नेपाल सरकारका पूर्वसचिव पूर्णचन्द्र भट्टराईलाई ३ प्रश्न

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

पहुँचवाला’ कर्मचारीले सकभर सिंहदरबार र काठमाडौं उपत्यका छाड्न किन चाहँदैनन् ?
एकथरी कर्मचारी बालबच्चाको पढाइ, श्रीमान् या श्रीमतीको समेत जागिर वा पेसा, व्यवसायमा संलग्नता, स्वास्थ्यजन्य समस्याजस्ता कारणले सकभर केन्द्रमै बस्न चाहन्छन् । अर्काथरीमा शक्तिको गलत प्रयोग गरेर लाभको उद्देश्यले केन्द्र नछाड्ने प्रवृत्ति देखिने गरेको छ । सरुवामा दुई महत्वपूर्ण अवधारणा चर्चामा रहने गरेका छन् । पहिलो चक्रीय सरुवा अर्थात् सबैलाई सबै निकायमा क्रमशः सरुवा गर्ने र अर्को मन्त्रालयको ‘क्याडर’ विकास गर्ने । सबैलाई सरुवा गर्नैपर्छ भन्ने धारणा पनि एकांगी हुन्छ । मन्त्रालयको ‘क्याडर’ नहुने (खासगरी प्रशासन सेवामा) अवस्थाले गर्दा संस्थागत संस्मरण हराउने गरेको छ । माथिका जुनसुकै अवधारणा अवलम्बन गरे पनि सरुवा अनुमानयोग्य हुनुपर्छ । तर, चक्रीय सरुवा प्रणालीले गुणात्मक परिणाम दिन्छ भन्ने लाग्दैन । सबै कर्मचारीले सबै ठाउँमा उस्तै काम गर्न सक्छ भन्ने सोच र कुनै कर्मचारीले गल्ती गरेपछि कारबाहीको रूपमा सरुवा गर्नुले परिणाम दिँदैन । छोटो समयमै हुने सरुवाले कर्मचारीको दक्षता, कार्यकुशलता र क्षमता अभिवृद्धिमै अवरोध ल्याउन सक्छ । पछिल्लो समय कर्मचारीमा व्यावसायिक दक्षता र नतिजालाई महत्व दिने गरिएको छ । यसले मन्त्रालयगत क्याडरको आवश्यकता झल्काउँछ ।

कर्मचारीलाई बाहिर पठाउन किन नसकिएको होला ?
सर्वप्रथमतः कर्मचारीको सरुवा सबै समस्याको समाधान होइन भन्ने सरोकारवाला सबैले बुझ्नुपर्छ । कुनै कर्मचारी व्यक्तिगत स्वार्थका कारण काठमाडौंबाहिर जान चाहँदैन, ‘नेक्सस’ बनाएर अडिइरहन चाहन्छ भने उसलाई सरुवा गर्नु ठिक हुन्छ । तर, कुनै कर्मचारीलाई उसको कार्यदक्षता अभिवृद्धि गरी ‘ग्रुम’ हुने मौकै नदिई सरुवा गर्नुले भने संगठनको हितभन्दा अहित नै ज्यादा गर्छ ।

कर्मचारीको व्यवस्थापन कसरी गर्नुपर्ला त ?
सरुवाको वस्तुगत मापदण्ड बनाउनुपर्छ । मन्त्रालय क्याडरमा ध्यान दिनुपर्छ । खराब काम गर्नेलाई कारबाही गर्न नसकेर सरुवालाई नै अन्तिम अस्त्र मान्ने गल्ती गर्नुहुँदैन । एक निकायबाट अर्को निकायमा समस्या सार्दैमा नतिजा निस्कँदैन । कार्यालयको प्रकृति र त्यहाँ कार्यरत कर्मचारीको दक्षता र सक्षमता पनि हेर्नुपर्छ । कसैलाई पनि स्वार्थको द्वन्द्व हुने गरी सरुवा गर्नुहुँदैन । सेटिङमा हुने सरुवा प्रणाली तोडिनुपर्छ ।

सुझावित समाचार