माछापुच्छ्रे बैंक लिमिटेड र एनसिएचएलबिच इएफटी कार्ड स्विचमार्फत नेपाल पे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ। एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकको प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदी तथा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त सम्झौतापत्र आदान–प्रदान गरेका हुन्।
एनसिएचएलको इएफटी स्विच नेसनल कार्ड स्विचसँग इन्टिग्रेट भइसकेको र उक्त सम्झौतापश्चात् माछापुच्छ्रे बैंकले आफ्नो ग्राहकहरूका लागि नेपाल पे कार्ड जारी गर्न सक्नेछ । साथै डिस्कभर नेटवर्कअन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरू र पे कार्डसमेत अक्वायर गरी नेपाल पे कार्डका कारोबारहरू प्रोसेस गर्न सक्नेछन्। पहिलो चरणमा बैंकले आफ्नो १९९ भन्दा वटा एटिएम र ३००० भन्दा बढी पिओएस टर्मिनमार्फत नेपाल पे कार्डको अक्वायरिङका लागि इनेबल गर्नेछ भने क्रमिक रूपमा उक्त कार्ड आफ्नो ग्राहकहरूलाई जारीसमेत गर्नेछ ।
एनसिएचएलले हालै नेपाल पे कार्डको व्यावसायिक रोलआउट सुरु गरिसकेको छ भने अन्तर्राष्ट्रिय पार्टनर डिस्कभर नेटवकमार्फत नेपाल पे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ। नेसनल पेमेन्ट स्विचअन्तर्गत नेपाल पे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटिएम र पिओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ। साथै अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डहरू पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ।
एनसिएचएलको इएफटी सर्भिसेसमार्फत हाल १० वटा सदस्य बैंक वित्तीय संस्थाहरूले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किमहरू प्रोसेस गर्दै आइरहेका छन्। हालै इएफटी र नेसनल पेमेन्ट स्विचबिचको इन्टिग्रेसनसँगै अब नेपाल पे कार्ड पनि प्रोसेस गर्न सक्ने भएको हो। इएफटीका अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरूले पनि नेपाल पे कार्ड अक्वायर तथा इस्यु गर्ने तयारी गरिरहेका छन्। हालसम्म नेपालपेमा ३४ भन्दा बढी बैंक वित्तीय संस्थाहरू आबद्ध भई रोलआउटको विभिन्न चरणमा छन्। नेपाल पे कार्ड कार्यान्वयनमा आइसकेको छ र हाल दुईवटा कमर्सियल बैंकले कार्ड इस्यु गर्न सुरु गरिसकेको छन् भने तीनवटा कमर्सियल बैंकले अक्वायरिङ पनि गर्दै आइरहेका छन् र आगामी दिनहरूमा यो वृद्धि हुने अपेक्षा गरिएको छ।
नेपालका अग्रणी बैंकहरूमध्येको माछापुच्छ्रे बैंकले हाल १८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। पछिल्लो समयदेखि बैंक डिजिटलाइजेसनतर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रूपमा रूपान्तरण गर्दै आइरहेको छ। देशभर बैंकका १६५ वटा शाखा, १२ विस्तारित काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा तथा १९९ एटिएम टर्मिनल सञ्चालनमा रहेका छन्। बैंकका हालसम्म चार लाखभन्दा बढी कार्डहोल्डर ग्राहकहरू रहेका छन्।