कानुन र कलाको भेट

अधिवक्ताहरू वकालतसँगै गीत–संगीत क्षेत्रमा पनि सक्रिय छन्

शनिबार, ९ जेठ, २०८३
डिजिटल संस्करण
  • गीत लेखन र वकालत दुवै अभिव्यक्तिका माध्यम हुन् । फरक यति मात्र हो, अदालतमा दृष्टिकोण कडा र औपचारिक हुन्छ, गीतमा त्यही अनुभूति कलात्मक रूपमा प्रस्तुत हुन्छ ।

अदालतको बहस, कानुनी तर्क र व्यस्त पेसागत जीवनका बाबजुद पनि केही कानुन व्यवसायी नेपाली गीत–संगीतमा सक्रिय छन् । उनीहरूले कानुन र कलालाई सँगसँगै अघि बढाउँदै फरक पहिचान बनाएका छन् । संवेदना, प्रेम, समाज र जीवनका कथा गीतमार्फत अभिव्यक्त गरिरहेका यस्ता स्रष्टाहरूले नेपाली सांगीतिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् । 

डा. भीमार्जुन आचार्य
वकालत क्षेत्रमा परिचित नाम हो डा. भीमार्जुन आचार्य । उनी गीत–संगीतमा उत्तिकै सक्रिय छन् । आफ्ना गीतमार्फत मानवीय संवेदना, देशप्रेम र जीवनका अनुभूतिहरूलाई अभिव्यक्त गर्छन्, उनी । उनका लागि संगीत केवल रुचि मात्र होइन, जीवनसँग गाँसिएको आत्मिक अभ्यास हो । बाल्यकालदेखि नै सिर्जनामा रुचि राख्ने उनी अहिले पनि दिनको सुरुवात संगीत रियाजबाट गर्छन् । ‘इच्छाशक्ति भयो भने समय व्यवस्थापन ठुलो कुरा हुँदैन । कानुन र संगीत दुवै जीवनका अभिन्न पक्ष बनेका छन्,’ उनी भन्छन् ।

उनले अहिलेसम्म चारवटा एल्बम सार्वजनिक गरिसकेका छन्  ‘मौनताको सहर’, ‘सजिलो हुँदैन जीवन’, ‘एउटा जीवन’ र ‘अतीत’ । उनका गीतहरू केवल मनोरञ्जनका माध्यम होइनन्, जीवनका अनुभूति र समाजका यथार्थसँग जोडिएका अभिव्यक्ति हुन् । आचार्यका अनुसार गीत सिर्जनाको मूल स्रोत जीवनको भोगाइ हो । उनी आफूले भोगेका अनुभव मात्र होइन, अरूका पीडा र अनुभूतिलाई पनि आत्मसात् गरेर गीत लेख्ने गर्छन् । ‘संविधान, राष्ट्र र राष्ट्रियताको अध्ययन गर्दै जाँदा समाज र देशलाई अझ गहिरो रूपमा अनुभूत गर्न थालेँ,’ उनी भन्छन्, ‘त्यसैले मेरा गीतमा देशभक्ति, समाज र जीवनका संवेदनाहरू स्वतः आउँछन् ।’

उनी शब्द र संगीत दुवैमा निकै सचेत छन् । आफूले लेखेका वा अरूका सिर्जनामा बनेका गीतलाई समेत पटक–पटक परिमार्जन गरेर मात्र सार्वजनिक गर्ने उनको स्वभाव छ । ‘गीत सुन्नलायक मात्र होइन, अर्थपूर्ण पनि हुनुपर्छ’ उनी भन्छन्, ‘त्यसका शब्द र संगीतले समाजको वास्तविकता र जीवनका भोगाइलाई प्रतिबिम्बित गर्नुपर्छ ।’

व्यस्त कानुनी जीवनका बिच पनि संगीतसँगको सम्बन्ध कहिल्यै टुट्न नदिएको उनी बताउँछन् । ‘गीत सुन्दै लेख्ने र पढ्ने बानीले संगीतलाई सधैँ नजिक राखेको छ । संगीत एउटा ‘थेरापी’ पनि हो, जसले मन र सोचलाई सन्तुलित राख्न मद्दत गर्छ ।’ उनी भन्छन् ।

उनको अत्यन्त प्रिय गीतमध्ये एक हो, ‘जित्नेलाई मिठो जीवन, हार्नेलाई तितो जीवन, वास्तवमै थाहै हुन्न के हो जीवन’ । यो गीतसँग उनको व्यक्तिगत संवेदना गहिरोसँग जोडिएको छ ।

