- इरानको स्थिति बाहिर देखिएभन्दा बलियो छ, यसले लामो समयसम्म दबाब सहन सक्ने उच्च सहनशीलता प्रदर्शन गरेको छ
इरानमाथिको विजय कस्तो देखिनेछ ? वासिंटन र जेरुसेलमका लागि उत्तर इरानको आणविक क्षमताको विनाश, यसको क्षेत्रीय शक्तिको विखण्डन र सकिन्छ भने त्यहाँको वर्तमान शासन परिवर्तन हुनेछ । तेहरानको हकमा भने वर्तमान शासन जोगाउनु नै जित हुनेछ । यही असमान लक्ष्यले सम्पूर्ण द्वन्द्वलाई आकार दिइरहेको छ । यस्ता युद्धमा सानो लक्ष्य बोकेका पक्ष प्रायः फाइदामा हुन्छन् र यस सन्दर्भमा त्यो पक्ष इरान हो । इरानको रणनीति प्रभुत्व देखाउने नभई प्रतिद्वन्द्वीलाई महँगो पर्ने युद्धमा अल्झाइरहने देखिन्छ ।
अमेरिका र इजरायलको सैन्य प्रधानताका बाबजुद त्यो रणनीतिक सफलतामा अनुवाद भएको छैन । तेहरानको शासन प्रणाली अक्षुण्ण छ । यसको सैन्य, क्षेत्रीय, वैचारिक सञ्जाल अझै सक्रिय नै छ । आणविक विशेषज्ञतामा पनि त्यति असर पुगेको छैन । र, यहीँनेर इरानले अमेरिका–इजरायलको उद्देश्यलाई सफल हुन नदिए मात्र पनि प्रगति भन्न सकिनेछ ।
यो तर्क द्वन्द्व कसरी विकास भइरहेको छ भन्नेमा झल्किन्छ । युद्धभूमि प्रत्यक्ष टकरावबाहिर ढुवानी मार्ग, ऊर्जा बजार र क्षेत्रीय गठबन्धनमा फैलिएको छ । स्ट्रेट अफ हर्मुजमा देखिएका अवरोध आकस्मिक कुरा थिएन, यो विश्वव्यापी परिणाम निम्त्याउन सक्ने दबाब विन्दु हो भन्ने पहिल्यै थाहा थियो ।
त्यसबाहेक इरानमाथि हुने आक्रमण प्रतिक्रियाविहीन नरहने दखिएको छ । यो कुरा इरानले छिमेकी साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमानका साथै जोर्डन र इराकलगायत सम्पूर्ण पश्चिम एसियाली देशमा आक्रमण गर्ने तत्परता देखाएर पुष्टि गरिसकेको छ । अमेरिकाले अर्को रणनीतिक समस्या महसुस गरेको छ । उसले युद्धको ६ सातामा आफ्ना झन्डै ४५ देखि ५० प्रतिशत क्षेप्यास्त्र भण्डार प्रयोग गरिसकेको प्रक्षेपण गरिँदै छ । यस्तोमा हालको युद्धविराम अन्त्य गरेर युद्ध सुरु गर्ने विषय केवल इच्छाबारे मात्र नभई क्षमताबारे पनि केन्द्रित रहने निश्चित छ ।
इरान युद्ध भीषण भए यसका परिणाम युद्धभूमिभन्दा पर पनि फैलिनेछन् । इरानले छिमेकी खाडी देश, तिनका ऊर्जा, इन्धन र पानी शुद्ध बनाउने संयन्त्रमाथि आक्रमण बढाउने निश्चित छ । पानी शुद्ध बनाउने प्रणालीमाथिको आक्रमणले यो क्षेत्र नै बस्न अयोग्य बन्दै जानेछ । यसले ठुलो स्तरको विस्थापन संकट निम्त्याउनेछ । यी सबै कुराले इरान र यसका वर्तमान शासकले लामो युद्ध सहन सक्ने देखाएको छ । त्यस सहनशीलतालाई तोड्न अमेरिकाले इरानभित्र सेना उतार्यो भने त्यो सम्भवतः लामो र ठुलो क्षति निम्त्याउने अभियान हुनेछ ।
