यसपटक एसइईको नतिजा छिटो प्रकाशन हुँदै छ, यसलाई कसरी हेर्नुभएको छ ?
म साबिक टेन प्लस टुको बोर्डमा उपाध्यक्ष हुँदा ०५४ मै परीक्षा लिएर २४ घण्टामा नतिजा प्रकाशन गरिएको थियो । त्यतिवेला एक सय हाराहारी विद्यार्थी थिए । तर, २४ घण्टामा नतिजा निकाल्न हामीले एक वर्षदेखि पूर्वतयारी गरेका थियौँ । नेपालमा सायद छिटो नतिजाको थालनी नै त्यही थियो । तर, यसपटक एसइईमा हचुवाका भरमा उसैदिन उत्तरपुस्तिका परीक्षण भयो । विनासूचना, विनाजानकारी फरक तरिकाले परीक्षाको मयार्दाविपरीत उत्तरपुस्तिका परीक्षण भयो । कम्तीमा फारम भर्दा नै विद्यार्थीलाई परीक्षा यसरी हुँदै छ भन्ने थाहा हुनुपर्थ्यो ।
अरू वेला उत्तरपुस्तिका परीक्षण गर्न लामो समय लाग्थ्यो, तर यसपटक परीक्षा सकिएकै दिन परीक्षण हुनु नराम्रो हो र ?
परीक्षा भनेको के हो ? यसको वैधता, मूल्यांकन र महत्वबारे बुझ्न जरुरी छ । छिटो नतिजा निकाल्नु गलत होइन, तर परीक्षाको मर्यादा त पक्कै ख्याल गर्नुपर्छ । एसइईमा स्कुलैपिच्छे कुन मापदण्डमा उत्तरपुस्तिका जाँचियो ? यसका लागि अभिमुखीकरण भयो कि भएन ? फरकफरक स्कुलमा उत्तरपुस्तिका परीक्षण कसरी भयो ? यी सबै प्रश्न छाडेर यसपटक विनातयारी उत्तरपुस्तिका परीक्षण भयो । यसपटक शिक्षा मन्त्रालय परीक्षाको ‘प्रोसेस’मा गएन ‘प्रोडक्ट’मा मात्रै गयो । यसबाट अब अन्य परीक्षा पनि यसरी नै लिने र उत्तरपुस्तिका जाँच्ने परम्परा बस्न सक्छ ।
यस्तो हतारको परीक्षणले कस्तो असर पार्न सक्छ त ?
परीक्षा भनेको कक्षामा हुने पढाइभन्दा फरक पाटो हो । अझ वार्षिक या अन्तिम परीक्षा भनेको धेरै महत्वपूर्ण हुन्छ । परीक्षाका विभिन्न चरण हुन्छन् । प्रश्नपत्र हुन्छ, निरीक्षण हुन्छ, मनिटरिङ हुन्छ । अन्य तह हुन्छन् । उत्तरपुस्तिका जाँचेको मिलेको छ वा छैन त्यसका ‘क्रसचेक’ हुन्छ । तर, यसपटक जसले पनि उत्तरपुस्तिका जाँचेको होला । यसपटकको एसइई आन्तरिक परीक्षाजस्तै भयो, फाइनल परीक्षा भएन । किनभने, यसले प्रक्रिया नै पूरा गरेन । यो राम्रो हुँदै होइन ।