नेपालमा मिर्गौला बिग्रिएर डायलाइसिस गर्नुपर्ने बिरामीको संख्या बर्सेनि बढ्दो छ । स्वास्थ्य मन्त्रालयका अनुसार वार्षिक २० प्रतिशत डायलाइसिसका बिरामी थपिन्छन् । यसको व्ययभार सरकारलाई पनि बढिरहेको छ ।
‘हरेक वर्ष डायलाइसिस गर्नुपर्ने बिरामी २० प्रतिशतका दरले थपिने गरेका छन्, यो निकै भयावह हो,’ स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले भने, ‘यसलाई कम गर्न जनचेतना र परीक्षणमा ध्यान दिनुपर्छ ।’
मिर्गौला बिग्रन नदिन र यसका बिरामी कम गर्नका लागि सरकारले ०७७ मा मिर्गौलासम्बन्धी समस्याको निःशुल्क परीक्षण अभियानकै रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, कार्यान्वयन हुन सकेको छैन । मन्त्रालयका सूचना अधिकारी केसीका अनुसार समयमै जाँच गर्ने हो भने मिर्गौला ‘फेल’ हुनबाट जोगाउन सकिन्छ ।