पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले संख्याको बलमा विधि र लोकतान्त्रिक प्रक्रिया मिच्न नहुने बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले जनताले दिएको विश्वासलाई विधि र लोकतान्त्रिक प्रणाली सुदृढ बनाउन प्रयोग गर्नुपर्ने धारणा राखे। ‘मेरो आग्रह छ, संख्याको दम्भमा विधि मिच्ने काम नहोस्। तपाईंहरूलाई जनताले यतिवेला विश्वास गरेका छन्। त्यो विश्वास विधि बलियो बनाउनेतर्फ लागोस्,’ उनले भने।
प्रचण्डले सरकारले संसद् स्थगित गरेर जनप्रतिनिधिलाई छल्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप पनि लगाए। यस्तो अभ्यास लोकतन्त्रको भावनाविपरीत भएको उनको भनाइ थियो।