सन् २००५ : युट्युबका सहसंस्थापक जअड् करिमले युट्युबमा पहिलो भिडियो ‘अपलोड’ गरे । करिमले सान डियागो चिडियाखानामा खिचेको सो भिडियो ‘मि एट् द जू (चिडियाखानामा म)’ शीर्षकमा अझै हेर्न सकिन्छ ।
सन् १७८९ : अमेरिकी राष्ट्रपति बनेपछि जर्ज वासिंटन न्युयोर्कस्थित फ्रांकलिन हाउसमा बस्न थाले, जुन अमेरिकी राष्ट्रपतिको पहिलो आवासीय भवन थियो ।
सन् १८४९ : रुसी लेखक फ्योदोर दोस्तोएभ्स्की उदारवादी र समाजवादी विचार फैलाएको आरोपमा पक्राउ परे ।
सन् १८९६ : विश्वको पहिलो चलचित्र न्युयोर्क सहरको ‘कोस्टर एन्ड बायल्स म्युजिक हल’मा सर्वसाधारणका लागि पनि हेर्न मिल्ने गरी प्रदर्शनमा आयो ।
सन् १९२० : मुस्तफा केमल अतातुर्कको नेतृत्वमा टर्किस राष्ट्रिय महासभाको पहिलो बैठक अंकारामा बस्यो । सभाले सुस्तान छैटौँको शासनलाई अमान्य घोषित गर्यो । यस महासभाले टर्कीमा गणतन्त्रको जग बसायो ।
सन् १९५० : कम्युनिस्टसँगको गृहयुद्ध हारेपछि हेनान केन्द्रित चियाङ राष्ट्रवादी चिनियाँ सरकार ताइबान सर्यो ।
सन् १९६७ : सोभियत संघको ‘सोयुज प्रथम’मा अन्तरिक्ष गएका भ्लादिमिर कोमारोभ पृथ्वीमा फर्किने क्रममा प्यारासुट नखुल्दा मारिए । कोमारोभको निधन अन्तरिक्ष उडानका क्रममा भएको पहिलो मानव मृत्यु हो ।
सन् १९८४ : वैज्ञानिकले नयाँ महामारीको रूपमा देखा परेको ‘एड्स’ लगाउने भाइरसको नाम ‘एचटिएलभी–तृतीय (ह्युम्यान टी–सेल लिम्फोट्रोपिक भाइरस)’ नामकरण गरे । पछि यसको नाम बदलेर हालको ‘एचआइभी’ राखियो ।
सन् १९९१ : सोभियत संघले संविधान संशोधन गरेर १५ गणराज्यले चाहेमा अलग हुन सक्ने अधिकार प्रदान गर्यो ।
सन् १९९३ : इथोपियाबाट अलग हुने–नहुने प्रश्नमा इरिट्रियामा तीनदिने जनमतसंग्रह सुरु भयो । अप्रिल २७ मा सार्वजनिक मतपरिणाममा ९८.८३ प्रतिशतले अलग हुने पक्षमा मत दिए ।
सन् २०१९ : विश्व स्वास्थ्य संगठनले मलेरियाविरुद्धको पहिलो खोप मलाबीका बालबालिकालाई दिन सुरु गर्यो ।