कविता : चिया प्रेम

शनिबार, १२ बैशाख, २०८३
डिजिटल संस्करण

हुस्सु लागेको बिहान 
श्वास फेर्दा मुखबाट निस्किएको बाफजस्तै 
एउटा न्यानो प्रस्ताव राखेथेँ –चिया पिउने ? 

जवाफमा तिमीले 
गुलिया सुरुप साटिदियौ 

प्रत्येक साँझ 
चिया दोकानको एउटा टेबल 
हाम्रो प्रतीक्षामा बस्न थाल्यो 

च्यारंगजस्ता ति...ता विगतका सम्झना उमालेर
चियाझैँ मि..ठो वर्तमान पिउँदापिउँदै 
दुध र चिनिझैँ आपसमा मन घुलिएको पत्तै भएन 

एक दिन मेरो चियामा झिँगा डुब्यो 
तिम्रो बाँकी चियाको बाटो हुँदै 
हाम्रा जुठा चोखा भए 
अर्कोदिन तिम्रो चियाको कपमा झिँगा डुब्यो 
मेरो कपको बिट हुँदै 
हाम्रा ओठहरू स्पर्शिला भए 

त्यस्तै, कुनै एक साँझ दुवैको चियामा झिँगा डुब्यो 
छुट्टियौँ हामी फेरि कहिल्यै चिया नपिउने गरी । 

– दमक, झापा

See More On

सुझावित समाचार