भाषिक तथा सांस्कृतिक अध्येता भरत महर्जन स्थाननाम परिवर्तनसँग सम्बन्धित भएर एक दशकदेखि अनुसन्धान गरिरहेका छन् । उनले त्रिभुवन विश्वविद्यालयमा विगत एक दशकदेखि नेपालभाषा अध्यापन पनि गराउँदै आएका छन् । उनीसँग उपत्यकामा स्थाननाम परिवर्तन कहिलेदेखि, कसरी र किन भयो ? भन्नेबारे शान्ति तामाङले कुराकानी गरेकी छिन् :
काठमाडौंको असन अब ‘असं’, मखन ‘मखं’, नरदेवी ‘ङेत’, मास गल्ली ‘मंसा गल्ली’मा रूपान्तरण हुँदै छन् । रूपान्तरण हुन लागेका यी स्थाननाम प्राचीन मौलिक नाम हुन् । काठमाडौं महानगरपालिकाभित्र यस्ता सयौँ स्थाननाम परिवर्तन हुन लागेका छन् । जुन स्थाननाम कुनै समय प्रचलनमै थिए । काठमाडौं उपत्यकाका केही स्थानीय तहले आफ्नो क्षेत्रभित्रको स्थाननाम पुनर्स्थापना गर्न थालेपछि महानगर पनि सोही बाटोमा अगाडि बढेको देखिन्छ । महानगरको यो कदमले ३२ वटै वडाका सयौँ स्थाननाम अब केही समय नौलो लाग्ने हुन सक्छ ।
स्थाननाम राख्ने प्रचलन बोलिचालीमा जनमानसले नै राख्दै गएको देखिन्छ । मानिसहरू एकै ठाउँमा बस्न थालेपछि स्थाननाम आवश्यकता भयो । त्यसपछि व्यावहारिक सहजताका लागि स्थाननाम राखिन थालियो । यसरी स्थाननाम मानव सभ्यताको विकास भएदेखि नै सुरु भएको देखिन्छ ।
स्थाननाम केवल भूगोल बुझाउने ठेगाना मात्र नभएर मानव सभ्यता र संस्कृतिका जीवन्त अभिलेख हुन् । निश्चित स्थान वा भूभागलाई जनाउने संज्ञावाची शब्द वा संकेत शब्द नै स्थाननाम हो । स्थाननामले अनेक महत्व बोकेको हुन्छ । नामै मात्र हुँदो हो त लुम्बिनीको खोजीकार्य किन गरिन्थ्यो ? १८९६ सम्म बुद्धको जन्मस्थलबारे विश्व अन्जान रहँदा प्राचीन बौद्ध साहित्यमा उल्लेख ‘लुम्बिनी’ नाम नै खोजी र प्रमाणीकरणको आधार बनेको थियो ।
प्राचीन स्थाननाम आफ्नो समयका साक्षी हुन् । इतिहासको अध्ययन र अनुसन्धानका निम्ति स्थाननामले स्रोत सामग्रीको भूमिका खेल्छन् । ठुलो रहस्यको ढोका खोल्न सकिने सानो चाबी (साँचो)को काम स्थाननामले गरेको हुन्छ । अफ्रिकाका आदिवासीको भाषामा भएका स्थाननामको अध्ययनबाट त्यहाँको प्राचीन मानव संस्कृति केलाइँदै छ । नेपालकै सन्दर्भमा लिच्छविकालीन अभिलेखमा उल्लेख अधिकांश गैरसंस्कृत (किराँती) नामले नेपाल खाल्डोमा किराँतको उपस्थिति पुष्टि गर्न आधार मिलेको छ ।
भाषिक संक्रमण : गैरसंस्कृतबाट संस्कृततर्फ
