उदयपुरको कटारी र गाईघाटमा दर्ताविनै मासु पसल सञ्चालन

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

उदयपुरको सदरमुकाम गाईघाट र प्रमुख व्यापारी केन्द्र कटारी बजारमा दर्ताविनै मासु पसल सञ्चालन हुने गरेको पाइएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले भेटेरेनरी नियमन कार्यक्रमअन्तर्गत गत बुधबार र बिहीबार कटारी तथा गाईघाट बजार क्षेत्रमा अनुगमन गर्दा यस्तो पाइएको हो । संयुक्त बजार अनुगमनका क्रममा विशेषगरी सदरमुकाम गाईघाट क्षेत्रका अधिकांश मासु पसल कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको पाइएको हो । अनुगमनका क्रममा मासु पसल, डेरी, भेटेरेनरी औषधि पसल, माछा पसल तथा दाना सप्लायर्सहरूको अवस्था निरीक्षण गरिएको थियो। 

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका कार्यालय प्रमुख शुक्रराज लिम्बूका अनुसार कटारी बजारका २७ र गाईघाट बजारका १४ गरी कुल ४१ वटा व्यवसायमा अनुगमन गरिएको थियो । विशेषगरी मासु पसलहरू स्थानीय तह तथा सम्बन्धित निकायमा दर्ता नगरी सञ्चालन भएको पाइयो । दर्ता गर्नका लागि चेतावनी दिएका छौँ । 

अनुगमन टोलीका सदस्य मीन सुवेदीका अनुसार निरीक्षण गरिएका व्यवसायमध्ये २५ वटा मासु पसल, आठवटा डेरी, पाँचवटा भेटेरेनरी औषधि पसल, दुईवटा माछा पसल र एउटा दाना सप्लायर्स रहेका थिए । अनुगमनका क्रममा कतिपय व्यवसायमा सरसफाइ अभाव, दर्ता प्रमाणपत्र नहुनु, मूल्यसूची नराखिनु तथा तोकिएको मापदण्डविपरीत व्यवसाय सञ्चालन भइरहेको भेटिएको जनाइएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्यवस्तु बिक्री गर्ने व्यवसाय कानुनी मापदण्डअनुसार सञ्चालन हुनुपर्ने भए पनि कतिपय व्यवसायीले त्यसप्रति बेवास्ता गरेको अनुगमन टोलीको भनाइ छ । 

यसैबिच, कटारी नगरपालिका– ४ मा सञ्चालित ‘प्रपोज सप्लायर्स’बाट म्याद गुज्रिएको कुखुराको दाना फेला परेको थियो । अनुगमन टोलीले पसलमा रहेका २४ बोरा म्याद नाघेको दाना बरामद गरी नष्ट गरेको जनाएको छ । म्याद सकिएको दाना प्रयोग वा बिक्री हुँदा पशु स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले तत्काल नष्ट गर्न निर्देशन दिइएको लिम्बूको भनाइ छ ।                                                                                                                                                                                                                                                                                                                        
 

सुझावित समाचार