संविधान र संगीत दुवै फरक संसारजस्ता देखिए पनि आचार्यका लागि यी एक–अर्काका पूरक हुन् । कानुनले समाज बुझ्न सिकाएको छ भने संगीतले त्यस समाजको संवेदना अनुभूत गराएको छ । त्यसैले उनी भन्छन्,‘जीवनबाट संविधान, कानुन र संगीत अलग हुनै सक्दैन ।’

शीतल पाण्डे
कानुन व्यवसाय र संगीत दुवै क्षेत्रमा सक्रिय छिन् शीतल पाण्डे । दुई क्षेत्रलाई उनले समानान्तर रूपमा अघि बढाइरहेकी छिन् । अदालतको औपचारिक बहस र कानुनी अभ्यासको व्यस्तताबिच उनी संगीतमा आफ्नो संवेदना, अनुभूति र शान्ति खोज्छिन् । आधुनिक गीतमार्फत २०६८ सालदेखि गायनलाई अघि बढाइन् । हालसम्म उनले आधुनिक, भजन, राष्ट्रिय तथा तिजका डेढ दर्जनभन्दा बढी गीत सार्वजनिक गरिसकेकी छिन् । कानुन अध्ययन गर्नुअघि नै संगीतमा लागेको उनी सुनाउँछिन् ।

उनको पहिलो गीत ‘ढुंगा होइन तिमीलाई’ बजारमा ल्याइन् । उक्त गीतको शब्द उनले आफैँले लेखेकी हुन् । त्यसयता उनले केही गीत आफैँ लेख्ने, संगीत भर्ने र गाउने कामसमेत गरिन् । जसमध्ये ‘छटपटाइरहेँ, सोधेनौ के भो भनी’ र ‘छाया बनेर तिम्रो पछिपछि म आउँला’जस्ता गीतमा उनको स्वर मात्र होइन, संगीत संयोजनसमेत गरेकी छिन् । ०७१ सालमा उनले ‘शीतल’ एल्बम निकालिन्, जसमा छवटा आधुनिक गीत समावेश छन् ।

पछिल्लो समय भने उनले लोकपप शैलीका गीतमा पनि स्वर दिएकी छिन् । हालै सार्वजनिक भएको ‘गाली नि मिठो’ बोलको गीतले प्रेम सम्बन्धका रमाइला अनुभूति र आत्मीयतालाई प्रस्तुत गर्छ । उनका गीतहरूमा प्रेम, आत्मीयता, जीवनका अनुभूति र महिला संवेदनाका विषय मुखर रूपमा प्रस्तुत हुन्छन् । कानुनी पेसामा भेटिने मानिसका कथा, संघर्ष र भावनालाई गीतमार्फत अभिव्यक्त गर्ने प्रयास गर्छिन्, उनी । पाण्डेका अनुसार गीत केवल व्यक्तिगत भावनाको अभिव्यक्ति मात्र होइन, अरूका पीडा र अनुभूतिलाई महसुस गरेर गरिने सिर्जना पनि हो । ‘कानुन व्यवसाय मेरो पेसा हो, गीत–संगीत मेरो प्यासन’, उनी भन्छिन् ‘कानुनी क्षेत्रमा देखेका–भोगेका पीडा, सुस्केरा र संवेदनाहरू संगीतमा आउँछन् । संगीत मेरो थकाइ मेटाउने माध्यम हो ।’

संगीतले आफूलाई भावनात्मक रूपमा जीवन्त बनाइराख्ने उनको अनुभव छ । त्यसैले व्यस्त कानुनी जीवनका बिच पनि बिहान–साँझ घरमै रियाज गर्ने बानी छ, उनको । ‘पूर्णकालीन रूपमा कानुन व्यवसायमै छु । तर, संगीत मेरो साधना हो । फुर्सदमा गुनगुनाउने, रियाज गर्ने र सिर्जना गर्ने क्रम निरन्तर चलिरहन्छ,’ उनी भन्छिन् ।

