बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक घटे

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने स्वदेशी र विदेशी पर्यटकको संख्या घटेको छ । पछिल्लो समय देश–विदेशमा भएको राजनीतिक उथलपुथलले गर्दा निकुञ्ज घुम्न आउने स्वदेशी र विदेशी पर्यटकको संख्या घटेको हो ।

निकुञ्जमा आर्थिक वर्ष ०८२/०८३ को चैतसम्ममा १३ हजार ४७ जना स्वदेशी, पाँच हजार २४९ जना विदेशी र ८१९ जना सार्क मुलुकका पर्यटकले निकुञ्जमा जंगल सफारी र जंगल वाक गरेका छन्। आर्थिक वर्ष ०८१/८२ को चैतसम्ममा १५ हजार ४५० जना स्वदेशी, पाँच हजार ९४७ जना विदेशी र एक हजार ९४ जना सार्क मुलुकका पर्यटकले निकुञ्जमा जंगल सफारी र जंगल वाक गरेको  निकुञ्जका  संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । 

वाइल्ड ट्रेयाल्स नेपालका सञ्चालक रामराज ढकालले  हवाईजहाजको टिकट मूल्य वृद्धि, अमेरिका–इरान युद्ध  र विश्वमा भइरहेको विभिन्न आन्दोलन र युद्धले पनि पर्यटन व्यवसायमा असर परेको बताए । उनले भने, ‘दुबई, कतार एयरलाइन्सको सेवा अवरुद्ध भएको हुँदा पनि पर्यटन व्यवसायमा असर पुगेको छ भने भदौ महिनामा भएको जेन–जी आन्दोलनले पनि पर्यटन व्यवसायमा असर पुगेको छ  ।’

रोयल टाइगर कटेजका सञ्चालक राम शाहीले पछिल्लो समय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढिरहेको थियो, तर देश विदेशमा भएको राजनीतिक उथलपुथल र युद्धले पनि निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा कमी आएको बताए । 

प्रकृति पथ प्रदर्शक राजन चौधरीले बढ्दै गएको महँगी, विश्वव्यापी रूपमा भएको युद्धको  असुरक्षाको त्रासले गर्दा पनि पछिल्लो समय निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा कमी आएको बताए । उनले भने, ‘प्रायः नेपाल घुम्न आउने विदेशी पर्यटक दिल्लीको जहाजबाट आउने गर्छन्  । त्यहाँबाट ट्याक्सीमा नेपाल घुम्न आउँदा नेपाल–भारत सिमानामा हुने समस्याले गर्दा पनि पर्यटन पेसामा समस्या देखिएको छ । कम्तीमा पनि नेपाल घुम्न आउने पर्यटकलाई सहज रूपमा आवतजावत गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।’ 

पर्या–पर्यटनको दृष्टिकोणले निकुञ्ज  महत्त्वपूर्ण मानिएको निकुञ्जभित्र बाघ, गैँडा, हात्ती, अजिंगर, चित्तल, मृग, बाह्रसिंगे, रतुवा सजिलै देख्न पाइन्छ । यसकारण पनि पर्यटकको रोजाइमा निकुञ्ज पर्ने गरेको छ । तर, विदेशबाट घुम्न आएका पर्यटकलाई हवाईजहाजमा बढी शुल्क लाग्ने गर्छ । जसले गर्दा पनि पर्यटन व्यवसायमा प्रत्यक्ष–अप्रत्यक्ष असर पुगेको छ ।

सुझावित समाचार