झन्डै तीन करोडमा निर्माण भएको उदयपुरको कोभिड अस्पताल अलपत्र

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण

कोभिड–१९ महामारीका कठिन समयमा उदयपुरका सयौँ नागरिकको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको चौदण्डीगढी नगरपालिका–६ साताधारेस्थित कोभिड अस्पताल अहिले प्रयोगविहीन बन्दै गएको छ । पर्याप्त पूर्वाधार, उपकरण र संरचना हुँदाहुँदै पनि सञ्चालन अभावका कारण अस्पताल लथालिंग अवस्थामा पुगेको हो । 

स्विजरल्याण्ड सरकारको एक करोड ५० लाख रुपैयाँ र उदयपुरका आठ स्थानीय तहको एक करोड २० लाख रुपैयाँ गरी कुल २ करोड ७० लाख लागतमा निर्माण गरिएको अस्पतालमा करिब १ हजार १ सय संक्रमितको सफल उपचार गरिएको थियो । 

निर्माणपछि २०७७ पुस ६ गते तत्कालीन कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपालका लागि स्विजरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरले संयुक्त रूपमा उद्घाटन गरेर सञ्चालनमा ल्याएका थिए।अस्पतालमा एक पोर्टेबल भेन्टिलेटर, ४० बेड तथा साना–ठूला गरी ३० अक्सिजन सिलिन्डरलगायत आवश्यक स्वास्थ्य सामग्री उपलब्ध छन् । तर महामारी नियन्त्रणमा आएपछि यसको वैकल्पिक प्रयोगबारे स्पष्ट योजना नबन्दा अस्पताल प्रयोगविहीन बन्दै गएको हो । हाल अस्पताल परिसर झाडीले ढाकिन थालेको छ भने संरचना संरक्षण अभावमा क्रमशः जीर्ण बन्दै जाने जोखिम बढेको छ ।

हाल चौदण्डीगढी नगरपालिकाले वर्षमा एक पटक सञ्चालन गर्ने आँखा शिविर बाहेक यहाँ नियमित स्वास्थ्य सेवा सञ्चालन हुन सकेको छैन । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय अभावका कारण अस्पताललाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने पहल नहुनु दुःखद भएको स्थानीयवासीको भनाइ छ ।

मदन भण्डारी लोकमार्गसँग जोडिएको यस अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न सके दैनिकजसो हुने सडक दुर्घटनाका घाइतेलाई तत्काल उपचार सेवा उपलब्ध गराउन सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् । तर आवश्यक नीति, बजेट र निर्णय अभावले यस्तो सम्भावना व्यवहारमा आउन सकेको छैन ।

महामारीका बेला वरदान सावित भएको अस्पताल आज प्रयोगविहीन बन्नु सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोगमाथि गम्भीर प्रश्न उठेको स्थानीय अगुवा अन्जनी अधिकारी बताउँछन् । उनले भने, ‘समयमै आवश्यक निर्णय गरी अस्पताललाई नियमित स्वास्थ्य सेवासँग जोड्न नसकिए करोडौँ रुपैयाँको लगानी पूर्ण रूपमा नष्ट हुने खतरा बढ्दै गएको छ ।’

उनले स्थानीयवासीले स्पष्ट जिम्मेवारी निर्धारण गर्दै अस्पताललाई ट्रमा सेन्टर वा बहुउद्देश्यीय स्वास्थ्य केन्द्रका रूपमा तत्काल सञ्चालनमा ल्याउन माग गरेका पनि गरेका छन् ।  चौदण्डीगढी नगरपालिकाकी उपमेयर मणीकादेवी दुलालले अहिले पालिकाकाले त्यही अस्पतालबाट आँखा शिविर लगायत सेवाहरु सञ्चालन गर्दै आइरहेको र अस्पतालमा भएका उपकरणहरुलाई प्रयोग गरेर दैनिक रुपमा सञ्चालनको तयारी गरिरहेको जानकारी दिइन् । उनले भनिन्, ‘हामीले समय सयमा नगरप्रहरी परिचालन गरेर झाण्डीहरु पनि फडानी गरिरहेका छौँ । अस्पतालको जग्गामा विवाद छ । टुंग्याउनु पर्ने छ । त्यो नगरपालिकाको स्थायी संचरना हो । त्यसलाई हामीले जीर्ण बन्न दिने छैनौँ ।’
 

सुझावित समाचार