समस्यालाई थप जटिल बनाइरहेको छ, अमेरिका र इजरायलबिच लक्ष्यमा देखिँदै गएको खाडल । इजरायलको लक्ष्य सकेसम्म अधिकतम लक्ष्य वर्तमान शासन ढाल्ने र त्यो पनि सकिएन भने इरानलाई उठ्नै नसक्ने गरी कमजोर बनाउने देखिन्छ । यसविपरीत, अमेरिका भने बलप्रयोग, अवस्थालाई थप जटिल बन्न नदिने र वार्ताका तीन विकल्पमा झुलिरहेको देखिन्छ ।
कुनै विन्दुमा वास्तविकतालाई जस्ताको तस्तै वर्णन गर्नु आवश्यक हुन्छ । इरान युद्ध खासमा कुनै निर्णायक निष्कर्ष (पूर्ण हार वा जित)तर्फ अघि बढ्ने युद्धजस्तो देखिँदैन । कुनै पक्षसँग त्यस्तो लक्ष्य हासिल गर्ने सामर्थ्य पनि देखिँदैन । युद्धविराम अवधिको विस्तारले त्यसैतर्फ संकेत गर्छ । डोनाल्ड ट्रम्प नेतृत्वको ह्वाइट हाउस वार्तालाई जीवित राख्दै युद्ध विस्तार रोक्न चाहन्छ । वासिंटनलाई यो युद्ध चाँडोभन्दा चाँडो अन्त्य गर्ने कारण पनि छन् । यस क्षेत्रीय युद्धले निम्त्याएको विश्वव्यापी आर्थिक झट्का व्यवस्थापन गर्न धेरै गाह्रो भइरहेको छ । द्वन्द्व जति लामो तन्किन्छ, विश्वव्यापी ऊर्जा बजार तनावग्रस्त हुन्छ, आपूर्ति मार्ग प्रभावित भइरहनेछ र भण्डारमा समेत असर पर्नेछ । स्थिर इन्धन प्रवाहमा निर्भर उद्योगहरू, जस्तै– उड्डयन, ढुवानी, निर्माण क्षेत्रमाथिको असर दिनानुदिन बढ्दै जानेछ । क्षेत्रीय द्वन्द्वका रूपमा सुरु भएको कुरा प्रणालीगत जोखिममा परिणत भएको छ ।
विशुद्ध सैन्य हिसाबमा अमेरिका र इजरायलको श्रेष्ठता कायम छ । तर, युद्धले खालि सैन्य क्षमताले मात्र निर्धारण गर्दैन । युद्ध लक्ष्य, लागत र समयको गठजोडले यसको विकासक्रमलाई असर गर्छ । यस समीकरणमा अहिले इरानको स्थिति बाहिर देखिनेभन्दा बलियो छ । यसले लामो समयसम्म दबाब सहन सक्ने उच्च सहनशीलता प्रदर्शन गरेको छ । साथै उसले युद्धभूमिबाहिरसमेत प्रतिद्वन्द्वीका कठिनाइ बढाउने क्षमता देखाएको छ । सबैभन्दा महत्वपूर्ण कुरा इरानलाई युद्धमा जित हासिल गर्न आवश्यक छैन, केवल आफ्ना विरोधीलाई उनीहरूको उद्देश्य प्राप्तिबाट रोके पुग्छ । र, अहिलेसम्म, उसले ठ्याक्कै त्यही नै गरेको छ ।
जसले हामीलाई मूल प्रश्नमा ल्याइपुर्याउँछ, के अमेरिका र इजरायलले यो युद्ध जित्न सक्छ ? यदि जित्नु भनेको इरानलाई आत्मसमर्पण गर्न बाध्य पार्नु वा मौलिक रूपमा यसको रणनीतिक अवस्थितिलाई पुनः आकार दिनु हो भने उत्तर दुई देशले नचाहेको आउँछ, अर्थात् तिनले युद्ध जित्न सक्दैनन् । तिनले सक्ने भनेको युद्ध जारी राख्ने, द्वन्द्व व्यवस्थापन गर्ने, अर्थात् युद्धलाई थप फैलिनबाट रोक्ने मात्र हो । तर, त्यो जित होइन । वास्तवमा यो युद्ध जित्न सकिने युद्ध नै होइन । अमेरिकाले युद्ध नरोक्ने हो भने यो लामो समय चल्नेछ ।
द कन्भर्सेसनबाट
(नुरी युनिभर्सिटी अफ लन्डनका डिपार्टमेन्ट अफ इन्टरनेसनल पोलिटिक्सका अनररी रिसर्च फेलो हुन् भने पारमर सोही विश्वविद्यालयका अन्तर्राष्ट्रिय राजनीतिका प्राध्यापक हुन्)