उपत्यकाको सन्दर्भमा स्थाननामको जरो लिच्छविकालभन्दा पुरानो ‘गैरसंस्कृत’ मूलबाट आएका हुन् । काठमाडौंका म्हैपी, किसिपिडी, खोपृङ (भक्तपुर), ललितपुरका युपग्राम (पाटन), लेले (लेम्बटी), थिमी (थेम्रिङ) आदि लिच्छविपूर्वदेखि हालसम्म जीवन्त नाम हुन् ।
लिच्छविकालको प्रभाव
लिच्छविकालमा राजकीय लिखित भाषा संस्कृत भएकाले उपत्यकाभित्रका स्थाननामलाई संस्कृतमा लिपिबद्ध गर्न थालियो । उदाहरणका लागि, ‘खु’ (खोला) अन्त्यमा झुन्डिएका बल्खु, तेङ्खु, हिजाखु, नख्खुजस्ता शब्द लिच्छविकालीन संस्कृत प्रभावभन्दा अघिका हुन् ।
संस्कृतकरण र लयको खोज
मल्लकालमा धार्मिक ग्रन्थ लेखनका क्रममा धेरै मौलिक नाम संस्कृतमा ढालिए । काठमाडौंका न्वखुलाई बागमती, साम्हगुलाई स्वयम्भू, साँखुलाई शंखरापुर, किसिपिडीलाई हस्तिनापुर, बल्खुलाई इन्द्रावती र तुखुलाई इक्षुमती बनाइयो ।
बजारीकरण र आधुनिक भाषिक प्रभुत्व
२०४७ सालको राजनीतिक परिवर्तनपछि उपत्यकामा तीव्र सहरीकरण सुरु भयो । ०७२ को भूकम्पपछि नयाँ सहर निर्माण हुन थाल्यो । जग्गाको प्लटिङ भयो । यसको प्रत्यक्ष प्रभावस्वरूप स्थाननाममा नयाँ संकट निम्त्यायो । पुराना खेतीयोग्य जमिन र चोकमा ‘प्रगति नगर’, ‘सूर्य मार्ग’ वा ‘संगम बस्ती’जस्ता ऐतिहासिक शृंखलाहीन नाम राख्ने होड चल्यो ।
काठमाडौंको ‘बौद्ध’ (स्तूप) केही दशकअघि मात्र प्रयोगमा ल्याइएको शब्द हो, जबकि स्थानीय जनजिब्रोमा अझै लिच्छविकालीन ‘खासौचैत्य’को अपभ्रंश ‘खास्ती’ जीवितै छ । थानकोटपूर्वको ‘नःगाम’ (प्राचीन नवग्राम) लाई अचेल ‘चेकपोस्ट चोक’ र कीर्तिपुरको ‘ढलपा’लाई ‘चर्चरोड’ लेख्न थालिएको छ । सानेपा र पुल्चोकबिचको ‘इउलाखेल’ अहिले ‘ठाडोढुङ्गा’ भइसकेको छ । यो अन्य भाषाका नामलाई ‘कमसल’ र नेपाली वा आधुनिक नामलाई ‘स्तरीय’ ठान्ने मनोविज्ञानको उपज हो ।
इतिहास र पहिचान मेटाउँदाको जोखिम
पछिल्लो समय धेरै स्थाननाम मेटिएका छन् । यसको बेफाइदा एउटा समुदायलाई मात्र होइन, राज्यलाई नै भएको छ । कुनै ठाउँको पुरानो नाम नष्ट हुनु भनेको इतिहास नै नष्ट हुनु हो । त्यो ठाउँको इतिहासको अध्ययन गर्न सकिने स्रोतको पनि अन्त्य हुनु हो ।
उपत्यका ऐतिहासिक ठाउँ भएकाले यहाँका नाम ऐतिहासिक रूपमा महत्वपूर्ण छन् । चारकोसे झाडी फाँडेर बनाइएका नयाँ बस्तीमा नयाँ नाम राख्दा केही फरक पर्दैन । तर, जुन क्षेत्र ऐतिहासिक रूपमा महत्वपूर्ण हो, त्यो ठाउँमा नयाँ नाम राख्दा पुरानो स्थाननाम के हो ? भनेर पहिचान गर्नुपर्छ । पहिचान नगरी स्थाननाम राखिएमा यसको बेफाइदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राज्यलाई नै हुन्छ ।
