अध्यागमनको डिजिटल टाइम कार्ड, सेवाग्राहीले जुनसुकै ठाउँबाट आफ्नो कामको प्रगति विवरण हेर्न सक्ने

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

अध्यागमन सेवासँग सम्बन्धित सेवाग्राहीले आफ्नो कामको प्रगति विवरण संसारको जुनसुकै कुनाबाट हेर्न सक्ने भएका छन्। अध्यागमन विभागले डिजिटल टाइम कार्ड (डिटिसी) प्रणाली कार्यान्वयनमा ल्याएपछि यस्तो हुने भएको हो।

यसका लागि सेवाग्राहीले विभागबाट उपलब्ध क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ। सोही कोडमा सेवाग्राहीले आफ्नो पासपोर्ट नम्बर र उपलब्ध कोड सबमिट गरेपछि आफ्नो कामको प्रगति विवरण सहजै हेर्न सक्नेछन्। यो सेवा संसारको जुनसुकै कुनामा बसेर लिन सकिन्छ।

विभागका प्रवक्ता टीकाराम ढकालले सेवाग्राहीको सुविधाका लागि विभागले डिटिसी प्रणाली कार्यान्वयनमा ल्याएको बताए। उनले भने, ‘अध्यागमनको सेवालाई थप प्रभावकारी बनाउन डिटिसी प्रणाली कार्यान्वयनमा ल्याएका छौँ। यो प्रणालीबाट सेवाग्राहीले जुनसुकै ठाउँमा बसेर आफ्नो कामको प्रगति विवरण अध्ययन गर्न सक्नेछन्। यसले सेवाग्राहीलाई सुविधा त दिएको छ नै, अध्यागमनका कर्मचारीलाई पनि सेवाग्राहीप्रति थप उत्तरदायी बनाएको छ।’

विभागका अनुसार डिटिसी प्रणाली विदेशबाट भिसा अप्लाई गर्ने र भिसाको म्याद थप गर्न चाहने नेपालमा रहेका विदेशी नागरिकका लागि उपयोगी हुनेछ। नेपाल आउन चाहने जुनसुकै देशका नागरिकले सम्बन्धित मुलुकबाटै इटिए (इलेक्ट्रोनिक ट्राभर अथराइजेसन) प्रणालीबाट भिसा अप्लाई गर्न सक्छन्।

सम्बन्धित आवेदकलाई भिसा उपलब्ध गराउनुअघि प्राप्त आवेदनमाथि विभिन्न चरणमा अध्ययन गर्नुपर्नेछ। सबै पक्षबाट अप्रुभ भएपछि मात्रै आवेदकले भिसा प्राप्त गर्छ। त्यसो हुँदा यस प्रक्रियाले केही समय लिन्छ। जसको जानकारी आवेदकलाई नहुन सक्छ।

तर, क्युआर कोडले यो समस्या समाधान गरिदिएको छ। यसका लागि आवेदकले कोड स्क्यान गर्नुपर्छ। कोडमा आफ्नो पासपोर्ट नम्बर र आवेदन दिँदा बखत प्राप्त नम्बर टाइप गर्नुपर्छ। त्यसलगत्तै स्क्रिनमा आफ्नो कामको प्रगति डिस्प्ले हुन्छ। 

विभागका प्रवक्ता ढकालका अनुसार सेवाग्राहीले शुल्कसमेत डिजिटल प्रणालीमार्फत संसारको जुनसुकै ठाउँमा बसेर भुक्तानी गर्न सक्नेछन्। उनले भने, ‘आफ्नो कामको प्रगति विवरण हेर्न सजिलो होस भनेर हामीले क्युआर कोड सम्बन्धित सबै कार्यालयमा उपलब्ध गराएका छौँ। विभागको वेबसाइटमा पनि कोडलाई राखेका छौँ। सोही कोड स्क्यान गरेर सेवाग्राहीले आफ्नो कामको प्रगति विवरण अध्ययन गर्न सक्नेछन्। शुल्क पनि अनलाइनबाटै भुक्तानी गर्न सक्नेछन्।’

विभागका अनुसार भिसा थप गर्न चाहने आवेदकले पनि सोही तरिका अपनाएर आफ्नो कामको प्रगति विवरण अध्ययन गर्न सक्नेछन्। यो सेवा लिँदा कुनै शुल्क भुक्तानी गर्नुपर्दैन। इटिए प्रणालीबा भिसा अप्लाई गर्नेको संख्या दैनिक साढे पाँच सयभन्दा धेरै छ। त्यस्तै भिसाको म्याद थप गर्नेहरूको संख्या पनि सोही दरमा रहेको छ।

सुझावित समाचार