बागलुङका ५८ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

दुई लाख ४९ हजार २११ जनसंख्या रहेको बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध छन् । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय बागलुङका अनुसार हालसम्म एक लाख ४३ हजार ६५२ जनाले स्वास्थ्य बिमा गरेका छन् ।

जसमा कुल ४६ हजार ४५४ घरपरिवार आबद्ध रहेको बिमा बोर्ड सम्पर्क कार्यालयका संयोजक नारायणप्रसाद पौडेलले बताए । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष बिमा गर्नेको संख्या नौ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ४९ प्रतिशत बिमित थिए भने यस वर्ष ५८ प्रतिशत पुगेको पौडेलले बताए । 

‘स्वास्थ्य बिमामा आबद्ध भएपछि एक लाखसम्मको स्वास्थ्य उपचार निःशुल्क पाइने भएकाले स्वास्थ्य बिमा गराउनेको संख्या बढिरहेको छ, वर्षमा एकपटक प्रिमियम तिरेपछि सूचीकृत भएका अस्पतालबाट वर्षभरि उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेल बताउँछन् । 

स्वास्थ्य बिमामा आबद्ध हुनेको संख्या बढ्दै गए पनि नवीकरण नगर्ने पनि धेरै छन् । जिल्लाको कुल बिमित सदस्यमध्ये ३० प्रतिशतले नवीकरण गरेका छैनन् ।  

स्वास्थ्य बिमा गरे पनि तोकिएका औषधि नपाएकोमा भने बिमितको गुनासो छ । सरकारले एक हजार २८८ प्रकारका औषधि बिमाबापत पाउने भने पनि अस्पतालको फार्मेसीमा औषधि नभएपछि नवीकरणका निम्ती चासो नहुने बिमित सदस्य लक्ष्मी शर्मा बताउँछिन् ।

‘हामीलाई नियमित खानुपर्ने औषधि बिमाबाटै पाउने सुविधा छ, तर अस्पतालमा समयमा नै खरिद नहुँदा त्यो औषधि किन्नुपर्ने बाध्यता हुन्छ,’ उनले भनिन्, ‘बिमा गर्दा अन्य सुविधा त सहज छ, तर औषधि नपाउँदा किन गरिएछ जस्तो हुन्छ ।’ 

सुझावित समाचार