स्थाननाम परिवर्तन गर्नु भनेको केवल शब्द बदल्नु होइन, त्यो ठाउँको इतिहास र बहुलताको विसर्जन हो । ठमेलमा छाया कम्प्लेक्स बने पनि स्थानीय बोलीमा जीवित ‘पलेस्वांपुखु’ (कमलपोखरी) नामले त्यहाँ विगतमा पोखरी रहेको यथार्थ ओकल्छ । ललितपुरको ‘किसिगल’ (हात्तीसार)ले त्यहाँ कुनै समय हात्ती राखिने तथ्य बुझाउँछ ।
अनुवादमा असावधानी
स्थाननाम अन्य भाषामा अनुवाद नगरिने संज्ञावाची शब्द हुन् । शिवपुरी जुनसुकै भाषामा पनि शिवपुरी नै हुन्छ । तर, हाँडीगाउँको ‘तिसापुखु’लाई ‘गहनापोखरी’ र ठिमीनजिकैको ‘पाछैंबुँ’लाई ‘सागबारी’ बनाइनु भाषिक विद्रुपता हो ।
पुस्तौँदेखि प्रयोग हुँदै आएको पुर्ख्यौली नामसँग स्थानीयको भावना गाँसिएको हुन्छ । २०५० सालको दशकमा म्हेपी फाँटलाई ‘रायमाझी टोल’ बनाउन खोज्दा भएको प्रतिरोध यसैको उदाहरण थियो ।
स्थाननाम र राष्ट्रियताको राजनीति
स्थाननाममा द्वन्द्व र राजनीति पनि लुकेको हुन्छ । भारतका मद्रास, बम्बई र क्याल्कटालाई औपनिवेशिक अवशेष ठान्दै चेन्नई, मुम्बई र कोलकाता बनाइनु यसैको उदाहरण हो । अमेरिकामा बाराक ओबामाले ‘माउन्ट मेके’लाई पुनः आदिवासी नाम ‘डेनाली’मा फर्काए । नेपालमा पनि सगरमाथालाई विश्वव्यापी रूपमा ‘सगरमाथा’ नै भनिनुपर्ने वकालत गरिन्छ । तर, शेर्पा र तामाङ समुदायले सदियौँदेखि भन्दै आएको ‘चोमोल्होङ्मा’लाई वास्ता गरिँदैन ।
स्थाननाम भाषाविशेषको अंश मात्र नभई राष्ट्रकै अमूर्त सम्पदा हुन् । उपत्यकामा नयाँ आवास क्षेत्र बन्दै गर्दा काल्पनिक शब्दभन्दा तत्तत् स्थानमा प्रचलित ऐतिहासिक नामको पछाडि मार्ग, नगर वा टोल जोड्न सकिन्छ । कलंकीको ‘खौपाटोल’, धोबीघाटको ‘गःबुँ मार्ग’ र कीर्तिपुरको ‘फय्खा नगर’ यसका सकारात्मक उदाहरण हुन् ।
राज्यले लिनुपर्ने थुप्रै पहल छन् । जसमध्ये पुराना र मौलिक नामको वैज्ञानिक संकलन र नक्सांकन गर्नुपर्छ । गुगल म्यापजस्ता डिजिटल प्लेटफर्ममा मौलिक नामलाई प्राथमिकता दिनुपर्छ । नयाँ बस्ती विकास गर्दा ऐतिहासिक पृष्ठभूमिसँग जोडिएका नाम राख्न अनिवार्य गर्नुपर्छ ।
स्थानीय तहले बाटो, चोक, गल्लीको नामकरण गर्दा व्यक्ति विशेषको स्वैच्छिक कल्पनाभन्दा ऐतिहासिक नामलाई आधार बनाउन ध्यान दिनुपर्छ । इतिहास, भाषा र पहिचानको सुरक्षा गर्दै उपत्यकामा नयाँ र पुरानोबिच भावनात्मक सन्तुलन खोज्नु नै ‘विन–विन’को अवस्था हो । स्थाननाम जोगाउनु भनेको सूक्ष्म अर्थमा हाम्रो राष्ट्रिय पहिचानलाई नै जीवन्त राख्नु हो ।