आयल निगमले बुधबार रातिबाट लागू हुने गरी डिजेलको मूल्यवृद्धि गरेसँगै नेपाली बजारमा पहिलोपटक डिजेल पेट्रोलभन्दा महँगो भएको छ । आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ५६ वर्षभन्दा बढी समयदेखि पेट्रोलियमको कारोबार भइरहेको इतिहासमा पहिलोपटक डिजेलको भाउले पेट्रोललाई उछिनेको हो । ‘इतिहासमै पहिलोपटक डिजेलको भाउ पेट्रोलभन्दा माथि गएको छ,’ उनले भने, ‘यसका पछाडि धेरै कारण छन् ।’ निगमले अहिले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट डिजेल प्रतिलिटर दुई सय ८० रुपैयाँका दरले खरिद गरिरहेको छ । पेट्रोलको खरिद मूल्य भने प्रतिलिटर एक सय ५० रुपैयाँ छ ।
यसरी पेट्रोलको तुलनामा डिजेलको खरिद मूल्य नै एक सय ३० रुपैयाँ बढी छ । मूल्यवृद्धि गर्दा डिजेलको भाउ प्रतिलिटर दुई सय ३७ रुपैयाँ निर्धारण गरेको छ । यो भाउ हालसम्मकै उच्च मात्र होइन, पहिलोपटक पेट्रोलको भन्दा बढी हुने गरी निर्धारित मूल्यसमेत हो । अहिले पेट्रोलको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर २ सय १९ रुपैयाँ तोकिएको छ । ‘डिजेलको प्रशोधन शुल्क पेट्रोलको तुलनामा सधैँ बढी नै हुन्छ, तर यसपटक यति उच्च छ कि कसैको अनुमान पनि मेल खाइरहेको छैन’ उनले भने ‘मानिलिनुस्, अहिले कच्चा तेलको भाउ प्रतिब्यारेल १ सय डलरआसपास छ भने ५० देखि ६० डलर प्रतिब्यारेलमा पेट्रोल प्रशोधन भइरहेको छ । तर, त्यहीं कच्चा पदार्थमा निस्कने डिजेलको प्रशोधन शुल्क भने २ सय डलर प्रतिब्यारेल पुगेको छ ।’
एकातिर कच्चा तेलको अकासिदो भाउ, अर्कातिर डिजेलको प्रशोधन शुल्कमा आएको बढोत्तरीका कारण पहिलोपटक डिजेलको भाउले पेट्रोललाई उछिनेको उनले बताए । ‘कच्चा तेल प्रशोधन गर्दा सुरुमा पेट्रोल निकालिन्छ, त्यसपछि मात्रै डिजेल’ उनले भने, ‘अर्कातिर, प्रत्येकपटक कच्चा तेल प्रशोधन गर्दा पेट्रोल धेरै र डिजेल कम निस्कने गर्छ ।’ प्रशोधनका क्रममा तुलनात्मक रूपमा थोरै परिमाण निस्कने र दोस्रो चरणको प्रशोधनमा मात्र डिजेल उत्पादन हुने भएकाले पनि लागत उच्च पर्ने गरेको ठाकुरले जानकारी दिए ।
तेस्रो कारण हो करनीति, नेपालले डिजेलको तुलनामा पेट्रोलमा बढी कर लगाएर पेट्रोलको भाउ उच्च राख्दै आएको थियो, तर दुई साताअघि सरकारले पेट्रोलमा लाग्दै करमा प्रतिलिटर १७.६३ र डिजेलमा लाग्दै आएको करमा प्रतिलिटर ११ रुपैयाँ घटाउने निर्णय गरेको थियो । करछुटपछि अहिले पेट्रोलमा ५२.९४ रुपैयाँ प्रतिलिटर कर लगाइएको छ भने डिजेलमा ३६.४१ रुपैयाँ कर लगाइएको छ । निगम प्रवक्ता ठाकुरले पेट्रोलमा खासै घाटा–नाफा नरहेकाले स्वचालित मूल्य प्रणालीअनुसार जहाँ घाटा, त्यहाँ नै मूल्य वृद्धि गर्ने निर्णय भएको बताए ।