पाण्डे पछिल्लो समय नेपाली संगीतमा बढ्दो भाइरल संस्कृतिप्रति पनि चिन्तित छन् । उनका अनुसार अहिले गुणस्तरीय र सन्देशमूलक संगीतभन्दा क्षणिक लोकप्रियताका लागि बनाइने गीतहरू चर्चामा आउँछन् । ‘अहिले अरूलाई गाली गर्ने शैलीका गीतहरू भाइरल हुने प्रवृत्ति छ,’ उनी भन्छिन् ‘राम्रो गीत बनाउन ठुलो लगानी गर्दा पनि अपेक्षित रूपमा चल्दैन । तर, संगीतले समाजलाई सकारात्मक दिशा दिनुपर्छ ।’

उनका लागि कानुन र संगीत दुई अलग बाटा भए पनि जीवनका दुई संवेदनशील आयाम हुन् । एउटा पेसाले समाजका यथार्थसँग साक्षात्कार गराउँछ भने अर्कोले ती अनुभूतिलाई स्वर र शब्दमा अभिव्यक्त गर्ने शक्ति दिन्छ । उनी वकालतको थकाइ र तनावलाई संगीतको माध्यमबाट मेटाउँदै अगाडि बढाइरहेकी छिन् ।

राम भट्टराई
कानुन व्यवसायको व्यस्त दैनिकीसँगै गीतलेखनलाई निरन्तरता राख्ने गीतकार हुन्, राम भट्टराई । अदालतको बहस र कानुनी अभ्याससँगै उनले नेपाली गीतमा प्रेम, बिछोड, सामाजिक सम्बन्ध र मानवीय अनुभूतिका कथा लेखिरहेका हुन्छन् । २०५७ सालदेखि कानुन व्यवसायमा सक्रिय भए पनि भट्टराईको गीतलेखन यात्रा त्योभन्दा अघिदेखिकै हो । उनी भन्छन्,‘कानुन व्यवसायी हुनुभन्दा पहिले नै गीत लेख्थेँ । पेसामा आएपछि पनि लेखनलाई छोडिनँ, सँगसँगै अघि बढाएँ ।’

हालसम्म उनले डेढ सयभन्दा बढी गीत सिर्जना गरिसकेका छन् । स्वरूपराज आचार्यको स्वर र वसन्त सापकोटाको संगीत रहेको ‘तिमीविनाको जीवन’ उनका चर्चित सिर्जनामध्ये एक हो, जसले श्रोतामाझ गहिरो प्रभाव छाड्यो ।

त्यस्तै, शम्भु राईले गाएका ‘हिउँजस्तै गोरी’ ‘मार्‍यो नि मायाले’, बेनी मलैमा’ ‘तिम्रो माया छ कति कति’, ‘बाह्र हाते पटुकीले कम्मर कसौँला’जस्ता गीत उनले लेखेका हुन् । गायक राईले गाएका झन्डै दर्जन गीत उनले नै लेखेका छन् । उनले नेपाली चलचित्रका लागि पनि गीत लेखेका छन् । ‘टक्टर दुई मुटुको, ‘आमाको काख’, ‘बन्दी’ ‘पुरानो बुलेट’ र ‘नालापानी’जस्ता चलचित्रमा उनले गीत लेखेका छन् ।

भट्टराईका गीतमा प्रेम, प्रकृति, सम्बन्ध र मानवीय संवेदना भेटिन्छ । उनी आफ्नो सिर्जनाको स्रोत जीवनका भोगाइ र साहित्यिक अध्ययनलाई मान्छन् । ‘मलाई पढ्न धेरै रुचि छ,’ उनी भन्छन्, ‘विभिन्न साहित्यिक कृति पढ्दा त्यहाँका पात्रको दुःख–पीडा र खुसीलाई आफ्नै जस्तो गरी अनुभूत गर्छु, अनि ती अनुभूतिहरू गीतमा आउँछन् ।’

उनका अनुसार गीत सिर्जना केवल व्यक्तिगत अनुभवबाट मात्र जन्मिँदैन, अरूका जीवनका कथा पनि गीतको स्रोत बन्छन् । त्यसैले उनका शब्दहरूमा प्रेमको मिठाससँगै बिछोडको पीडा, सामाजिक सम्बन्धका उतारचढाव र समयको अनुभूति पनि गहिरोसँग व्यक्त हुन्छ । भट्टराईका लागि कानुन पेसा जिम्मेवारी हो भने गीतलेखन आत्मिक संसार । त्यसैले उनका सिर्जनामा केवल शब्द मात्र हुँदैनन्, जीवनका अनेक अनुभूतिहरू पनि भेटिन्छन् ।

