नेपाली कांग्रेसका इतर समूहका नेता शेखर कोइरालाले १९ जना केन्द्रीय सदस्यको मनोनयनले पार्टीको एकतामा ठोस पुगेको बताएका छन् । सोमबार कांग्रेस सभापति गगन थापाले केन्द्रीय समिति विस्तार गरेपछि आफूनिकट नेताहरूसँगको छलफलपछि कोइरालाले यस्ताे बताएका हुन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५औँ महाधिवेशन (एकता महाधिवेशनका रूपमा) सम्पन्न गरिनुपर्छ ।
‘हिजो वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ,’ उनले भने ।
उनले पार्टीभित्रको गुट–उपगुट अन्त्य गरेर बृहत्तर एकताको दिशामा अघि बढ्नुपर्ने बताएका छन् । सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको विस्तारपछि आफूनिकट नेताहरूसँगको छलफलपछि आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टी एकताविना राष्ट्रिय राजनीतिमा कांग्रेसले प्रभावकारी भूमिका खेल्न नसक्ने बताएका हुन् ।