संविधान संशोधन बहसपत्र तयार कार्यदलले दुई महिनाभित्र संशोधन प्रस्ताव तयार पार्ने प्रस्ताव अघि सारेको छ । बिहीबार बसेको कार्यदलको दोस्रो बैठकमा टिओआर प्रस्तुत भएको कार्यदलका सदस्यहरूले बताएका छन् । टिओआरमा ६० दिनभित्र संशोधन प्रस्ताव तयार गर्ने र त्यसक्रममा सरोकारवाला पक्षसँग छलफल गर्ने उल्लेख छ । संविधानविद्, पूर्वप्रधानन्यायाधीश, पूर्वप्रशासक, राजनीतिक नेतृत्व, स्थानीय तहका प्रतिनिधि, नागरिक समाजलगायतसँग छलफल गर्ने प्रस्ताव गरिएको छ । सबैसँग छलफलपछि सुझावसहित कार्यदलको बैठकमा प्रस्तुत गरिने कार्यदलका संयोजक असिम शाहले बताए । सोही आधारमा बहसपत्र तयार गरिने उनले बताए ।
कार्यदलका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन महाशाखाका प्रमुख पुष्कर सापकोटाले संविधान संशोधनका विषयबारे जानकारी गराएका थिए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख वा अहिलेकै व्यवस्था, मिश्रित निर्वाचन प्रणाली वा पूर्ण समानुपातिक, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने वा नबनाउने, स्थानीय सरकारलाई निर्दलीय बनाउने वा अहिलेकै व्यवस्था भनेर सापकोटाले प्रस्ताव गरेका थिए । संघीयता भने हालकै प्रणालीअनुसार कायम राख्ने प्रस्ताव गरिएको छ । संघीयता, गणतन्त्र, समानुपातिक समावेशी सिद्धान्त र धर्मनिरपेक्षता परिवर्तन नगर्ने प्रस्ताव आएको नेकपा नेता एवं कार्यदल सदस्य देव गुरुङले बताए ।
कार्यदलले दलहरूसँग लिखित सुझाव मागेकोमा दुई दलले मात्रै बुझाएका छन् । जनमोर्चा र लोसपाले मात्रै लिखित सुझाव बुझाएको कार्यदल सदस्य एवं जनमोर्चाका महासचिव मनोज भट्टले बताए । अन्य दलले बुझाउन बाँकी रहेको उनले बताए । जनमोर्चाले प्रदेश संरचना खारेज गर्नुपर्ने सुझाव दिएको छ भने लोसपाले संघीयतालाई बलियो बनाउनुपर्ने सुझाव दिएको छ ।
प्रधानमन्त्रीका सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलमा रास्वपाबाट मोहन आचार्य, एमालेबाट डा. भीष्म अधिकारी, नेकपाबाट देव गुरुङ, राप्रपाबाट ज्ञानेन्द्र शाही, जनमोर्चाबाट मनोज भट्ट, श्रम संस्कृतिबाट ध्रुवराज राई, जसपाबाट सुरेन्द्र झा सदस्य छन् । कांग्रेसले भने अझै कार्यदल सदस्य तोकेको छैन ।
कांग्रेस र राप्रपा अनुपस्थित
कार्यदलको दोस्रो बैठकमा कांग्रेस र राप्रपा सहभागी भएनन् । संशोधनका एजेन्डा तय गरेपछि मात्रै प्रतिनिधि पठाउने अडान राखेको कांग्रेस पहिलो बैठकमा पनि उपस्थित थिएन । पहिलो बैठकमा सहभागी भएको राप्रपा पनि दोस्रो बैठकमा सहभागी भएन । बैठकबारे कुनै जानकारी नभएकाले उपस्थित नभएको कार्यदलमा राप्रपा तर्फका प्रतिनिधि सहमहामन्त्री श्यामबहादुर शाहीले बताए ।