- कर्मचारीद्वारा ७१औँ वार्षिकोत्सव बहिष्कार, विदेश भ्रमणमै व्यस्त पदाधिकारीका कारण ८६ कर्मचारीको बढुवा रोकियो
कर्मचारीले बहिष्कार गरेपछि नेपाल राष्ट्र बैंकको ७१औँ वार्षिकोत्सव भद्रगोल बनेको छ । बढुवा प्रक्रिया लामो समयदेखि रोकिएको भन्दै कर्मचारीहरू वार्षिकोत्सवकै दिन खुलेर आन्दोलनमा उत्रिएपछि राष्ट्र बैंकभित्रको व्यवस्थापकीय संकट र कर्मचारी असन्तोष सतहमा आएको छ । केन्द्रीय बैंकमा आठजना निर्देशक, २० जना उपनिर्देशक, १३ जना सहायक निर्देशक र ४५ जना सहायक निर्देशक गरी कुल ८६ जना कर्मचारी बढुवाको पर्खाइमा छन् । कर्मचारीले बैंकपरिसरमा कालो ब्यानर टाँगेर विरोध जनाएका थिए ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघले बैंक व्यवस्थापनको गैरजिम्मेवार व्यवहारका कारण आर्थिक वर्ष ०८२/८३ को कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवा हुन नसकेको आरोप लगाएको छ । संघका अनुसार स्वीकृत दरबन्दीअनुसार आन्तरिक व्यवस्थापनबाटै सम्पन्न हुनुपर्ने बढुवा प्रक्रिया नौ महिना बितिसक्दा पनि टुंगोमा पुगेको छैन ।
गभर्नर र डेपुटी गभर्नरहरू लगातार विदेश भ्रमणमा व्यस्त रहेकाले बढुवा प्रक्रिया ढिलाइ भएको संघका अध्यक्ष रामहरि घिमिरेले बताए । पदपूर्ति समितिका पदाधिकारी केन्द्रीय बैंकको नियमित प्रशासनिक कामभन्दा भ्रमणमै बढी केन्द्रित भएको आरोप उनले लगाएका छन् । उनले भने, ‘यसअघिका डेपुटी गभर्नरले पनि नियमित बढुवामा चासो देखाउनुभएन । विदेश भ्रमणमा मात्रै केन्द्रित हुने, कर्मचारीको बढुवाको वास्ता नगर्ने प्रवृत्तिले ढिला हुँदै गयो । अहिले पनि राष्ट्र बैंक नेतृत्वले ध्यान दिएको छैन ।’
निजी मिडियालाई प्रवेशमा रोक
वार्षिकोत्सवका दिन कर्मचारीले बहिष्कारसहित विरोध कार्यक्रमको रिपोर्टिङ गर्न पुगेका निजी सञ्चारमाध्यमलाई प्रवेशमा रोक लगाएको छ । विगतमा वार्षिकोत्सवमा निजी सञ्चारमाध्यमलाई निमन्त्रणा गर्ने प्रचलन रहे पनि यस वर्ष निमन्त्रणा गरिएन । यद्यपि, समाचार संकलन गर्न पुगेका पत्रकारलाई केन्द्रीय बैंक प्रशासनले गेटमै रोकेको हो ।
केन्द्रीय बैंक व्यवस्थापनले संघको ध्यानाकर्षणलाई बेवास्ता गरेपछि बैंकको वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्ने र सोही दिन विरोध सभा गर्ने अल्टिमेटम दिएको थियो । विरोधको चेतावनीपछि निजी सञ्चारमाध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाएको केन्द्रीय बैंकका एक अधिकारीले जानकारी दिए । तर, केन्द्रीय बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले वार्षिकोत्सवको आन्तरिक व्यवस्थापनका लागि निजी सञ्चारमाध्यमको प्रवेशमा रोक लगाएको बताए । उनले भने, ‘हामीले छोटो र व्यवस्थित ढंगले कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले निजी सञ्चारमाध्यमलाई नबोलाई सरकारी सञ्चारमाध्यमलाई मात्रै बोलाएका थियौँ । आन्तरिक व्यवस्थापन सहज बनाउन प्रवेश पनि गर्न दिएका थिएनौँ । विरोध कार्यक्रम भएकाले प्रवेश गर्न नदिइएको होइन ।’
उनले डेपुटी गभर्नर नियुक्तिमा ढिलाइ हुँदा बढुवा रोकिएको बताए । उनका अनुसार डेपुटी नियुक्तिलगत्तै गभर्नर प्राडा विश्वनाथ पौडेल विदेश भ्रमणमा गएका र एक जना मात्रै डेपुटी गभर्नर नियुक्त भएकाले पनि थप ढिलाइ भएको छ । उनले भने, ‘अब हामी छिट्टै बढुवा प्रक्रियालाई अघि बढाउने तयारीमा छौँ ।’
केन्द्रीय बैंकले वेबसाइटमार्फत गभर्नर पौडेलको मन्तव्य सार्वजनिक गरेका छन् । जसमा असन्तुष्ट कर्मचारीको मागलाई सम्बोधन गरिएको छैन । उनको लिखित मन्तव्यमा भनिएको छ, ‘०८२ फागुन मसान्तमा बैंकमा प्रशासनतर्फ एक हजार एक सय चार र प्राविधिकतर्फ ७५ गरी कुल एक हजार एक सय ७९ जना कर्मचारी कार्यरत छन् ।