जुम्लाका तीन पालिकामा आइतबार पनि स्कुल खुल्ने

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

यहाँका आठ स्थानीय तहमध्ये तीन गाउँपालिकाले आइतबार पनि विद्यालय खुलाउने र पठनपाठन हुने निर्णय गरेका छन् । तर, संघीय सरकारले हप्ताको दुई दिन शनिबार र आइतबार बिदा गर्ने परिपत्र गरेकाे थियो। कनकासुन्दरी गाउँपालिका, सिँजा गाउँपालिका र तातोपानी गाउँपालिकाले विद्यालयको हकमा आइतबार बिदा नदिने निर्णय गरेका हुन् ।

संघीय सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने र वैशाख २१ गतेदेखि पठनपाठन नियमित गर्ने निर्णयको परिपत्र गरेको थियो। यो निर्णय पनि यहाँको स्थानीय तहले अमान्ने निर्णय गरेका छन्। कनकासुदरी गाउँपालिकाले वैशाख ७ गतेदेखि, सिँजा गाउँपालिकाले वैशाख ८ गतेदेखि र तातोपानी गाउँपालिकाले वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेका छन् ।  

तातोपानी गाउँपालिकाले वैशाख १४ गतेसम्म निरन्तर भर्ना अभियान सञ्चालन गर्ने र वैशाख १५ गतेदेखि नियमित पठनपाठन नियमित गर्ने निर्णय गरेको छ। वैशाख ६ गते बसेको बैठकले शैक्षिक क्षेत्र सुधारका लागि तातोपानी गाउँपालिका शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकबिच करार कार्यसम्पादन सम्झौता गरेका छन् ।  

विद्यालयको शैक्षिक गुणस्तर कायम राख्ने, पठनपाठनलाई प्रभावकारी बनाउने, सरसफाइको अवस्था सुधार गर्ने, विद्यालयका कामको अभिलेख राख्ने, तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्ने, विद्यालय सुधार योजना निर्माण तथा कार्यान्वयन गर्ने, विद्यालयमा हरियाली प्रवर्द्धन गर्ने, सिकाइ उपलब्धिलाई हरेक वर्ष पाँच प्रतिशतले वृद्वि गर्नेलगायतका ३६ बुँदे कार्यसम्पादन सम्झौता गरिएको शिक्षा शाखा प्रमुख सुरतबहादुर शाहीले बताए । उनले भने, ‘कार्यसम्पादन सम्झौताले शैक्षिक क्षेत्रको बहुआयामिक क्षेत्र सकारात्मक प्रभाव देखिने अपेक्षा छ । शिक्षामा सुधार गर्न सम्झौता कार्यान्वयनमा निकै जोड दिन जरुरी छ ।’

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले शैक्षिक सुधारको अभियानै चलाएका कारण शिक्षा शाखा र प्रधानाध्यापकबिचको सम्झौता थप कोसेढुंगा साबित हुने बताए। उनले पालिकाको एकल प्रयासले शिक्षा क्षेत्र सुधार सम्भव नभएकाले पालिका, प्रधानाध्यापक र अभिभावको जोडबल जरुरी रहेको बताए ।

सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सरकारले इन्धनको प्रयोग घटाउने उद्देश्यले हप्तामा दुई दिन बिदा दिन खोजेको हो । उनले भने, ‘यो उद्देश्य यहाँ प्रयोजनार्थ छैन। हाम्रोजस्ता हिमाली जिल्लाका विद्यालय सञ्चालन गर्न इन्धनको प्रयोग हुँदैन । त्यसले गर्दा आइतबार बिदा दिनुको औचित्य देखिएन ।’ 

अर्को नेपालको संविधान अनुसूची ८ बमोजिम स्थानीय तहलाई प्रदान गरेको आधारभूत तथा माध्यमिक शिक्षाको व्यवस्थापन एकल अधिकार स्थानीय तहमा रहेको छ । अध्यक्ष धितालले भने, ‘यस अर्थ सिँजा गाउँपालिका गाउँ कार्यपालिका वैशाख ७ गतेको बैठकले वैशाख ८ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । यसमा इन्धनको चाप नपर्ने र पाठ्यक्रम तोकेबमोजिम शैक्षिक उपलव्ध हासिल गर्नका लागि आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।’ 

सुझावित समाचार