सन् १९४५ : अघिल्लो दिन जर्मन सेनाले आत्मसमर्पण गरेको सम्झौता यस दिनबाट कार्यान्वयनमा आएसँगै युरोपमा दोस्रो विश्वयुद्ध अन्त्य भयो ।
सन् १६५७ : इंग्ल्यान्डका राजा चार्ल्स प्रथमलाई सशस्त्र विद्रोहमार्फत अपदस्थ गरेर सत्ता सम्हालेका ओलिभर क्रोमवेलले आफूलाई राजा घोषणा गर्न गरिएको आग्रहलाई अस्वीकार गरे ।
सन् १६६० : ओलिभर क्रोमवेलको निधनपछि इंग्ल्यान्डको संसद्ले चार्ल्स प्रथमका निर्वासित छोरा चार्ल्स द्वितीयलाई देश फर्किएर राजगद्दी सम्हाल्न आह्वान गरेसँगै इंग्ल्यान्डमा राजतन्त्र फर्किने माहोल बन्यो ।
सन् १८१२ : अमेरिकाले पहिलो वैदेशिक आर्थिक सहायता विधेयक पास गर्यो । विधेयकअनुसार मार्चमा भेनुजुयलामा गएको भूकम्पपीडितका लागि ५० हजार डलर सहायता प्रदान गरिएको थियो ।
सन् १८३५ : चर्चित डेनिस साहित्यकार हान्स क्रिस्चियन एन्डरसनको ‘परी कथाहरू’को पहिलो संस्करण प्रकाशित भयो ।
सन् १८९५ : चीन–जापान युद्ध अन्त्य गर्न अप्रिल १७ मा भएको ‘सिमोनोसेकी सन्धि’अनुरूप यसै दिनदेखि पराजित चीनले ताइबान जापानलाई सुम्पियो ।
सन् १९०१ : पश्चिम तथा मध्य भारतमा प्रकोपको रूप लिएको भोकमरीको अध्ययन गर्न गठित ब्रिटिस आयोगले साढे १२ लाख भारतीय प्रकोपमा मरेको प्रक्षेपण गर्यो ।
सन् १९२९ : सोभियत सरकारले देशको पहिलो ट्र्याक्टर संयन्त्रको डिजाइन गर्ने जिम्मा अमेरिकी आर्किटेक्ट अल्बर्ट काह्नलाई दियो ।
सन् १९९४ : नर्वेजियन अन्वेषक अर्लिङ कागे ‘तीन ध्रुव चुनौती’ (उत्तरी तथा दक्षिण ध्रुव पुग्ने र सगरमाथा चढ्ने) पूरा गर्ने पहिलो व्यक्ति बने ।
सन् १९९६ : दक्षिण अफ्रिकामा रंगभेद अन्त्य भएपछि गठन भएको संविधानसभाले गठनको दुई वर्षमा आजको दिन संविधान पारित गर्यो । संविधान एक वर्षपछि फेब्रुअरी ४ देखि कार्यान्वयनमा आयो ।
सन् २०१६ : लन्डनको मेयर निर्वाचित भएसँगै सदिक खान प्रमुख पश्चिमी सहरको पहिलो मुस्लिम मेयर बने ।