेसको प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका सभापति थापा शनिबार बिहान विराटनगरस्थित कोइरालानिवासमा आएर पत्रकार भेटघाट गरेका हुन्।