नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी समझदारीपत्रमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले हस्ताक्षर गरेका हुन् ।
६४ जिल्ला कार्यक्षेत्र रहेको यस लघुवित्तमा करिब पाँच सय कर्मचारी कार्यरत रहेका छन् । कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था छ । यसअन्तर्गत योगदानमा वा गैरयोगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् । सोही व्यवस्थाअनुसार उक्त लघुवित्त वित्तीय संस्था कोषको उपदान योजनामा आबद्ध भएको हो ।
यसअघि पनि कोषसँग विभिन्न लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भइसकेका छन् । कोषले ०५५ देखि सुरु गरेको उपदान तथा पेन्सन योजनामा विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान तथा पेन्सनबापतको रकम संकलन गरी लगानी गर्ने र कर्मचारी निवृत्त भएपछि भुक्तानी गर्ने गरिएको छ । योजनामा योगदानमा आधारित र गैरयोगदानमा आधारित रकम जम्मा गरी सहभागी हुन सकिने व्यवस्था छ ।