रमेश कोइराला 
कानुन व्यवसाय र गीतलेखनलाई एकैसाथ अघि बढाइरहेका अर्का गीतकार हुन्, रमेश कोइराला । उनी गीतमार्फत मानवीय संवेदना, प्रेम र जीवनका अनुभूतिलाई कलात्मक भाषामा व्यक्त गर्छन् । उनी ०४५ सालदेखि नै गीतलेखनमा सक्रिय छन् । त्यसयता उनले करिब एक सयवटा गीत लेखिसकेका छन् भने चारवटा एल्बम पनि स्रोतामाझ ल्याइसकेका छन् । गीतलेखन र वकालत दुवै यात्रा लगभग सँगसँगै सुरु भएको उनी सुनाउँछन् ।

उनका गीतमा नेपाली संगीत क्षेत्रका थुप्रै चर्चित गायक–गायिकाले स्वर दिएका छन् । दीप श्रेष्ठ, ओमविक्रम विष्ट, राजेश पायल राई, स्वरूपराज आचार्यलगायतका चर्चित कलाकारहरूसँग उनको सहकार्य रहँदै आएको छ । गीतप्रति उनको दृष्टिकोण पनि फरक छ । ‘गीतले आफूलाई बोक्नुपर्छ,’ उनी भन्छन्, ‘प्रायः मानिसहरू गीतलाई बोकेर हिँड्छन्, तर राम्रो गीतले श्रोतालाई आफैँभित्र समेट्न सक्नुपर्छ ।’

कोइरालाका अनुसार गीतलेखन र वकालत दुवै अभिव्यक्तिका माध्यम हुन् । फरक यति मात्र हो, अदालतमा दृष्टिकोण कडा र औपचारिक हुन्छ, गीतमा त्यही अनुभूति कलात्मक रूपमा प्रस्तुत हुन्छ । ‘वकालतका क्रममा भेटिने मानिसका पीडा, संघर्ष र अनुभूतिहरू कहिलेकाहीँ गीतमा आउँछन् । गीतमा सीमित शब्दभित्र भावना पोख्नुपर्छ । अदालतमा पनि दृष्टिकोण राखिन्छ, तर गीतमा त्यो अझ कलात्मक हुनुपर्छ,’ उनी भन्छन् ।

उनका गीतहरूमा प्रेम, सम्बन्ध, समाज र जीवनका अनुभूति अभिव्यक्त हुन्छन् । उनी आफूलाई छुने विषय, देखेका घटनाक्रम र भोगाइलाई गीतमा उतार्ने गर्छन् । ‘लेखन दिमागमा उब्जिने कुरा हो । काम गर्ने क्रममा कुनै विषयले छोयो भने त्यसलाई गीतमा उतार्छु ।’ कोइरालाका लागि संगीत मानसिक ताजगीको स्रोत पनि हो ।

हरिराम पौडेल
वकालतसँगै गीतलेखनमा सक्रिय अर्का श्रष्टा हुन्, हरिराम पौडेल । उनले ‘मेरो खुसी मेरा चाह’ गीतिसंग्रह ल्याइसकेका छन् । यसमा ७५ वटा गीत समेटिएका छन्, जसले प्रेम, पीडा र जीवनका सूक्ष्म भावनात्मक आयामलाई समेट्छ । जसमा केही रेकर्ड भइसकेका छन् भने केही रेकर्डिङको प्रक्रियामा छन् ।

उनका गीतहरूलाई पनि विभिन्न गायक–गायिकाले स्वर दिइसकेका छन् । केही समयअघि जगतमर्दन थापाको स्वरमा ‘लालीगुराँस फूलभन्दा राम्रो मलाई केही छैन’ बोलको गीत सार्वजनिक भएको थियो । त्यसबाहेक करिब पाँचवटा गीत रेकर्ड भइसकेका छन् । उनले लेखेको ‘सँगसँगै’ गीतमा एलिना चौहान र किरण भुजेलको स्वर रहेको छ, भने ‘पिरतीको गीतमा’ गायिका बबिना भट्टराईले स्वर दिएकी छिन् ।

पौडेलका गीतहरूमा प्रेम, सम्बन्ध, सामाजिक जीवन र मानवीय संवेदनाका विविध पक्ष भेटिन्छन् । उनी गीतलाई केवल मनोरञ्जन होइन, समाजसँग संवाद गर्ने शक्तिशाली माध्यमका रूपमा हेर्छन् ।
 

सुझावित समाचार