नयाँ वर्षको दिन पाल्पाको बगनासकाली गाउँपालिका– ७, दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका दुईजनाकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
चन्द्र माध्यमिक विद्यालयका शिक्षक बगनासकाली– ९, झिरभञ्ज्याङका २९ वर्षीय तोयानाथ बस्याल (मदन) हिजो बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन्। त्यस्तै, बगनासकाली– ९, भुसालगाउँका ३९ वर्षीय शरण भुसालको शव आज बिहीबार बिहान दैलातुङनजिकै कालीगण्डकी नदी किनारमा फेला परेको हो।
मंगलबार साथीभाइसँग नदीमा गएका उनीहरू दुवै पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। घटनापछि स्थानीय बासिन्दा, प्रहरी र सुरक्षाकर्मीको संयुक्त टोलीले खोजी कार्य तीव्र पारेको थियो। निरन्तरको खोजीपछि दुवैजनाको शव फेला परेको प्रहरीले जनाएको छ।