बेलायतको राजनीतिको प्रगतिशील पक्षले दुइटा संकटको सामना गरिरहेको छ । पहिलो– अर्को चुनावपछि लेबर पार्टीको सम्भावित पतन हो भने दोस्रो– सम्भावित सुधारसहित नयाँ सरकार र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शैलीको नेतृत्वको भविष्य । यी दुई विपत्तिबाट लेबर पार्टीलाई बाहिर निकाल्ने बेलायतको सबैभन्दा राम्रो स्थानमा रहेका व्यक्तित्व ग्रेटर म्यानचेस्टरका मेयर एन्डी बर्नह्याम हुन् । लेबर पार्टीले अब बर्नह्याम पार्टी र देशको अर्को नेता हुन लायक छन् भनी सुनिश्चित गर्न आवश्यक पर्ने सबै कुरा गर्नुपर्छ ।
यो पहल पार्टीको सत्तारुढ राष्ट्रिय कार्यकारी समिति (एनइसी) को एक जरुरी बयानबाट सुरु हुनुपर्छ, जसमा भनिएको छ कि यदि बर्नह्याम कुनै पनि प्रत्यक्ष रिक्त पदमा लड्न चाहन्छन् भने स्थानीय सदस्यलाई उनलाई आफ्नो उम्मेदवारको रूपमा चाहने कि नचाहने भनेर फैसला गर्न अनुमति दिइनेछ । साथै उनलाई प्रतिस्पर्धामा प्रवेश गर्न अनुमति दिने समयतालिका पनि समावेश गरिनेछ ।
बर्नह्याम लेबर पार्टीको नेतृत्वका लागि किन उत्तम विकल्प हुन सक्छन् भन्ने दुई कारण छन्, उनको विद्यमान लोकप्रियता र उनले अगाडि सारेका योजना । अचम्म मान्नु पर्दैन, यी दुई कुरा एक–अर्कासँग अन्तरसम्बन्धित छन् । लेबर सांसदहरू बर्नह्यामतिर आकर्षित हुनेछन्, किनभने उनीसँग बिटिस राज्य र यसको अर्थतन्त्रलाई कसरी रूपान्तरण गर्ने भन्नेबारे विचारशील दृष्टिकोण छ । हामी अवश्य पनि रूपान्तरणमा पुग्नेछौँ । उनको लोकप्रियताले लेबरका नेता तथा कार्यकर्तालाई अभिप्रेरित गर्छ ।
स्पष्ट रूपमा भन्नुपर्दा उनले गरेको योगदानलाई मूल्यांकन गर्दा बर्नह्याम चुनावी सुनको धुलो हुन् । स्थानीय रूपमा देशको उत्तरी भूभागदेखि पश्चिमी क्षेत्रमा उनले उत्कृष्ट कार्य गरेका छन्, तर राष्ट्रिय रूपमा पनि उनको योगदान कम महत्वपूर्ण छैन । उनको सर्वेक्षण मूल्यांकन अरू सबैभन्दा अगाडि छ । उनी देशका एक मात्र प्रमुख राजनीतिज्ञ हुन्, जसले सकारात्मक मूल्यांकन पाउँछन् । यसैबिच, ३४ प्रतिशत जनताले बर्नह्याम वर्तमान प्रधानमन्त्री स्टारमरभन्दा राम्रो नेता बन्ने सोच्छन् । यो लेबर पार्टीका अन्य दाबेदारभन्दा उल्लेखनीय रूपमा उच्च समर्थन हो ।
टाइम्समा रिपोर्ट गरिएको स्ट्याक डाटा स्ट्राटेजी नामक सर्वेक्षण कम्पनीद्वारा गरिएको थप सर्वेक्षण भन्छ– बर्नह्याम प्रधानमन्त्री भएमा हालका ग्रिन पार्टीका ३४ प्रतिशत र रिफर्म युकेका १९ प्रतिशत मतदाताले लेबरलाई मतदान गर्ने सम्भावना बढी हुने देखिन्छ । कम्पनीका निर्देशक आरोन इफ्तिखारका अनुसार यसले बर्नह्यामसँग ‘वामपन्थी र दक्षिणपन्थी दुवैबाट मतदातालाई आकर्षित गर्ने र लेबरको भत्किएको आधारलाई पुनर्मिलन गर्ने सबैभन्दा स्पष्ट बाटो’ रहेको सुझाव दिन्छ ।
बर्नह्याम आफ्नो सानो र बदनाम दक्षिणपन्थी गुटको हिस्सा नभएको कारणले गर्दा उनलाई रोक्न हतास केही लेबर पार्टीका सदस्य लेबरले ग्रेटर म्यानचेस्टरमा हुने कुनै पनि मेयरको चुनाव हार्न सक्छ भन्ने तर्कमा मात्र अडिग रहन सक्छन् ।
मोर इन कमन थिंकट्यांकका प्रमुख लुक ट्रिलले स्पेक्टेटरमा लेख्छन्, ‘ग्रेटर म्यानचेस्टरका सयौँ मतदातासँग समूहमा छलफल गरेपछि म बर्नह्याम कारक वास्तविक हो भनेर पुष्टि गर्न सक्छु । उनी अगाडि भन्छन्, ‘त्यसो भए लेबरले पछिल्लो स्थानीय निर्वाचनमा ग्रेटर म्यानचेस्टरमा किन यति नराम्रो नतिजा ल्यायो ? सरल भाषामा भन्नुपर्दा किनभने बर्नह्याम आफैँ मतपत्रमा थिएनन् ।’
बर्नह्यामलाई बाहिर राख्ने र अझ आपराधिक रूपमा पार्टी र देश दुवैभन्दा गुटलाई अगाडि राख्ने उन्माद गोर्टन र डेन्टन उपचुनावपछि स्पष्ट भयो । उता बर्नह्यामलाई प्रतिस्पर्धाबाट रोकिएपछि ग्रिन पार्टीले उत्तरमा वेस्टमिन्स्टरमा जित हासिल गर्न सफल भयो । सर्वेक्षणले सुझाव दिन्छन् कि यदि बर्नह्याम उम्मेदवार भएको भए लेबरले सहजै जित्ने थियो । बर्नह्यामलाई उम्मेदवारीबाट रोक्न खोज्दा लेबरले उपचुनाव मात्र हारेन, दक्षिणपन्थीलाई हराउन आफ्नो एकाधिकार स्थिति गुमायो । त्यसो भए योजना के हो ? बर्नह्यामको लोकप्रियता केवल उनको शैली र वेस्टमिन्स्टरबाट म्यानचेस्टरसम्मको यात्रा वा हिल्सबरोमाथि ब्रिटिस राजनीतिमा उनले गरेका ठुला हस्तक्षेप र त्यसपछि कोभिडकालमा उत्तरी क्षेत्रलाई कसरी ट्याकल गरियो भन्ने कुरामा आधारित छैन ।
उनले हाम्रो अर्थतन्त्रलाई मात्र नभई हाम्रो लोकतन्त्रलाई कसरी रूपान्तरण गर्न आवश्यक छ भन्नेबारे गहिरो रूपमा सोचेका छन् । सबैभन्दा उल्लेखनीय कुरा के हो भने उनले हाम्रो अर्थतन्त्रमा गहिरो परिवर्तनका लागि दीर्घकालीन प्रगतिशील सहमति निर्माण गरेर राजनीति परिवर्तन गर्नुपर्ने कुरा स्वीकार गर्छन् । उनले ग्रेटर म्यानचेस्टरमा प्रगतिशील दलहरूसँग काम गरेर राजनीतिक स्थिरता कायम गरेर परिवर्तनलाई आत्मसात् गरेका छन् । ‘उनले यसलाई ‘व्यवसाय–मैत्री समाजवाद’ भनेका छन् ।
समानुपातिक प्रतिनिधित्वबाट सुरु गर्दै बर्नह्यामले स्वीकार गर्छन् कि हाम्रो देशको विशाल बहुमतका लागि केही पनि परिवर्तन हुनेछैन, जबसम्म हामी हाम्रो लोकतान्त्रिक प्रणाली परिवर्तन गर्दैनौँ । लोकतान्त्रिक प्रणालीमा हुने परिवर्तनबाट मात्र हामी हाम्रो आर्थिक प्रणालीमा सघन परिवर्तन गर्न सक्छौँ । जबसम्म हामी हाम्रो जीवनमा पानी, ऊर्जा, आवास र यातायातजस्ता आधारभूत कुराको स्वामित्व र नियन्त्रण गर्दैनौँ, परिवर्तन हुनेछैन ।
विशिष्ट रूपमा बर्नह्याम विगत दुई वर्षको सरकारबाट अछुतो छन् । उनी नयाँ सुरुवातको प्रतिनिधित्व गर्छन् । ग्रेटर म्यानचेस्टरको राजनीतिमा नयाँ दृष्टिकोण र थ्याचरवाद उनका आधार हुन् । उनले हाम्रो देश र यसका जनतालाई गरेको कामलाई उल्ट्याउने दृढ संकल्पले लेबरले के गर्न सक्छ भनेर देखाएका छन् ।
उनी लेबर पार्टीलाई बचाउन र रिफर्म युकेका नेता निगल फारेजको नेतृत्वमा रहेको सरकारको नियतिबाट बच्न सबैभन्दा राम्रो स्थानमा छन् । उनी जनता र लेबर पार्टीका सदस्यमाझ अत्यन्त लोकप्रिय छन्, जसले अन्ततः अर्को नेतृत्व कसले गर्ने भनेर निर्णय गर्नेछन् ।
दशजना मानिस उनको बाटोमा उभिएका छन् । तिनीहरू लेबरको एनइसीका अधिकारीको समूह हुन् । उनीहरूले उनलाई पछिल्लोपटक अत्यधिक रूपमा रोकेका थिए । उनीहरू अहिले बाहिर निस्केर भन्नुपर्छ । यदि उनी चुनाव लड्न चाहन्छन् र कुनै पनि रिक्त पदमा स्थानीय लेबर पार्टीले उनलाई चुनाव लड्न चाहन्छ भने उनलाई चुनावको समयसीमाभित्र नेतृत्वको अनुमति दिनुपर्छ ।
– गार्जियनबाट
लसन क्रस पार्टी अभियान संगठन कम्पासका निर्देशक हुन् ।